आईसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटमा नेपालले पहिलो जित दर्ता गरेको छ ।
छनोट अन्तर्गत शुक्रबार भएको चौथो खेलमा मलेसियालाई ३३ रनले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो ।
थाइल्याण्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा नेपालले दिएको १०९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ्ग गरेको मलेसियाले पूरै २० ओभर खेल्दै ७ विकेट गुमाएर ७५ बनाउन सकेको थियो ।
मलेसियाको लागि एमिलिया एलीयानीले २४ रन बनाउनु बाहेक अन्य ब्याट्सवुमनले उलेख्य रन जोड्न सकेनन् । त्यसबाहेक मलेसियाकी जयानी सायमीमीले अविजित १६ तथा कप्तान विनफ्रेड ड्यूराइजमले ११ रन बनाइन् । त्यस्तै जन्नादिहा हालिमले ८ रन जोड्दा क्रिस्टिना बरेट ६ रनमा आउट भइन् । नेपालकी करुणा भण्डारीले ३ विकेट लिइन् । त्यस्तै, सिता राना मगर, नेरी थापा, सोनु खड्का र रिता कुमारी कनुजियाले समान एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको नेपालले पूरै २० ओभरमा ६ विकेट गुमाएर १०८ रन बनाएको थियो । नेपालको लागि ओपनरद्वय सिता राना मगर र ज्योति पाण्डेले उत्कृष्ट पारी खेलेका थिए ।
पहिलो विकेटका लागि सिता र ज्योतिले ६६ रनको साझेदारी गरे । पहिलो विकेटका रुपमा सिता ३७ रनमा आउट भइन् भने ज्योति २१ रनमा आउट भइन् ।
सिता र ज्योति पेभेलियन फर्किएपछि आएका मध्यक्रमका ब्याट्सवुमनले उलेख्य रन जोड्न नसक्दा नेपालले उच्च स्कोर बनाउन सकेन । नेपालकी इन्दु बर्मा ६ रनमा अविजित रहँदा कप्तान रुबिना क्षेत्री पनि २ रनमा नटआउट रहिन् ।
त्यसबाहेक नेपालकी काजल श्रेष्ठले १४ रन जोड्दा रोमा थापाले ६, नेरी थापा ५ रन बनाँउदा रिता कुमारी कनुजिया १ रनमा पेभेलियन फर्किए । मलेसियाकी नुर एरिना नट्सया र जन्नादिहा हालिमले समान दुई दुई विकेट लिए ।
यो जितसँगै नेपालले छनोटको शिर्ष दुई स्थानमा रहँदै नेदरल्याण्डमा हुने ग्लोबल क्वालिफयर्समा पुग्ने झिनो सम्भावना कायम राखेको छ । तर, नेपालको अर्को चरणको यात्रामा अन्य टोलीको नतिजामा भर पर्नुपर्ने भएको छ । अब नेपालले अन्तिम खेलमा आइतबार चीनसँग खेल्नेछ ।
प्रतिक्रिया