पहाड र तराई जोड्दैछ चितवन क्षेत्र नं २

पहाड र तराई जोड्दैछ चितवन क्षेत्र नं २


सूर्योदय अवलोकन गर्न सकिने जिल्लाकै सबैभन्दा अग्लो पहाड सिराइचुलीदेखि प्रमुख शहर नारायणगढसम्म फैलिएको चितवन क्षेत्र नं २ मा यसै क्षेत्रका दुई पूर्व सांसद चुनावी मैदानमा प्रतिस्पर्धा गरिरहनुभएको छ । गिठ्ठा भ्याकुर खाएर जीविकोपार्जन गर्ने चेपाङदेखि चिल्ला गाडीमा गुड्ने धनाड्यसम्म रहेको यस क्षेत्र भौगोलिक हिसाबले विविधताले भरिएको छ । लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनको दुई अनुभवी हस्ती एक अर्कालाई पराजित गर्न लागिपरेका छन् ।

लोकतान्त्रिकतर्फ उम्मेदवार पुराना राजनीतिकर्मी र हालका शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी हुनुहुन्छ भने वाम गठबन्धनका उम्मेदवार कानून व्यवसायी कृष्णभक्त पोख्रेल हुनुहुन्छ । यसअघिको क्षेत्र विभाजनमा चितवनमा पाँच निर्वाचन क्षेत्र रहेका थिए । हाल तीन क्षेत्रमा खुम्चिएको छ । त्यतिबेलाको क्षेत्र नं २ बाट दोस्रो संविधानसभाको सदस्यमा अधिकारी र ३ नं बाट पोख्रेल निर्वाचित हुनुभएको थियो ।

हाल यी दुवै क्षेत्रका धेरै भूभाग समेटेर क्षेत्र नं २ बनेको हो । जहाँ दुईजना कडा प्रतिस्पर्धामा हुनुहुन्छ । प्रदेशतर्फ लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ र महासमिति सदस्य प्रकाश अधिकारी हुनुहुन्छ भने वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका घनश्याम दाहाल र नेकपा ९एमाले०का विजय सुवेदी प्रतिस्पर्धामा हुनुहुन्छ ।

लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अधिकारीले चितवनलाई वित्तीय राजधानी बनाउने संकल्प गर्नुभएको छ । उहाँले भन्नुभयो “चितवन औद्योगिक क्षेत्रका लागि उपयुक्त ठाउँ भएकाले वित्तीय राजधानी बनाउन सकिन्छ । आफूलाई यहाँका जनताले जिताए चितवनलाई वित्तीय राजधानी बनाएर छोड्ने छु ।” नारायणगढको बस्ती नहटाई वैकल्पिक सडक विस्तार गर्ने आफ्नो एजेण्डा रहेको उहाँले बताउनुभयो ।

नारायणगढ बजार व्यवस्थापन, नदीको उचित व्यवस्थापन, नारायणगढमा आकाशे पुल साथै औद्योगिक वातावरण निर्माण गरी समृृद्ध चितवन बनाउने अधिकारीको प्रतिबद्धता रहेको छ ।

भरतपुर अस्पताललाई मेडिकल कलेज बनाउने, वीरेन्द्र क्याम्पसलाई प्रादेशिक विश्वविद्यालय बनाउने, उपरदाङगढी र इच्छाकामना मन्दिरलाई जोड्न केबलकार सञ्चालनको व्यवस्था मिलाइने, प्रत्येक वडामा शुद्ध खानेपानीको व्यवस्था गर्ने, देवघाटलाई धार्मिक पर्यटकीय क्षेत्रको प्रमुख गन्तव्य बनाइनेलगायतका सयौँ प्रतिबद्धता अधिकारीका छन् ।

वाम गठबन्धनका उम्मेदवार पोख्रेलले चितवनलाई दोस्रो पर्यटकीय गन्तव्य बनाउने प्रतिबद्धता अगाडि सार्नुभएको छ । पोखरेलले जनताको आवश्यकतालाई प्राथमकिताका आधारमा काम गर्दै चितवनलाई पर्यटकीय दृष्टिले विकास गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो “नारायणी नदीमा ¥याफ्टिङको विकास गरेर धेरै पर्यटक भित्र्याउन सकिन्छ, मैले जितेँ भने नारायणी नदीको उचित र सही तरिकाले व्यवस्थापन गर्छु ।” पहाडी क्षेत्रमा रहेका विभिन्न मार्गको स्तरोन्नति गर्ने, नारायणी पुललाई भार नपर्ने गरी अन्य ठाउँमा पुल निर्माण गर्ने, देवघाट, इच्छाकामना मन्दिरलाई देशकै प्रमुख धार्मिक पर्यटकीय क्षेत्र बनाउने, भरतपुरलाई मेडिकल सिटीका रुपमा विकास गर्ने, भरतपुरलाई देशकै शैक्षिक केन्द्र बनाउनेलगायतका प्रतिबद्धता पोख्रेलले राख्नुभएको छ ।

क्षेत्र नं २ मा एक लाख आठ हजार २१९ मतदाता छन् । यहाँ ४३ वटा मतदानस्थल तोकिएको छ । यो क्षेत्र कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाको वडा नं १, २, ३, ४, ५, ७, १०, ११, १२ र २९ वडा समेटिएका छन् ।

इच्छाकामना गाउँपालिकामा स्थानीय तहको चुनावमा काँग्रेसले जितेको थियो । लोकतान्त्रिक र वाम गठबन्धनको मत जोड्दा वाम अगाडि देखिएको छ । स्थानीय तहको चुनावमा यस गाउँपालिकामा वाम गठबन्धनले पाँच हजार ५०७ मत ल्याएको थियो ।

लोकतान्त्रिक गठबन्धनले तीन हजार २९१ मत ल्याएको थियो । कालिका नगरपालिकामा वाम गठबन्धनले नौ हजार ९७६ र लोकतान्त्रिकको मत सात हजार ८३ रहेको छ । भरतपुर महानगरपालिकाको १० वटा वडामा वाम गठबन्धनको २३ हजार २१८ र लोकतान्त्रिक गठबन्धनको मत १६ हजार १६५ छ ।

एमालेले २७ हजार ६३८ र माओवादीले ११ हजार ६०४ मत ल्याएको थियो । यसैगरी नेपाली काँग्रेसले २४ हजार ७५५ र राप्रपाले एक हजार ७५४ मत प्राप्त गरेका थिए । क्षेत्र नं २ मा लोकतान्त्रिकभन्दा वामपन्थी गठबन्धन १२ हजार ७३३ मतले अगाडि छ ।

काँग्रेसले स्थानीय तहको चुनावमा हेरेर मात्र अहिलेको चुनाव आँकलन गर्न नमिल्ने बताएको छ । काँग्रेसले क्षेत्र नं २ मा आफू निकै बलियो रहेको बताउँदै जित सुनिश्चित भएको दाबी गरेको छ ।

वाम गठबन्धनले सोचेको भन्दा उल्टो नतिजा आउने काँग्रेसको दाबी छ । यता वाम गठबन्धनले पनि स्थानीय चुनावलाई हेर्दा आफ्नो जित्ने आधार बलियो बनेको बताएको छ ।

– (रासस, नारायण अधिकारी)