किसानहरु आधुनिक कृषि प्रविधितर्फ आकर्षित हँदै

किसानहरु आधुनिक कृषि प्रविधितर्फ आकर्षित हँदै


लमजुङका किसानहरु आधुनिक कृषि प्रविधितर्फ आकर्षित हुन थालेका छन् । विगतका वर्षहरुमा खेतबारी खनजोतका लागि गोरुकै भर पर्ने किसानहरु खेतबारी जोत्नका लागि आधुनिक हाते ट्रयाक्टरको प्रयोग गर्दै नयाँ प्रविधितर्फ आकर्षित भएका हुन् ।

लमजुङका पहाडी जिल्लाहरुमा अहिले कृषकहरु धान काट्न, कुन्यु लगाउन र दाइँ हाल्न व्यस्त छन् । केही भने खेती थन्क्याएर हिउँदे खेती लगाउने सुरमा जुटिसकेका छन् । उनीहरु खेतबारी जोत्न पनि व्यस्त भइरहेका छन् । हली गोरुको प्रयोग गरेर खेत बारी जोत्न कृषकहरु अहिले हाते ट्रयाक्टरबाट खेत जोतिरहेका छन् । गाउँमा हलीगोरु नपाईने भएकाले पनि किसानहरु ट्रयाक्टरतर्फ आकर्षित भएका हुन् ।

काम छिटो हुने, माटो राम्रो हुने, खर्च पनि कम लाग्ने भएकाले पनि खनजोतका लागि कृषकहरुले हाते ट्रयाक्टर प्रयोग गर्न थालेका हुन् । चलनचल्ती अनुसार हलीगोरुको दैनिक ज्याला १६ सय रुपैयाँ पर्छ तर हाते ट्रयाक्टरले जोत्दा एक रोपनी जमिन एक घण्टामै सकिन्छ । ट्रयाक्टरले खनजोत गरेको प्रति घण्टा १२ सय रुपैयाँ लिने गरेको छ । यसो हुँदा समय र पैसाको वचत हुनुका साथै उत्पादन पनि राम्रो हुने भएपछि कृषकहरुको रोजाई हाते ट्याक्टर नै भएको छ । हाते ट्रयाक्टर चालक गोपालबहादुर घर्तीलाई अहिले खेत जोत्न भ्याइनभ्याई छ । उनले यसैबाट मासिक लाखौँ कमाउन सफल पनि भएका छन् ।

सहजै ट्रयाक्टर जान सक्ने ठाउँमा ट्रयाक्टर उपयोगी भएतापनि हाते ट्रयाक्टर नपुग्ने ठाउँमा भने लमजुङका किसानहरुले गोरुले नै खनजोत गर्दै आएका छन् । आफुले गोरु पाल्न नछाडेको बताउँदै गोरुले नै खेतबारी खनजोत गर्दै आएको सयफाँटमा खेत जोत्न व्यस्त रहेका किसान कालु तामाङ बताउँछन् ।

लमजुङको बेसीशहर, उदिपुर, सुन्दरबजार, भोटेओडार, पाउँदी, धमिलिकुवा, र भोर्लेटार लगायतका किसानहरुले पछिल्लो समय खनजोतका लागि हाते ट्रयाक्टरकै प्रयोग गर्दै आएका छन् । जिल्ला कृषि विकास कार्यालयले पनि किसानहरुलाई अनुदानमा वर्षेनी हाते ट्रयाक्टर वितरण गर्दै आएको छ ।