मौन अवधिको पूर्ण पालना गर्न प्रमुख निर्वाचन आयुक्तको आग्रह

मौन अवधिको पूर्ण पालना गर्न प्रमुख निर्वाचन आयुक्तको आग्रह


प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन मौन अवधिको पूर्ण पालना गर्न सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, मतदाता र सञ्चारमाध्यमलाई पुनः आह्वान गरेका छन् ।

आज भएको साक्षात्कारमा उनले भने,‘मौन अवधि भनेको मतदाताको विवेक प्रयोग गर्ने र सोच्ने समय भएकाले उनीहरुलाई स्वतन्त्ररुपमा छोड्दिन म आग्रह गर्छु ।’

प्रमुख निर्वाचन आयुक्त डा यादवले मतदन केन्द्र निर्माणमा सहयोग पु¥याउन सरोकारवाला सबै पक्षलाई सुझाव दिँदै हिमाली क्षेत्रका कतिपय जिल्लामा भौगोलिक विकटता र मौसम प्रतिकूलताका बाबजुत पनि मतदानमा खटिएका कर्मचारीबाट निर्वाचन सफल तुल्याउन निकै ठूलो योगदान भइरहेको बताए ।

शान्तिपूर्णरुपमा धैर्यताका साथ मतदान गर्न र अरुलाई पनि उत्प्रेरित गर्न आग्रह गर्दै उनले स्थानीय तहको निर्वाचन जस्तै उत्साहजनक सहभागिता जनाई उदाहरण प्रस्तुत गर्न सुझाव दिए ।

सुरक्षामा खटिएका जनशक्तिलाई चनाखो भएर आममतदाता, राजनीतिक दलका नेता तथा उम्मेदवारलाई सुरक्षा प्रदान गर्न पनि उनले निर्देशन दिए ।