लोकतन्त्र प्राप्तिसँगै नेपालमा राजनीतिक आवरणका अपराधजन्य घटना बढ्दै गएका छन् । नेपाल प्रहरीले तयार गरेको गोप्य प्रतिवेदनमा उल्लिखित तथ्याङ्कअनुसार पहिले सामान्य र फाटफुट मात्रामा हुने अपराधका घटना लोकतान्त्र प्राप्तिपछि एक्कासि बढेर गएको छ । अपहरण, चन्दाआतङ्क, तस्करी, लागूऔषधजस्ता आपराधिक घटनाहरू लोकतन्त्र बहालीपछि बढेका छन् । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार यस्ता अपराधमा संलग्न अपराधीहरू राजनीतिक नेतृत्वको दबाबका कारण सजिलै छुट्ने गरेका छन् । गम्भीर प्रकृतिको देखियो र छाड्दा प्रहरी सङ्गठनको बद्नाम हुने भयो भने मात्र प्रहरीले लामो समयसम्म नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाउने गरेको नत्र बीचैबाट छाडिदिने गरेको छ ।
स्रोतका अनुसार आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई छुटाउनका लागि सबैजसो राजनीतिक दलका नेताहरूले दबाब दिने गरेका छन् । एक वरिष्ठ प्रहरी अधिकृतले भने, ‘चार–पाँच वर्षयता अपराधमा संलग्न व्यक्तिहरूलाई माओवादी नेतृत्वको दबाबमा नियन्त्रणमा लिएको केही समयपछि नै छाड्नुपरेको छ ।’
एकीकृत माओवादी अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष झलनाथ खनाल, मधेशवादी मोर्चाका नेतालगायतले फोन गरेर विगतका वर्षहरूमा जस्तो आक्रामक नबनी फलानो मेरो मान्छे हो त्यसलाई छाडिदिनुभए हुन्थ्यो भन्दै प्रहरीका अधिकृतहरूलाई भन्ने गरेका छन् । प्रहरी प्रधान कार्यालय अपराध नियन्त्रण महाशाखा स्रोतका अनुसार राजनीतिक नेतृत्वको दबाबका कारण केही अपराधीलाई त समातेको केही समयमै छोड्नुपर्छ । अपराधी छुटाउनका लागि सबैभन्दा बढी माओवादी अध्यक्ष प्रचण्ड, गृहमन्त्री विजयकुमार गच्छदार, एमाले उपाध्यक्ष वामदेव गौतम, काङ्ग्रेस नेता शेरबहादुर देउवा, एमाले नेता केपी ओलीलगायतले फोन गरेर दबाब दिने गरेका छन् । काङ्ग्रेस सभापति सुशील कोइरालाले भने अपराधीहरूलाई छाड्नुपर्यो नभने पनि उनका सहयोगीहरूले बेलाबेलामा भन्ने गरेको एक प्रहरी अधिकृतले बताए । प्रहरी प्रवक्ता विनोद सिंहले पनि राजनीतिक अवरणमा अपराध गर्ने गरेको जानकारी दिए । ‘राजनीतिक पार्टीको सदस्यता लिएका व्यक्तिहरू खुला रूपमा आपराधिक कार्यहरूमा संलग्न रहेको पाइन्छ,’ उनले भने, ‘राजनीतिक नेतृत्वको आडमा अपराध गर्ने र नेताहरूकै शरण पर्ने गरेका छन्, तर, प्रहरीले तिनीहरूलाई पनि बाँकी राखेको छैन ।’ प्रवक्ता सिंहका अनुसार लोकतन्त्रको प्राप्तिअघि अहिलेको जस्तो अपराधका घटना हुँदैनथे । उनले भने, ‘अहिले नियोजित रूपमा पनि अपराधको घटना घटिरहेको देखिन्छ । अहिले अपराध गरेर लुक्नलाई सजिलो भएकोले पनि अपराधीहरू मौलाइरहेका छन् ।’
