हरित तारादेवीको पूजा सम्पन्न

हरित तारादेवीको पूजा सम्पन्न


लण्डन / सुमल कुमार गुरुङ, सल्लाहकार दक्षिणपूर्व क्षत्रीय तमुधिं, लण्डनका संयोजकत्वमा तथा दक्षिणपूर्व क्षत्रीय तमुधिं, लण्डनको आयोजनामा २३ जून, २०१२, शनिवार अपरान्ह एक बजेदेखि सात बजेसम्म एलसीएम कलेज, विलविच, लण्डनमा हरित तारादेवीको पूजा तथा प्रवचन सम्पन्न भएको छ । नेपालबाट आएका धर्मगुरु खिम्पो, बागिन्द्र शिला, नेपाल महाबौद्ध संघका अध्यक्षद्वारा उपरोक्त पूजापाठ तथा प्रवचन सम्पन्न गराईएको थियो । कार्यक्रमलाई योगेश गुरुङले शुरुबाट अन्तसम्म बडो सटिक तथा शानदार ढंगले प्रस्तुत गरेका थिए । महायानी बौद्धधर्मका लगभग डेढसय अनुयायी श्रद्धालुहरुको सहभागिता रहेको सो कार्यक्रममा हल खचाखच भरिएको थियो । अत्यन्त दिव्य वातावरण सिर्जना गरी पूजापाठ गरिएको सो कार्यक्रम बुद्ध धर्मको मर्म बुझने कुरामा अत्यन्त प्रभावशाली भएको राय सहभागी श्रद्धालुहरुले जाहेर गरेका थिए । हरित तारादेवीको पूजापाठ तथा प्रवचन तीन चरणमा सम्पन्न भएको थियो । विद्वान धर्मगुरुले प्रथम चरणमा हरित तारादेवी बारे प्रकाश पार्दै, पूजाविधि बारे जानकारी दिंदै हरिततारादेवीको पूजा सम्पन्न गरेका थिए । कार्यक्रमको दोश्रो चरणमा ध्यानयोगबारे प्रकाश पारेर श्रद्धालुहरुलाई लगभग आधाघण्टा जति ध्यानयोग (मेडिटेशन) अभ्यास गराएका थिए । बौद्धमार्गीहरुले बुद्धत्व प्राप्त गर्ने पहिलो खुड्किलो अनुरुप उनले ध्यानयोगबारे बडो राम्रो ज्ञान सहभागीहरुलाई प्रदान गरेका थिए । कार्यक्रमको तेश्रो चरणमा बुद्ध दर्शन र बौद्धमार्गीहरुको कर्मकाण्डबारे प्रकाश पारेका थिए । दक्षिणपूर्व, लण्डन क्षेत्रमा महायानी बौद्धमार्गीहरुलाई कुनै विद्वान नेपाली खिम्पोद्वारा प्रवचन दिएको यो पहिलो अवसर रहेको कुरा सहभागीहरुले बताएका थिए । अत्यन्त शान्त तथा दिव्य वातावरणमा सम्पन्न भएको सो कार्यक्रममा संयोजक सुमल कुमार गुरुङले बौद्ध धर्मको औचित्यबारे वर्तमान समयमा कति खाँचो रहेको छ भन्ने कुरा आफ्नो मन्तव्यको दौरान् प्रकाश पारेका थिए । कार्यक्रममा चियापानी तथा स्न्याक्सको व्यवस्था थियो । कार्यक्रमको अन्तमा दक्षिणपूर्व क्षत्रीय तमुधिं, लण्डनका अध्यक्ष क्याप्टैन रिटायर नारायण बहादुर गुरुङले सहभागी सबैजनालाई धन्यवाद ज्ञापन गर्दै खिम्पो बागिन्द्र शिलालाई आभार व्यक्त गरेका थिए । यस कार्यक्रमलाई सफल पार्नका लागि दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनका सदस्य सूर्य गुरुङले निःशुल्क साउण्ड सिस्टम प्रदान गरी कार्यक्रमलाई सघाउ पुर्याएका थिए, त्यसै गरि सल्लाहाकार मोहन गुरुङबाट प्रोजेक्टर, उपाध्यक्ष हिराप्रसाद गुरुङ, सल्लाहाकारहरु क्रमशः श्रीचन्द्र गुरुङ, योगेश गुरुङ तथा अन्य श्रद्धालुहरु हेमप्रसाद छन्त्याल, मनबहादुर छन्त्याल, भुगोल शेरचन, तारा गुरुङ, मिना गुरुङ, निर्मला गुरुङ, सारा गुरुङ, ममता गुरुङ, शिबराम गुरुङ, बिन्दु गुरुङ तथा अन्य तमुधिं, लण्डनका सदस्यहरुले ठूलो योगदान दिएका थिए । श्रोत — सुमल, मेस ।