प्रमुख तीन दल दोस्रो चरणको चुनावी तयारीमा होमिएका छन् । सत्तारुढ दल नेपाली कांग्रेस दोस्रो चरणको चुनावी तयारीमा होमिदैं पहिलो चरणमा उम्मेदवार बनेका आफ्ना नेतालाई आवश्यकताअनुसार दोस्रो चरण निर्वाचनका लागि खटाउने तयारीमा छ ।
कांग्रेस निर्वाचन परिचालन समितिका अनुसार आवश्यकताअनुसार प्रतिनिधिसभाका ३५ सहित प्रदेश सभाका उम्मेदवारलाई बाँकी ४५ जिल्लामा खटाउने तयारी गरिएको छ ।
पहिलो चरणको निर्वाचन भए पनि मतगणना दोस्रो चरणको निर्वाचनपछि मात्र हुने भएकाले उम्मेदवार भइसकेका नेतालाई पनि प्रचारमा खटाएर पार्टीका पक्षमा थप माहोल बनाउने नीति कांग्रेसले लिएको बताइन्छ ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको दोस्रो चरणको निर्वाचनसम्मै देश दौडाहाको व्यस्त तालिका छ । सोमबार तेह्रथुम, सुनसरी, झापामा हुने चुनावी सभालाई सम्बोधन गर्न देउवा त्यसतर्फ जाने कार्यक्रम छ ।
१२ मंसिरमा कपिलवस्तु र दाङ, १३ मंसिरमा स्याङ्जा बजार, कास्कीको अमरसिंह चोक, नवलपरासीको चुनावी सभालाई सम्बोधन गरेपछि सोही दिन काठमाडौंको महाराजगन्जमा हुने सभालाई सम्बोधन गर्न उनी आउने कार्यक्रम छ ।
१४ मंसिरमा सर्लाही, सिरहा, महोत्तरीमा कार्यक्रम सकाएपछि कैलाली र कञ्चनपुरको चुनावी सभालाई सम्बोधन गर्न पुग्नेछन् । त्यसपछि डोटी र अछामको कार्यक्रममा व्यस्त हुने देउवा १७ देखि २१ मंसिरसम्म गृहजिल्ला डडेल्धुरामै व्यस्त हुनेछन् । डडेल्धुरामा भोट हालेपछि प्रधानमन्त्री काठमाडौं फर्किने कार्यक्रम तय भएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए ।
यता, एमाले पनि दोस्रो चरण चुनावमा होमिएको छ । यसैक्रममा पहिलो चरणको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा उम्मेदवार भएका एमाले शीर्ष नेता दोस्रो चरणको निर्वाचनमा केन्द्रित हुने भएका छन् । पहिलो चरणमा उम्मेदवार भएका योगेश भट्टराई, शेरधन राई, पृथ्वी सुब्बा गुरुङ, अरुण नेपाल, राजेन्द्र पाण्डेलगायत नेता चुनावी प्रचारप्रसारमा खटिनेछन् ।
एमालेबाट पहिलो चरणभन्दा दोस्रो चरणको निर्वाचनमा धेरै शीर्ष नेता छन् । यता, पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै माओवादी केन्द्रका सबै शीर्ष नेता दोस्रो चरणको निर्वाचन प्रचारप्रसारमा केन्द्रित हुने भएका छन् । माओवादीले पहिलो चरणमा निर्वाचन भएका जिल्लाका उम्मेदवार कहाँ–कहाँ खटिने भन्ने विषयमा निर्णय नगरेको नेताहरु बताउछन् ।
पहिलो चरणमा उम्मेदवार भएका नेता बस्नेत, वर्षमान पुन, जनार्दन शर्मा, अग्नि सापकोटा, कृष्णबहादुर महरालगायत नेता दोस्रो चरणको निर्वाचनको प्रचारप्रसारमा खटिने माओवादी स्रोत बताउछ ।
प्रतिक्रिया