दुुर्गाबहादुरले जिते नेपालगंज म्याराथन

दुुर्गाबहादुरले जिते नेपालगंज म्याराथन


जुम्लाका दुर्गाबहादुर बुढाले तेस्रो नेपालगन्ज म्याराथनको उपाधि जितेका छन् । विभागिय टोलीका खेलाडीलाई झन्डै २२ सेकेन्डपछि पार्दै दुर्गाले उपाधि हात पारेका हुन । विजेता बाहेक शीर्ष ८ मा सबै स्थान विभागिय टोलीका खेलाडीले हात पारे ।

दुर्गाले २ घन्टा २६ मिनेट ५८ सेकेन्डमा दौड पुरा गरेका थिए । म्याराथनमा आर्मीका खडकबहादुर खड्का (२ घन्टा २७ मिनेट २० सेकेन्ड) दोस्रो , एपीएफका गणेशसिंह ठकुरी (२ घन्टा २८ मिनेट ३५ सेकेन्ड) तेस्रो भएका थिए ।

महिला हाफ म्याराथनको शीर्ष तीनमै विभागका टोलीको वर्चश्व रह्यो । त्रिभुवन आर्मीकी रेसु बस्नेतले हाफ म्याराथन जितिन् । रेसुले १ घन्टा २४ मिनेट ४५ सेकेन्डमा दौड पुरा गरेकी थिइन् । आर्मीकै चन्द्रा रावत (१ घन्टा २८ मिनेट ०६ सेकेन्ड) दोस्रो र नेपाल एपिएफ क्लबकी कृष्णश्वरी सिन्तकला (१ घन्टा ३० मिनेट ०७ सेकेन्ड) तेस्रो स्थान हासिल गरिन् ।

विजेता दुर्गाले ५५ हजार, दोस्रोले २५ हजार, तेस्रोले १५ रुपैयाँ प्राप्त गरे । चौथो स्थान हासिल गर्नेले १० हजार, पाँचौंले ८ हजार, छैठौंले ७ हजार, सातौंले ६ हजार र आठौंले ५ हजार रुपैयाँ प्राप्त गरेका थिए ।
हाफ म्याराथनमा विजेता रेसुले ३० हजार, द्धितीयले १५ हजार र तृतीयले १० हजार पाउनेछ । हाफ म्याराथनमा शीर्ष छ जना नगदबाट पुरस्कृत हुनेछन् । त्यसमा चौथो स्थान हात पार्नेले ७ हजार, पाँचौंले ६ हजार र छैठौंले ५ हजार पाउनेछन् ।

५ किलोमिटर दौडमा छात्रातर्फ जुम्लाकी राममाया बुढा र छात्रतर्फ नरेश बुढा विजयी भएका थिए । रामायाले १९ मिनेट ४२ सेकेन्डमा तथा नरेशले १६ मिनेट ५५ सेकेन्डमा दौड पुरा गरेका थिए । छात्रार्फ जुम्लाका विवेक कठायत (१७ मिनेट १५ सेकेन्ड) दौड पुरा गरेका थिए ।

ह्विलचियरतर्फ कमल बुढा पहिलो, नन्कु थारु दोस्रो र दीपक दराई तेस्रो भएको थियो । उनीहरुले ५, ३, २ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

क्रियटिभ्स ह्यान्ड्सको आयोजनामा भएको नेपालगन्ज म्याराथनको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्ट, नेपालगन्ज उप महानगरपालिकाका मेयर धवल शम्सेर राणाले संयुक्त रुपमा गरेका थिए ।

विजेतालाई राखेप सदस्य सचिव विष्ट, नेपालगन्ज उप महानगरपालिका मेयर राणा, नेपालगन्ज म्याराथनका संरक्षक विजय लामा लगायतले पुरस्कार प्रदान गरेका थिए । सो अवसरमा पूर्व ओलम्प्यिन रघुराज वन्तलाई सम्मान गरिएको थियो ।