विप्लवका नेतादेखि पत्रकारसम्म सरकारको निशानामा

विप्लवका नेतादेखि पत्रकारसम्म सरकारको निशानामा


प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नजिकिँदै जाँदा विभिन्न जिल्लाबाट नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताहरू पक्राउ पर्ने क्रम बढेको छ ।

प्रहरीले दर्जनौँ विप्लवका नेतादेखि कार्यकर्ता ,विप्लव सम्बद्ध पत्रकारहरुलाई समेत नियन्त्रणमा लिएको छ ।

यसैक्रममा चुनाव विरोधी गतिविधिमा संलग्न रहेको भन्दै हालैमात्र नेकपा लुम्बिनी ब्युरो सदस्य तथा नवलपरासी जिल्ला इन्चार्ज पदम केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गैंडाकोट नगरपालिका–१३ का केसीलाई सुनवल नगरपालिका–११ स्थित भुमहीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (परासी) प्रहरीले जनाएको छ ।

यस्तै, प्रहरीले बर्दघाट नगरपालिका–४ का बर्दघाट नगर कमिटी सदस्य मोहन सापकोटालाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

नेकपाका तीन कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । सल्यान कुमाखमालिका–४ जिमालीका जंगबहादुर चन्द, कुमाखमालिका–६ बडागाउका सहवीर नेपाली र बागचौर–३ खुमबहादुर वलीलाई प्रहरीले पक्राउ गरेकोे हो ।

चन्द र परियारलाई घरमै रहेको अवस्थामा पक्राउ गरेको र वलीलाई थारमारेमा रहेको होटलबाट पक्राउ गरिएको परिवारले जानकारी गराएको छ । चुनाव विरोधि गतिविधि गरेकाले उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

चन्द नेतृत्वको नेकपाका तीन जना सक्रिय कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएको छ । चौरी देउराली गाउँपालिकाका डिल्लीप्रसाद दुलाल र भीमसेन गौतम तथा बनेपा–१४ का रामकुमार तामाङलाई प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचन बिथोल्न तयार पारिएका कागजपत्रसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । काभ्रेमा पछिल्लो समय सुरक्षा थ्रेट बढेको भन्दै प्रहरीले चन्दका कार्यकर्तामाथि निगरानी बढाएको छ ।

आज मात्रै निर्वाचन विरोधी क्रियाकलापमा संलग्न रहेको आरोपमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका नेकपाका चारजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इलाम नगरपालिका–५ भोर्लेनीकी मुना भनिने वसुन्धरा कार्की, वडा नं।–११ सोयाकका सञ्जिव फागो, वडा नं–१ साँखेजुङका विशाल राई र देउमाई नगरपालिका–८ जितपुरका मोहन बराल पक्राउ रहेका छन् । यस्तै, निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेका आरोपमा इटहरी प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका नेकपाका एक जना कार्यकर्तालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–९ का ज्योति प्रसाईं रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

यस्तै, नेत्रविक्रम चन्द नेतृत्वको नेकपानिकट क्रान्तिकारी पत्रकार संगठनका पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रूपन्देहीबाट प्रकाशित हुने ‘गर्जन पोष्ट’ साप्ताहिकका सम्पादक प्रकाश डुम्रेलाई रूपन्देहीबाट गिरफ्तार गरेको छ ।

यस्तै, कालिकोटबाट प्रकाशित हुने ‘जनप्रभात’ साप्ताहिकका समाचार प्रमुख जगदिशनाथ योगी, सोही पत्रिकाका प्रकाशक सम्पादक कालीबहादुर महतारालाई गिरफ्तार गरेको छ ।

त्यसैगरी, ‘मध्याह्न’ दैनिकका पत्रकार दीपेश शाही, काठमाडौंबाट प्रकाशित हुने ‘हाम्रो जलजला’ मासिकका सम्पादक खेम थपलिया, काठमाडौंबाटै प्रकाशित हुने नेवारी पत्रिका

‘निहिगु ज्वजोलोप्पा’का सम्पादक जितेन्द्र महर्जनलाई पनि पक्राउ गरिएको छ । ‘प्युठान भिजन’ मासिक पत्रिकाका सम्पादक जयेश्वर आचार्य र कार्यकारी सम्पादक पदमप्रसाद पोख्रेललाई पनि गिरफ्तार गरेर हिरासतमा राखिएको जनाइएको छ ।

प्रहरीले विप्लवलाई समेत खोजी गरिरहेको गृह मन्त्रालय स्रोत बताउछ । स्रोतका अनुसार सरकारले निगरानी बढाएपछि उनी अहिले भूमिगत छन् ।