राखेप च्याम्पियनसिप अन्तरर्गत क्यानोई सुरु

राखेप च्याम्पियनसिप अन्तरर्गत क्यानोई सुरु


नेपाल -याफ्टिङ्ग एन्ड क्यानोईङ्ग संघको आयोजनामा धादिङ्गको फिस्लिङ्गस्थित त्रिसुली खोलामा राखेप च्याम्पियनसिप अन्तर्गत राष्ट्रिय क्यानोई स्लालोम च्याम्पियनसिप सुरु भएको हो । दुई दिने प्रतियोगितामा ८१ खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।

उक्त प्रतियोगिताका प्रमुख अतिथि नेपाल युवा तथा खेलकुद मन्त्रालयका उपसचिव जनार्दन रिजालले खेलाडीलाई खेल सामाग्री र प्याडल प्रदान गरेर उद्घाटन गरेका थिए । सो अवसरमा प्रमुख अतिथि रिजालले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका लागि पदक जित्ने खेल भएकोले यो खेलको विकास र विस्तारमा राज्यले विशेष चासो लगानी गर्नुपर्ने बताए ।

एयिशन गेममा समेत समाविष्ट यो खेल नेपालको लागि पदक हासिल गर्ने खेलको रुपमा हेरिएको छ । अन्य देशमा कृतिम बाधा उत्पन्न गरि खेल खेलाउने गरिन्छ । तर नेपालका नदि नाला त्यस माथि पनि त्रिसुली, कास्कीको ह्याम्जास्थित सेती नदि, सिन्धुपाल्चोकको भोटेकोशी यस खेलको लागि अत्यन्तनै राम्रो गन्तब्य मानिन्छ ।

यो खेलको विकास गर्न सके अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले पदक हात पार्नुका साथै नेपाललाई यस खेलको प्रशिक्षण केन्द्र बनाउन सहयोग पुग्ने छ । पर्यटकिय तथा साहसिक खेलको रुपमा प्रचलित यो खेलको विकास गर्न सके पर्यटक भित्राउनुका साथै बैदेशिक मुद्रा आर्जन गर्न सघाउ पुग्नेछ ।