टेनिसमा अभिषेक र मायांका ‘राष्ट्रिय च्याम्पियन’

टेनिसमा अभिषेक र मायांका ‘राष्ट्रिय च्याम्पियन’


पश्चिमाञ्चलका अभिषेक बाँस्तोला र नेपाल प्रहरी क्लबकी मायांका राणा राखेप च्याम्पियनसिपअन्तर्गत १४ औं राष्ट्रिय लनटेनिस प्रतियोगिताको सिंगल्समा च्याम्पियन बनेका छन् । दुवै अपराजित रहे ।

आठ खेलाडी सहभागी राउन्ड रोविनको पुरुष सिंगल्समा अभिषेकले ७ खेलमा जितका थिए । अन्तिम दिन उनले एपीएफका सन्तोष खत्रीलाई ६–० र ६–० तथा पश्चिमाञ्चलकै प्रदीप खड्कालाई ६–२ र ६–० को सोझो सेटमा पराजित गरि राष्ट्रिय च्याम्पियन बनेका हुन ।

राष्ट्रिय च्याम्पियन नेपाल आर्मीका संरक्षकभूषण वज्राचार्यले दोश्रो स्थानमा चित्त बुझाए । उनले ६ खेलमा जित र एउटा खेलमा पराजित भएका थिए ।

त्यस्तै आर्मीका प्रणव खनाल (५ जित र २ हार) तेश्रो तथा प्रहरीका कमलबहादुर भण्डारी (४ जित र ३ हार) चौथो भए । एपीएफका श्रीराम मगरले पाँचौं, एपीएफकै सन्तोष खत्रीले छैटौं, प्रहरीका दावा शेर्पाले सातौं तथा पश्चिमाञ्चलका प्रदीपले आठौं स्थानमा रहेका थिए ।

अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्समा शत प्रतिशत जित निकाल्ने क्रममा मायांकाले ६ वटै खेलको नतिजा आफ्नो पक्षमा पारेकि थिइन । महिलाको राउन्ड रोविन लिगमा ७ खेलाडी सहभागी थिए । समूह चरणको खेलमा आठै खेलाडी राउन्ड रोविनका लागि छनोट भएपनि चोटका कारण आर्मीकी इरा रावतले सुरुबाटै राउन्ड रोविन लिग त्याग्नु परेको थियो ।

अन्तिम दिन मायांकाले दोहोरो सफलता हात पारेकि थिइन् । मायांकाले आर्मीकी अभिलाषा विष्टलाई ६–३ र ६–० तथा एपीएफकी विजिशा श्रेष्ठलाई ६–३ र ६–२ को सीधा सेटमा पराजित गर्दै राष्ट्रिय च्याम्पियन बनेकि थिइन । मायांकाकी जुम्ल्याहा बहिनी माहिका दोश्रो भइन् ।

त्यस्तै एनी माथेमा, गंगा शर्मा, अभिलाषा विष्ट, विजिशा श्रेष्ठ र भगवती विक क्रमशः तेश्रोदेखि सातौं स्थानमा रहेका थिए ।