– चन्द्रकान्त खनाल
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको नाममा जनतालाई भ्रम फिँजाइएको आरोप लगाएका छन् । शासन आए ६० वर्ष पुगेका बुढाबुढीलाई मार्छ भनी हिजो हौवा फैलाउनेहरू आज फेरि लोकतन्त्रको नाममा जनतालाई झुक्काउने खेलमा लागेको उनले बताए ।
एमाले–माओवादी वामगठबन्दनले बुधबार बुटवलमा आयोजना गरेको चुनावी सभामा बोल्दै उनले नेपाली कांग्रेसतर्फ लक्षित हुँदै जनताको अगाडी पुराना झुठ अब नबिक्ने दाबी गरे । देशका ३८ वटा उद्योग तथा कलकारखाना बन्द गराएर ४० लाख युवालाई विदेश पठाउनेबाट देश नचल्ने भन्दै उनले ब्यङ्ग्य गरे ।
राष्ट्रिय एकता आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले राष्ट्रिय एकता, अखण्डता र स्वाधिनताका लागि एमाले, माओवादी केन्द्रबीच गठबन्धन भएको बताए । चुनाव नजिकिएकाले पार्टी एकता हुन नसकेको र चुनावपछि दुई पार्टीबीच एकता हुने उनको कथन थियो ।
एमाले र माओवादीको नीति मिलेपछि एउटै पार्टी बनाउने निर्णय गरिएको र चुनावपछि पार्टी एकता हुने नेता ओलीले दोहोराए । उनले चुनावपछि नढलने गरी वामपन्थीको बहुमत सरकार बन्ने दावी गर्दै उनले काम गर्न सक्ने खालको दीगो सरकार बनाउने पक्षमा आफुहरु लागेको बताए । उनले संयुक्त राष्ट्रसंघको लक्ष्य अनुसार चुनावपछि बन्ने सरकारले देशलाई समृद्ध तुल्याउने बाचा गरे ।
सोही अवसरमा नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा बादलले वाम गठबन्धन चुनावको लागि मात्र नभएको बताए । उनले अहिले एमाले, माओवादीबीच चुनावी गठबन्धन भएपनि चुनावपछि दुई पार्टी एक हुने दाबी गरे ।
नेकपा एमालेका उपमहासचिव तथा रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार विष्णुप्रसाद पौडेलले यो चुनावबाट वामपन्थीको बहुमतको सरकार बन्ने ठोकुवा गरे । पूर्व अर्थमन्त्रीसमेत रहेका नेता पौडेलले यो प्रदेशको राजधानी रुपन्देहीको बुटवलमा बन्ने दाबीसमेत गरे । अर्का उपमहासचिव तथा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य घनश्याम भुसालले पनि अबको सरकार कम्युनिष्टहरुको बन्ने बताए ।
नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य तथा रुपन्देही क्षेत्र नम्बर पांच प्रतिनिधि सभा उम्मेदवार डिलाराम आचार्यले कम्युनिष्टहरु जुट्ने बेला आएको उल्लेख गरेका सो कार्यक्रम नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य वामदेव क्षेत्रीको अध्यक्षता र एमालेका केन्द्रिय सदस्य खिमलाल भट्टराईको सञ्चालनमा भएको थियो ।
प्रतिक्रिया