सपाङ्गलाई चुनावी चाड, अपाङ्गलाई छाक टार्न समस्या

सपाङ्गलाई चुनावी चाड, अपाङ्गलाई छाक टार्न समस्या


पुनहरि बेल्बासे (रुपन्देही)

आगामी मंसिर १० र २१ गते हुने दुई चरणको निर्वाचनमा यतिबेला नेता तथा कार्यकर्ताले चाडको रुपमा लिएका छन् । पार्टी–पार्टीबीच एकअर्कामा गालीगलौज गर्दै आफ्नो पक्षमा भोट ल्याउने दाउमा रहेका नेताले गरिब अशक्त व्यक्तिहरूलाई ठूला आश्वासन दिई ‘मैले जिते तपाईंलाई हरेक सुविधा दिन्छु’ भन्दै भोट मागेका छन् ।

भोटका लागि शरण पर्न गएका नेताहरू चुनाव जिते महल नै बनाइदिने जस्तै गरी जनतासामु झुक्न पुगेका छन् । शारीरिक तथा बौद्धिक अपाङ्ग भएका मानिसलाई भत्ताको व्यवस्था गरि बसि–बसी खाने भन्नेसम्मका प्रलोभन दिइएका छन् । सोझासाझा जनतालाई लोभ देखाई सत्तामा पुग्ने दाउमा धेरै यसरी नेता छन् ।

रुपन्देहीको सियारी गाउँपालिका वडा नं. २ कर्मडाँडाका बलबहादुर छन्तेल र उनी श्रीमती अमृता छन्तेल उमेरले डाँडापारिको घामजस्तै भएका छन्, तर जिम्मेवारीको हिसाबले छोरा, छोरी, बुहारी र नातिनी–नाति सबैको जिम्मेवारी उनहिरूकै काँधमा छ । उमेरले ७० वर्ष पुग्न आँटेका बृद्धबृद्धाका घरमा पाँचजना बौद्धिक अपाङ्ग छन् । दुई छोरा, दुई बुहारी र एक छोरी कान सुन्दैनन् । उनको साथमा कुनै जग्गाजमिन पनि छैन, कर्मडाँडामा ऐलानी जग्गामा सानो घर बनाएर १३ जनाको परिवार बसेका छन् ।

जेठो छोरा ३७ वर्षका दानबहादुर छन्तेल र उनकी श्रीमती विष्णु छन्तेल दुवै जनाले कान सुन्दैनन् । माइलो ३४ वर्षको जितबहादुर छन्तेल र श्रीमती लल्ली छन्तेल पनि कान सुन्न सक्दैनन् । भने छोरी पनि कान सुन्दैनन् । दुई छोराका गरि ७ जना नाति–नातिना छन् । दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्ने उक्त परिवारमा दानबहादुर छन्तेलको भदौ महिनामा खुट्टा भाँचिएर थला परेका छन् भने उनकी श्रीमती बिष्णुले चाहिँ गत कात्तिक १३ गते अप्रेसन गरि बच्चा जन्माएकी छिन् । बौद्धिक अपाङ्ग त्यसमाथि ग्रहदशा उनैमाथि आइलागेको छ ।

दाहिने खुट्टाको तिघ्रा भाँचिएपछि एकलाख १० हजार खर्च गरी उपचार गराए तर तिघ्राभित्र रड हालेकोले एक वर्षसम्म सन्चो नहुने डाक्टरले बताएका छन्तेललाई उम्भिन समेत सहारा चाहिन्छ । घरमा आठओटा भोट देखेपछि आँखा लगाउने गरेका नेताहरू स्थानीय चुनाव जितेपछि अहिलेसम्म देखापरेका छैनन् । ती दम्पतिलाई विगतका दिनमा नेता नभएर कार्यकर्ताले भोट माग्न आउने गरेको शंका छ ।

अहिले राष्ट्रिय जनमुक्ति पार्टी घरमै आएर भोट मागेको र मनको कुरा राख्न पाएकोले भोट दिएर जिताउने सोचमा रहेको बताउँछन् ७० वर्षीया बृद्ध बलबहादुर । आँसु झार्दै उनी भन्छन्– ‘अहिलेसम्म कांग्रेस, एमाले, राप्रपा र माओवादीलाई भोट हालेँ तर मेरो दुःख कसैले देखेनन् । मलाई सहारा चाहिने बेलामा छोरा बुहारी नै शारीरिक र मानसिक घाइते छन् । भगवानले पनि मलाई नै सबै कुराबाट दुःख दिए । मेरो कुनै जग्गा जमिन छैन, मजदुरी गरेर बिहान साँझको छाक टार्ने गरेको छु ।’

मधुवनकी मनु वि.क.को पनि बेदना उस्तै छ । उनले पनि दुर्घटनामा परेर खुट्टा गुमाएकी छिन् । बैशाखीको सहाराबिना कतै जान सक्दैनन् । जग्गा जमिन नभएकोले घरका सबै सदस्य मजदुरी गरेर जिविको पार्जन गरेका छन् । भोट माग्ने बेलामा नेताहरु आउने तर आफ्नो समस्याबारे कसैले नबुझ्ने भएकाले भोट नदिने मनु विक बताउँछिन् । अपाङ्ग भएको कार्ड दिलाउने र जिविकोपार्जन हुने भत्ता व्यवस्था गर्छु भन्ने सोच भएका नेता भए भोट हाल्ने उनी बताउँछिन् ।