‘अपराधीहरूलाई छुटाउन पहिले निर्देशनात्मक आदेश आउँथ्यो, अहिले अनुरोध आउँछ,’ प्रवक्ता सिंहले भने, तर दबाबको भरमा कुनै पनि अपराधीलाई छोडिएको छैन । भएका कानुनलाई पनि प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसक्दा धेरै अपराधीहरू सजिलै उम्किएको पनि उनको भनाइ थियो । विगतका तुलनामा प्रहरी सङ्गठन अपराध नियन्त्रण गर्न सक्षम देखिए पनि अझै धेरै अपराधी बाहिरै रहेका र तिनीहरू पनि केही समयपछि नियन्त्रणमा आउने प्रवक्ता सिंहको भनाइ थियो । केही अपराधका घटनामा प्रहरी अधिकारीहरूकै संलग्नता देखिएको जानकारी गराउँदै सिंहले भने, ‘तर, हामीले त्यस्ता प्रहरी अधिकारीलाई पनि कानुनी कारबाही गरेका छौँ ।’
अपराध महाशाखाका अनुसार चन्दाआतङ्क, ठगी, तस्करी, लागूऔषध, कर्तव्यजँन, डाँका, सार्वजनिक अपराध, जबर्जस्ती करणी, मानव बेचविखनजस्ता घटना लोकतन्त्र प्राप्तिपछि राम्रैसँग मौलाएको तथ्याङ्कमा उल्लेख छ । तर, धेरैजसो केसमा मुद्दा नै नलगाई छोड्नुपरेकोले त्यस्ताको विवरण राख्ने गरिएको छ । तथ्याङ्कअनुसार ठगी, लागूऔषध, अपहरणजस्ता मुद्दाहरू ०६४ सालयता दुईदेखि तीन सयको हाराहारीमा वृद्धि हुँदै गएको छ । तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा एघार सय ७३ वटा मात्र लागूऔषधका मुद्दा थिए तर चालू आर्थिक वर्षको जेठ महिनामै यो सङ्ख्या बढेर १५ सय ६५ पुगेको छ । तर, चोरीका घटनामा भने एकाएक कमी आएको छ । सामान्य चोरीका घटनाबाहेक अरू देखिँदैन । जबर्जस्ती करणी उद्योगमा गत वर्षभन्दा २० प्रतिशतको दरले वृद्धि भएको छ । सार्वजनिक अपराध तथा चन्दा सङ्कलनका घटना पनि ह्वातै बढेका छन् । त्यस्तै कर्तव्यज्यान, ज्यान मार्ने उद्योग, हातहतियार खरखजानाजस्ता अपराधमा पनि विगतका तुलनामा निकै वृद्धि भएको छ । प्रहरीका एक अधिकारीले भने, ‘अपराधका धेरै घटनाहरू प्रहरीले तथ्याङ्कमा नै समावेश गर्ने गरेको छैन ।
२०६४ साल यताको वार्षिक अपराध तथ्याङ्क
०६३/०६४ ०६४/०६५ ०६५/०६६ ०६६/०६७ ०६७/०६८ ०६८/०६९ (जेठसम्मको)
सुनडाँका २८ २४ १४ १८ ५ ६
कर्तव्य ज्यान ७१० ७५८ ८६९ ८७५ ८७६ ७१०
ज्यान मार्ने उद्योग २९४ २७४ ४४० ५८८ ५५४
झुन्डिएर १४९० १६३७ १७२४ १८३६ २१०४ २२१२
डुबेर ३१ ४२ ३२ ६८ ६५ १७
डाँका ११० २३३ २४६ १६० १६८ १४७ ११०
चोरी ५८५ ५२७ २३ ७३० १२ ६
ठगी ११७ १२७ १२१ १५६ २६३ २३५
जुवा ४ ० ११ ३६ १०४ ११३
लागूऔषध ३१५ ४८३ ५५१ ८७१ ११७३ १५६५
चन्दा सङ्कलन ९ ५ २१ ४६ २३ १६
केही सार्वजनिक अपराध २२०३ २५९१ ३३५० ४१६९ ४१६९ ५५९४ ५६६३
मानव बेचबिखन १०९ १२३ ३३९ १६१ १८३ १०५
जबर्जस्ती करणी ३१७ ३०९ ३९१ ३७९ ४८१ ५०३
जबर्जस्ती करणी उद्योग ७० ७३ ७५ १०३ १५१ १७३
आगलागी ९९ ५७ ५७ ८७ ४५ ७१
हातहतियार खरखजाना २१२ ४८० ४८० ४६३ ४१४ ३६१
बम विस्फोट ० ८ ८ ८ ४ १०
स्रोत ः प्रहरी प्रधान कार्यालय नक्साल
प्रतिक्रिया