ढालेको खसी छोडेर भागे शालिकराम

ढालेको खसी छोडेर भागे शालिकराम


निर्वाचन आयोगको फितलोपनका कारण आचारसंहिता उल्लंघनका घटना एकपछि अर्को घटिरहेका छन् । निर्वाचनअघिको ‘मौन अवधि’को समेत अवज्ञा गरेका समाचारहरू सुनिएका छन् ।

यसै क्रममा वाम–गठबन्धनबाट प्रदेस सभा सदस्यमा उम्मेदवारी दिएका धादिङका विवादस्पद माओवादी नेता शालिकराम जम्कट्टेलले शनिबार राती निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै खसी काटेर भोज खुवाउन लाग्दा काटेको खसी नै छोडेर भाग्नुपरेको समाचार प्राप्त भएको छ ।

बताइएअनुसार आफ्नो पक्षमा भोट पार्नका लागि धादिङको गजुरी गाउँपालिकामा पर्ने राइगाउँमा शनिबार राती जम्कट्टेलले दुईवटा खसी काटेर मदिरासहितको भोज खुवाउने तयारी गर्दै थिए । तर, आचारसंहिताविपरीतको उक्त अनैतिक कार्यबारे निर्वाचन सुरक्षामा खटिएका प्रहरीहरूले सुइँको पाएपछि तत्काल जम्कट्टेलले भोज लगाउन थालेको स्पटमै प्रहरी पुगेको थियो ।

त्यसरी प्रहरी आएको थाहा पाएपछि काटिसकेको दुईवटै खसी छोडेर शालिकरामसहति उनको प्रचार–समूह सुइँकुच्चा ठोकेको थियो । काटेको खसी प्रहरीले प्रमाणका रूपमा बरामद गरेको बताइएको छ ।

ज्ञातव्य छ, सो क्षेत्रमा शालिकराम जम्कट्टेलको प्रतिष्पर्धीका रूपमा नेपाली काङ्ग्रेसका उम्मेदवार प्रभातकिरण सुवेदी ‘शिव’ रहेका छन् ।