एमाले उपमहासचिव विष्णु पौडेलले बुटवललाई प्रदेश नम्बर ५ को राजधानी बनाउने बाचा गर्दै आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फका उम्मेदवार बनेका पौडेलले विहिबार बुटवलमा पत्रकार सम्मेलन आयोजना गरी आफ्नो क्षेत्रको घोषणपत्र सार्वजनिक गरेका हुन् ।
भौगोलिक, प्रशासनिक, विकास निर्माणका हिसाबले रुपन्देही अन्य जिल्लाको तुलनामा अगाडि भएकोले प्रदेशको राजधानी बनाउन आफू लागिपरेको पौडेलको जिकीर छ ।
बुटवल, तिलोत्तमा, सिद्धार्थनगर, सैनामैना, देवदह, ओमसतिया, रोहिणी, शुद्धोधन र सियारी लगायतका उपमहानगर, नगर र गाउँपालिकाहरूलाई समेटेर महानगरपालिकामा विकास गर्ने पौडेलले बताए । वाम गठबन्धनले प्रदेशको रानधानीलाई आवश्यक पर्ने संरचनाहरू तयार गर्ने र बन्दै गरेका आयोजनाको शीघ्र सम्पन्न गर्ने प्रतिबद्धता पत्रमा समावेश गरेको छ ।
निर्माणधीन बुटवल बेलहिया ६ लेन सडकलाई चाँडै सम्पन्न गर्ने, बुटवल नारायणगढ, बुटवल कोहलपुर राजमार्गलाई ६ लेनमा स्तरोन्नति गरिने नवलपरासीदेखि कपिलवस्तुसम्मका हुलाकी सडकलाई चार लेनमा स्तरोन्नति गर्ने, लुम्बिनी अञ्चलका ६ जिल्लालाई सडक सञ्जालमा आवद्ध गर्न बृहत् लुम्बिनी चक्रपथको निर्माण कार्य अघि बढाउने प्रतिबद्धता पत्रमा समावेश छ ।
काली गण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम शुरु गर्ने, चिन देखि भारतसम्म सडक सञ्जाल जोड्ने गरि काली गण्डकी कोरिडोर सडकको काम चाडै सम्पन्न गर्ने, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्य शीघ्र सम्पन्न, लुम्बिनीको गुरुयोजनाको काम चाँडै सम्पन्न गरि बृहत् लुम्बिनी गुरुयोजना निर्माण गरी कार्यान्वयन गर्नका लागि पनि पौडेलले प्रतिबद्धता जनाएका छन् ।
बन्द भएका उद्योगहरु सञ्चालनमा ल्याउने, मोतीपुर औद्योगिक क्षेत्रमा अन्तराष्ट्रिय स्तरको पूर्वधार निर्माण गर्ने, बुटवल औद्योगिक क्षेत्रलाई बिस्तार गरि आधुनिकीकरण गर्ने बाम–गठबन्धनको प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।
– चन्द्रकान्त खनाल
प्रतिक्रिया