मानव तस्करी केन्द्र बन्दै राखेप

मानव तस्करी केन्द्र बन्दै राखेप


– श्रीविक्रम भण्डारी

राष्ट्रिय खेलकुद परिषद्का सदस्य फत्तबहादुर गुरुङलाई नक्कली प्रमाणपत्र बनाएर गैरखेलाडी व्यक्तिलाई विदेश पठाएको आरोप लागेको छ । गुरुङलाई उक्त आरोप रुकुमनिवासी देवानन्द रोक्काले लगाएका हुन् । रोक्काले आफूलाई जापान पठाइदिने भन्दै गुरुङले १० लाख लिएको खुलासा गरेका छन् । रोक्का गैरखेलाडी भए पनि उनीसँग खेलाडी र त्यसमाथि प्रथम मात्र भएका थुप्रै करातेका प्रमाणपत्र छन् । ती प्रमाणपत्रहरू राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेकादेखि विभिन्न करातेका महत्वपूर्ण प्रतियोगिताका रहेका छन् । जसमा गुरुङको हस्ताक्षर रहेको छ ।

फत्तबहादुर गुरुङ एमालेको तर्फबाट राखेपको सदस्य बनेका हुन् । करातेका प्रशिक्षकसमेत रहेका गुरुङले राखेपको सदस्य बनेपछि खेलकुदमा मानव तस्करीको धन्दा सुरु गरेको बुझिएको छ । यो कुरालाई उनले पटक–पटक गरेको जापान भ्रमणले पनि पुष्टि गर्छ । यतिबेला गुरुङले जापान पठाउन तयार गरेका र पठाउन नसकेपछि उनले खेलकुदमा गर्दै आएको धन्दाको पर्दाफास भएको हो । जापान पठाउन नसकेपछि पीडित देवानन्द रोक्काले आफूले बुझाएको रकम गुरुङसँग फिर्ता मागेपछि खेलकुदभित्र खेलकुद पदाधिकारीहरूले गर्ने अतिरिक्त धन्दा छताछुल्ल भएको हो । यो घटनाबाट राखेपमा मेनपावरको धन्दा कति मौलाएको रहेछ त्यो प्रस्ट भएको छ ।

रोक्कालाई जापान पठाउन गुुरुङले १० लाख मागेका थिए । त्यसको पहिलो किस्तामा गुरुङले ३ लाख लिएका थिए, जुन कुरो गुरुङले स्वीकारेका छन् । पहिलो किस्ता टिकट र भिसाका लागि भनेर लिएको जानकारी प्राप्त भएको छ । त्यसपछि काम सफल भएको भन्दै कराते प्रशिक्षक बालकृष्ण रावलले ५ लाख लिएको रोक्काले बताएका छन् । उक्त ५ लाख रोक्कासँग रावलले लिएको कुरालाई पनि गुरुङले स्वीकार गरेका छन् । साथै गुुरुङले आफूले तीन लाख मात्रै लिएको र त्यो रोक्कालाई फिर्ता गरेकोसमेत प्रस्ट पारेका छन् । बाँकी ५ लाख रुपैयाँ आफूले नलिएको गुरुङको दाबी थियो ।

एसियन करातेका जज तथा दाङका प्रशिक्षकसमेत रहेका बालकृष्ण रावलले रोक्कालाई जापान पठाउन गुरुङको सम्पर्कमा ल्याएका थिए । यसअघि करातेको सेमिनारमा भाग लिन जाँदा गुरुङ र रावलको भेट भएको थियो । उनीहरू जापान, मलेसिया र इन्डोनेसियामा करातेको सेमिनारमा सँगै भाग लिएको गुरुङले बताएका छन् । सोही क्रममा उनीहरूबीच जापानमा मान्छे पठाउनेबारे चर्चा चलेको थियो । त्यसपछि रावलले मेरो मान्छे जापान जान तयार छ, पठाइदिनुप¥यो भनेपछि उनीहरूबीच हिमचिम बढेको थियो । त्यसपछि रावलले रोक्कालाई गुरुङसँग भेट गराएका थिए र रोक्कालाई जापान पठाउने कार्यको शुभारम्भ गरिएको थियो ।

जापान पठाउने कार्यमा गुरुङले तीन लाख लिएको स्वीकार गरे पनि ५ लाख आफूले नभई बालकृष्ण रावलले लिएको बताएका छन् । आफूले रोक्काको पाँच लाख फिर्ता गरिदिन रावललाई आग्रह गरे पनि उसले फिर्ता नगरेको गुरुङले बताएका छन् । ‘अहिले रावल फोन अफ गरेर बसेका छन्, मेरो सम्पर्क हुन सकेको छैन, अब मैले यत्रो रकम कहाँबाट ल्याउने ? म सोझो मान्छे, रावलका कारणले फसेको छु, यसमा मेरो कुनै गल्ती छैन,’ गुरुङले भने । यो एक वर्षअघिको कुरो हो भन्दै गुरुङले अब रावलले नदिए उक्त रकम आफूले ऋण सापटी गरेर पनि दिने बताए ।

यस विषयमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टसँग सम्पर्क गर्दा उनले यसलाई अविश्वसनीय घटना भनेका छन् । यस्ता घटना पहिले राखेपमा आउनुपर्नेमा किन आउँदैन भनेर प्रतिप्रश्न गरेका थिए । उनले मेरो कार्यकालमा यस्तो घटना पहिलो भएको भन्दै पदको दुरुपयोग गर्नेलाई तुरुन्त कारबाही गर्ने बताए । कारबाहीका लागि उजुरी र प्रमाणको आवश्यकता पर्ने भएकोले अहिलेसम्म पीडित पक्षले त्यस्तो कुनै निवेदन परिषद्मा दर्ता नगराएको जानकारी गराएका थिए । साथै विष्टले गल्ती गर्नेलाई कारबाही गर्ने दाबी गर्दै गुरुङ दोषी ठहरिए कारबाही हुने विश्वास दिलाए ।