आपराधिक घटना नियन्त्रण गर्न इम्बोस्ड नं प्लेट सहयोगी हुने

आपराधिक घटना नियन्त्रण गर्न इम्बोस्ड नं प्लेट सहयोगी हुने


सवारी साधनमा विद्युतीय नं प्लेट जडान गरिएपछि आपराधिक घटना नियन्त्रणका लागि सहज हुने भएको छ ।

गत भदौ ५ गते यातायात व्यवस्था विभागले १४ अञ्चल संरचनानुसार शुरु गरेको सवारी साधनमा इम्बोस्ड नं प्लेट नेपालको संविधान अनुसार प्रदेश संरचनानुसार वितरण गर्न व्यवस्थापिका–संसद्का विभिन्न समितिले निर्देशन दिएको थियो ।

प्रदेश संरचनानुसार इम्बोस्ड नं प्लेट वितरणका लागि गत कात्तिक १३ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरेको थियो । सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ अनुसार पाँच वर्ष्भित्र २५ लाख सवारी साधनमा इम्बोस्ड नं प्लेट जडान गरिसक्ने विभागको लक्ष्य छ ।

सोका लागि काठमाडौँ उपत्यकाका पाँच स्थानमा रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन जडान गर्ने तयारी भएको विभागका प्रवक्ता डा टोकराज पाण्डेले जानकारी दिए । ‘नागढुंगा, फर्पिङ, साँगा, जोरपाटी र नागार्जुनका प्रहरी कार्यालयसँगै रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन जडान गर्ने गरी तयारी भएको छ, यसपछि उपत्यकामा चोरी, आपराधिक घटना नियन्त्रण र ट्राफिक व्यवस्थापनमा पनि सहयोग पुग्नेछ, उनले भने ।

इम्बोस्ड नं प्लेट लागू नहुँदा आपराधिक घटना गराएका सवारी समात्न असजिलो हुँदै आएको थियो । राससका अनुसार इम्बोस्ड नं प्लेट हाल वाग्मती अञ्चल यातायात व्यवस्था कार्यालय एकान्तकुनाले साना ठूला सवारीमा मात्र जडान गरिरहेको छ । केही समयपछि अन्य प्रदेशमा पनि शुरु गरिने विभागको तयारी छ ।