माओवादी नेता रायको सांसद उम्मेदवारी खारेज

माओवादी नेता रायको सांसद उम्मेदवारी खारेज


माओवादी केन्द्रका उमेदवार शिवपूजन रायको उम्मेदवारी रद्द भएको छ । कुटनीतिक राहदानीको दुरुपयोग गरेको अभियोगमा विशेष अदालतबाट सजाय पाएका उनको उम्मेदवारी खारेज गरिएको हो ।

निर्वाचन आयोगले सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ का माओवादी उम्मेदवार राय विरुद्ध परेको उजुरीको बारेमा निर्णय गर्दै उनको उम्मेदवारी खारेज गरेको हो ।

पहिलो संविधानसभामा सदस्य रहेका राय आफूले पाएको कुटनीतिक राहदानीको दुरुपयोग गरेको अभियोगमा विशेष अदालतबाट सजाय पाएका थिए ।

उनीविरुद्ध सोही क्षेत्रका स्वतन्त्र उमेदवार गणेशकुमार सिंहले जिल्लामा र अर्का स्वतन्त्र उमेदवार अनिलकुमार सिंहले कात्तिक १९ गते आयोगमा निवेदन दर्ता गराएका थिए ।

आयोगले प्रतिनिधिसभाको निर्वाचन ऐनअनुसार रायको उम्मेदवारी खारेज गरिएको र सोको जानकारी सम्बन्धित निर्वाचन अधिकृत र उम्मेदवार रायलाई जानकारी गराउने निर्णय गरेको छ ।

विशेष अदालतले २०७२ साउन २६ गते कुटनीतिक राहदानी (सरकारी कागजात) सच्याई हेरफेर गरी अनाधिकृत मानिस विदेश पठाई भ्रष्टाचार गरेको फौजदारी अभियागमा रायलाई ४ महिना कैद र १५ हजारको जरिवानाको फैसला गरेको थियो । उक्त मुद्दा अहिले सर्वोच्चमा विचाराधीन छ ।

आयोगले शनिबारकै मितिमा रायको उम्मेदवारी रद्द भएको निर्णय गरेपनि आइतबारसम्म सार्वजनिक गरेको छैन ।