बाँके कांग्रेस यसरी होमियो चुनावी प्रचारमा

बाँके कांग्रेस यसरी होमियो चुनावी प्रचारमा


नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेका सभापति किरण कोइरालाले बाँकेमा लोकतान्त्रिक गठबन्धनको विजय सुनिश्चित भइसकेको दाबी गरेकी छिन् ।

नेपालगन्जका विभिन्न वडामा आयोजित लोकतान्त्रिक गठबन्धनको सम्पर्क कार्यालय स्थापना, चुनावीसभा तथा घरैदेलो कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले वाम गठबन्धनका उम्मेदवारहरु हारको मानसिकता बोकेर मतदातालाई प्रलोभन पार्ने काम गरिरहेको बताइन् ।

देशमा संकट पर्दा सधै नेपाली कांग्रेसलाई नेपाली जनताले साथ दिँदै आएको स्मरण गराउँदै उनले अहिले पनि लोकतन्त्रलाई नै संकटमा पार्न लागिएकोले जनताले कांग्रेसलाई साथ दिने विश्वास गरिन् ।

देशमा साम्यवाद र कम्युनिष्ट शासन व्यवस्था ल्याउने एमाले र माओबादीको वाम गठबन्धनले घोषणा गरिसकेकाले लोकतन्त्रको रक्षाका निम्ति सबै नेपाली एक भएर लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन उहाँले मतदातासँग अपिल गरेकी थिइन् ।

सभापति कोइरालाले लोकतान्त्रिक गठबन्धनलाई जिताउन बाँकेमा सम्पूर्ण नेपाली कांग्रेसका नेता, कार्यकर्ता परिचालन भइसकेको बताइन् ।

यस्तै प्रचार अभियानमा राप्रपाका महामन्त्री एवम् नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलसम्शेर राणाले लोकतन्त्र र प्रजातन्त्रको रक्षाका निम्ति लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन सबै राष्ट्रवादी जनतालाई आग्रह गरे ।

देशमा कम्यूनिष्टहरुले साम्यवाद ल्याउने उद्घोष गरिसकेकाले यसको सबै लोकतन्त्रवादी शक्तिले मिलेर प्रतिवाद गर्नुपर्ने उनले बताए ।

सो क्रममा नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर, राप्रपाका केन्द्रिय सदस्य ऋषिराज देवकोटा, प्रतिनिधी सभा–२ का उम्मेदवार ओमप्रकाश आजाद, प्रदेश सभा–२ (क) का उम्मेदवार निरन्जनसिंह सिजापति, प्रदेश सभा–२ (ख) का उम्मेदवार सुरेन्द्र हमाल लगायतले बोलेका थिए ।