आईटीईसी दिवस सम्पन्न

आईटीईसी दिवस सम्पन्न


भारतीय सांस्कृतिक केन्द्रको सहयोगमा नेपालस्थित भारतीय राजदूतावासले गत शुक्रबार भारतीय प्राविधिक तथा आर्थिक सहयोग दिवस मनाएको छ । स्वतन्त्र भारतका प्रथम शिक्षामन्त्री तथा भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का संस्थापक मौलना अब्दुल कलाम आजादको १२९औँ जन्मजयन्तीका रूपमा समेत मनाइएको सो समारोहका प्रमुख अतिथि नेपाल सरकारका शिक्षासचिव मधुप्रसाद रेग्मी थिए भने नेपाल सरकारका वरिष्ठ प्रशासकहरू, भारतीय शैक्षिक संस्थाका दीक्षितहरू, सञ्चार जगत् तथा नेपाल र भारतका प्रबुद्ध नागरिकहरूको समेत बाक्लो उपस्थिति थियो । होटेल ¥याडीसनमा आयोजित उक्त अवसरमा भारतीय संस्कृति केन्द्रका विद्यार्थीले सुमधुर सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।

१९९२ मा भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्नले मृत्युपर्यन्त विभूषित आजादको जन्मदिवस राष्ट्रिय शिक्षा दिवसको रूपमा भारतभरि मनाइन्छ । भारतको शिक्षामन्त्रीको रूपमा मौलना आजादले भारतीय प्राविधिक शिक्षालयहरू तथा राष्ट्रमा उच्च शिक्षाको विकास र अनुगमन गर्ने एक महत्वपूर्ण निकाय विश्वविद्यालय अनुदान आयोगको जग बसालेका थिए । भारत बढ्दो विश्वविद्यालय र कलेजहरूसहित सिकाइको केन्द्र बन्न सफल हुनुको पछाडि मौलना आजादजस्ता महत्वपूर्ण व्यक्तिहरूको प्रयास रहेको थियो ।

आईटीईसी कार्यक्रममा बाह्रजना नेपाली सहभागीसहितको प्रथम समूह सन् २००० मा भारत गएको थियो भने सन् २००० मा छुट्याइएको उक्त १२ कोटा बढाएर सन् २०१६ सम्ममा २ सय ५० पु¥याइएको छ । आईटीईसी कार्यक्रमअन्तर्गत नेपाल सरकारका साथै निजी तथा सार्वजनिक क्षेत्रका व्यक्तिहरूले भारतका ख्यातिप्राप्त संस्थानहरूबाट कम्प्युटर, इन्जिनियरिङ, पत्रकारिता, बैंकिङ, विधायकी, ऊर्जा, रिमोट सेन्सिङ, मानव संसाधन अनुसन्धान, शिक्षा, महिला सशक्तीकरण, जलविज्ञान, कानुनको कार्यान्वयन, व्यापार योजना तथा प्रवद्र्धन, लेखा तथा वित्त इत्यादि क्षेत्रमा तालिम प्राप्त गरिसकेका छन् । सन् २००० देखि हालसम्म नेपालका १२ सय ५० भन्दा बढी सहभागी भारतमा छोटो अवधिका पाठ्यक्रममा सहभागी भई लाभान्वित भएका छन् ।

ज्ञातव्य के छ भने आईटीईसी नेपाल र भारतबीच आपसी हितका लागि सहयोग तथा साझेदारीसँग सम्बन्धित छ । विकासोन्मुख देशहरूको अनुरोधअनुसार यसले ती देशका आवश्यकतालाई सम्बोधन गर्दछ । भारतले आईटीईसी गतिविधिका लागि वार्षिक झन्डै एक अर्ब खर्च गर्दछ । भारतले सन् १९६४ देखि यस कार्यक्रमअन्तर्गत छिमेकी देशहरूसहित अन्य विकासोन्मुख देशलाई २ अर्ब अमेरिकी डलरभन्दा बढी मूल्यको प्राविधिक सहयोग प्रदान गरिसकेको बताइन्छ ।

हालसम्म नेपालमा मानव संसाधन विकासमा भारत–नेपाल सहकार्यले ठूलो योगदान गरिसकेको छ । भारत सरकारले प्रवीणता, स्नातकोत्तर तथा विद्यावारिधिलगायत विविध तहमा चिकित्साशास्त्र, कृषि, विज्ञान, कानुन, कला, पशुविज्ञान, औषधि विज्ञान, कम्प्युटर विज्ञान आदि विषयमा गरी तीन हजारभन्दा बढी नेपाली विद्यार्थीलाई वार्षिक रूपमा छात्रवृत्ति प्रदान गर्दै आएको छ । एनआईटी, जेएनयू, बीएचयू, दिल्ली केन्द्रीय विश्वविद्यालय, ओस्मानिया विश्वविद्यालयलगायत ख्यातिप्राप्त शैक्षिक केन्द्रहरूमा छात्रवृत्तिमा अध्ययनका लागि सिफारिस गर्दै आएको छ । भारतीय राजदूतावासले २००५–०६ देखि प्रदान गर्दै आएको छात्रवृत्ति÷तालिममार्फत लगभग २३ हजार तीन सय व्यक्ति लाभान्वित भएका छन् । छात्रवृत्तिका विविध योजनामार्फत लाभान्वित हुनका लागि नेपाली विद्यार्थीलाई हौसला प्रदान गरिन्छ ।

विज्ञान, प्रविधि, परम्परागत कला, मानविकी आदि विविध विषयमार्फत ज्ञान वितरणका लागि यी विश्वविद्यालय तथा उच्च शिक्षा एवम् अनुसन्धान प्रतिष्ठानहरूको महत्वपूर्ण योगदान रहेको छ । नेपालजस्ता मित्रवत् राष्ट्रका विद्यार्थीलाई भारतीय सांस्कृतिक सम्बन्ध परिषद् तथा भारतीय प्राविधिक शिक्षा सहकार्यमार्फत यी केन्द्रहरूले आफ्ना दक्षता बाँडिरहेका छन् ।

‘आईटीईसी’का नामले प्रख्यात भारतीय प्राविधिक तथा आर्थिक सहयोग कार्यक्रम भारत सरकारको दुईपक्षीय सहयोग कार्यक्रमको रूपमा सन् १९६४ मा लागू गरिएको थियो । आईटीईसी तथा यसको कोरोलरी एससीएएपी (अफ्रिका कार्यक्रमका लागि कमनवेल्थ विशेष सहयोग) बाट भारतको विकास अनुभव आदानप्रदान आमन्त्रण गरेअनुरूप एसिया, पूर्वी युरोप, मध्यएसिया, अफ्रिका र ल्याटिन अमेरिकाका १६१ देशले भारत स्वतन्त्रताको ६ दशकभन्दा अघिदेखि सहयोग पाएका छन् ।