भूकम्पले ध्वस्त पारेको रानीपोखरी किन पऱ्यो अलपत्र ?

भूकम्पले ध्वस्त पारेको रानीपोखरी किन पऱ्यो अलपत्र ?


विनाशकारी भूकम्पले छोडेको पीडादायी ‘घाउ’का खाटामध्ये यतिबेला कुरुपावस्थामा सुकिरहेको रानीपोखरी पनि प्रमुख एक हो । काठमाडौंको मुटुमा रहेको पुरातात्विक महत्वको ऐतिहासिक रानीपोखरी भूकम्पपछि कुरूप मात्र नभई अलपत्रसमेत परेको छ । ०७२ वैशाखमा गएको भूकम्पप्रदत्त क्षतिका कारण रानीपोखरीको सुन्दरता पूरै हराएको छ । सौन्दर्यप्रेमीहरू रानीपोखरीको अतीतको सौन्दर्यमा पुनर्दृष्टि लगाउन लालायित छन् । तर, यति महत्वपूर्ण क्षेत्रको पुनर्निर्माणमा सरकारले गरेको ढिलाइका कारण एकातिर रानीपोखरीको कुरूपता बढेको छ भने अर्कोतिर जनस्तरमा निराशा छाएको छ ।

भूकम्पले भत्काएको पोखरीबीचको मन्दिरका भग्नावशेषसमेत अलपत्र अवस्थामा भेटिन्छन् । काठमाडौं महानगरपालिकाले मापदण्डअनुसार पुनर्निर्माण गरेको भए गत वर्ष नै रानीपोखरीको बालगोपालेश्वर मन्दिर निर्माण भइसक्नुपर्ने थियो । महानगरपालिकाले पुनर्निर्माणको काम थालेको पनि थियो, तर पुरातात्विक मापदण्डअनुरूप काम नभएको भन्दै धमाधम भइरहेको काम पनि पुरातत्व विभागले अवरोध गरेपछि रोकिएको थियो ।

महानगरले पुरातात्विक विभागको मापदण्डविपरीत कङ्क्रिट प्रयोग गरेको पाइएपछि विरोध गर्दै सर्वसाधारण सडकमै उत्रिएका थिए । विवाद बढेपछि पुरातत्वले त्यतिबेलासम्म बनेको संरचना भत्काएर मापदपण्डअनुसार बनाउन आदेश दिएको थियो । तर, महानगरपालिकाले आफूसँग पुरातात्विक मान्यताअनुसार निर्माण गर्ने जनशक्ति र सामग्री नभएकाले बनाउन नसक्ने तर्क झिकेपछि पुरातत्व विभाग स्वयम्ले रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण गर्ने जिम्मेवारी गत वर्ष लिएको थियो ।

विगतमा रानीपोखरी स्वदेशी र विदेशी पर्यटकका लागि आकर्षणको केन्द्रका रूपमा रहेको थियो । २२ फिट ४ इञ्चको पोखरीबाट मन्दिरसम्म पुग्न सकिने पुल निकै आकर्षक देखिन्थ्यो । सर्वसाधारण पोखरीको डिलबाटै माछा पौडिरहेको हेर्न सक्थे । अहिले उक्त पोखरीका झन्डै ५ सय माछा बालाजु उद्यानमा सारिएको छ । वि.सं. १७२७ मा बनेको रानीपोखरीको बीचभागमा रहेको गुम्बज शैलीको बालगोपालेश्वर महादेव मन्दिर बनाउन इँटाको गाह्रो र त्यसलाई जोड्न चुना, सुर्की, मासको दाललगायत सामग्रीको प्रयोग भएको बताइन्छ । अहिलेजस्तो रड, सिमेन्टको चलन नभएकाले सबै प्राचीन मन्दिर, घर, दरबार बनाउन यही सामान प्रयोग हुन्थे । पुनर्निर्माणका नाममा यी पुरातात्विक महत्वलाई नष्ट नगरी पुनर्निर्माण गर्नुपर्ने पुरातत्वका जानकारहरूको जिकिर छ ।

हाल रानीपोखरीलाई दुई भागमा विभाजन गरी निर्माणकार्य भइरहेको छ । रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर पुरातत्व विभागले र पोखरी तथा अन्य साजसज्जाको काम काठमाडांै महानगरपालिकाको जिम्मा रहेको छ । महानगरपालिकाले यही कात्तिक १३ देखि पोखरी निर्माणकार्य सुरु गरेको छ ।
काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत धनीराम शर्माले स्थानीयवासीको माग तथा मापदण्डअनुरूप नै महानगरपालिकाले काम गरेको दाबी गरेका छन् । यता पुरातत्व विभागले पनि हाल निर्माणको काम भइरहेको जनाएको छ । विभागले पुरातात्विक सम्पदाहरू पुरातात्विक महत्वलाई बचाइराख्न मापदण्डअनुरूप काम गर्नुपर्ने भएकाले काममा ढिलाइ भएको जनाएको छ । आगामी वैशाखभित्र निर्माणकार्य सम्पन्न हुने गरी काम भइरहेको पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरको भनाइ छ ।

ठेकेदार कम्पनी वल्र्डवाइड कँडेल के एण्ड केजी जेभी जोएन्ट भेन्चरले रानीपोखरी निर्माणको काम गरिरहेको छ । निर्माणको जिम्मा पाएको उक्त कम्पनीका निर्देशक अर्जुन कँडेलले आफूहरूको कारणले निर्माणको काम नरोकिएको दाबी गरे । महानगरपालिकाले समयमै डिजाइन फाइनल नगरिदिएको कारण निर्माणकार्य रोकिएको आरोप उनी लगाउँछन् । अबको २ महिनामा पहिलो चरणको काम सकिने उनको कथन छ ।

यता काठमाडौं महानगरपालिकाले भने नक्सा र डिजाइनका कारण काम नरोकिएको जनाएको छ । महानगरपालिकाले केही समय पुरातत्व विकागसँगको मतभेदका कारणले काममा ढिलाइ हुन गएको महानगरपालिकाका कार्यकारी अधिकृत शर्मा बताउँछन् । उपत्यकाको बीचमा रहेको रानीपोखरी एउटा पर्यटकीय आकर्षणको केन्द्रबिन्दु रहेको थियोे । यो धार्मिक हिसाबले पनि निकै महत्वपूर्ण तथा सांस्कृतिक स्थलको रूपमा रहेको धरोहर हो । तर, रानीपोखरीको महत्व बुझ्ने संवेदनशीलता भएको सरकार नभइदिँदा यो अलपत्र परेको आरोप स्थानीयवासीको छ ।

नेपालको राजधानी काठमाडौंको प्रतिष्ठा र चिनारीसँग जोडिएको पुरातात्विक सम्पदा र आधुनिक सहरको बीचभागमा अवस्थित कलात्मक तालको रूपमा रहेको रानीपोखरीको ऐतिहासिक तथा धार्मिक पक्षहरूलाई जोगाउन सरकार र सरोकारवाला निकायहरूले बेलैमा पुनर्निर्माणको काम गरेर राजधानीको सुन्दरतालाई जोगाउन संवेदनशीलता दर्शाउनु अपरिहार्य ठानिएको छ ।