पूर्व सभामुखको आकलन : खर्चालु चुनावले युवा भ्रष्टचारी !

पूर्व सभामुखको आकलन : खर्चालु चुनावले युवा भ्रष्टचारी !


पूर्वसभामुख तथा नेपाली काँग्रेसका नेता दमननाथ ढुंगानाले खर्चलु चुनावले युवा भ्रष्टाचारी हुने आकलन गरेका छन् ।

मंसिर २१ गते मुलुकभर हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सन्दर्भमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै ढुंगानाले खर्चालु चुनावलाई नरोक्ने हो भने युवा भ्रष्ट हुने र कालान्तरमा समाजमा निष्ठाको राजनीति हराउँदै जाने बताए ।

उनले राजनीतिमा देखिएको विकृतिलाई हटाउन, संविधान र संघीयता कार्यान्वयन गर्न र छुटेका विषयलाई संविधानमा उल्लेख गरी भ्रष्टाचारमुक्त समतामूलक समाजको निर्माणका लागि आफू नेपाली काँग्रेसको उम्मेदवार भएको बताए । उनले राजनीतिलाई पेशा नबनाउन दलका नेतासँग आग्रह समेत गरे ।

नेपाली काँग्रेस, बालकोट इकाइ समितिद्वारा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले राजनीति कमाइ गर्ने पेशा नभई सामाजिक सेवा भएकाले राजनीतिबाट कमाउन चाहनेले राजनीतिलाई प्रदूषित हुनबाट जोगाउनुपर्ने बताए ।

चुनावीसभामा उपस्थित जनसमुदायलाई सम्बोधन गर्दै उनले निर्वाचनमा हारजित जुनसुकै पक्ष विपक्षको भए पनि राजनीतिभित्र भ्रष्टाचार मौलाउँदै गएकाले नैतिक चरित्र बोकेका नेतालाई मतदान गर्न आग्रह गरे ।

उनले निष्ठा, पारदर्शिता र चरित्रवान नेताको समाजमा अभाव देखिएकाले नेताप्रति जनताको विश्वास घट्दै गएको बताए ।

काँग्रेसको नेतृत्वमा लोकतान्त्रिक गठबन्धन भक्तपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारसमेत बनेका पूर्वसभामुख ढुंगानाले माओवादी र सरकारबीच मध्यस्तकर्ता भई माओवादीलाई वार्तामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरे ।