युवाहरुको घरदैलो अभियान

युवाहरुको घरदैलो अभियान


संयुक्त बाम गठबन्धन युवा परिचालन कमिटी कञ्चनरुप (राजविराज)ले सोमबारदेखि कञ्चनरुपमा युवा घरदैलो अभियान सुरु गरेको छ । अभियानको उद्घाटन गर्दै नेकपा (एमाले) केन्द्रीय सदस्य सुमनराज प्याकुरेलले नीति, सिद्धान्त राम्रो नभए देशको उन्नती, प्रगती र विकास नहुने भन्दै विभिन्न सरकारका पालामा देश र जनताका लागि आएको कार्यक्रमको मूल्यांकन गर्नुपर्ने बताए ।

पटक पटक सत्ताको अवसर पाएको कांग्रेस जहिल्यै पनि सामन्ती र जमिन्दारको हितमा रहेकोले गरिब, निमुखा, श्रमजिवीको हितका लागि एमालेकै सरकारले मात्र उत्साहबद्र्धक कार्यक्रम ल्याएको उनले दाबी गरे ।

पूर्व उपसभामुख एवं एमालेका समानुपातिक उम्मेदवार गंगाप्रसाद यादवले हिमाल, पहाड र तराईका जनतालाई एक सुत्रमा बाँधी देशको समद्धि र विकास गर्ने पार्टी एमाले नै भएको बताए । उनका अनुसार काँग्रेस र मधेसवादी दलका नेताहरु देशलाई अगाडि बढाउनुको साटो जनतालाई फुटाएर सदैव शासन गर्न चाहन्छन् । मधेसको विरोधी अरु कोही नभई मधेसवादी दलका नेताहरु नै रहेको दावी गर्दै यादवले मधेसी जनतालाई जालझेलमा पारी शोषण गर्ने बाहेक मधेसकेन्द्रीत दलका नेताहरुले मधेस र मधेसीको हितमा कहिल्यै केही गर्न नसकेको बताए ।

माओवादीका केन्द्रीय सदस्य सन्तोष खतिवडाले नेपाली जनता र राष्ट्रको हितमा बाम गठबन्धनले मात्र काम गर्ने भएकाले एकीकरणको आवश्यक्ता रहेको बताए । जनताको भाग्य र भविष्य निर्माण गर्ने सुनौलो अवसर आसनन चुनाव भएकाले युवाहरुको सक्रिय भूमिका महत्वपूर्ण हुने उनले बताए ।

युवा परिचालन कमिटीका अध्यक्ष लक्ष्मी मण्डलको अध्यक्षतामा सम्पन्न अभियानमा कञ्चनरुप नगरपालिका प्रमुख बसन्त मिश्र, माओवादीका नेता प्रदिप बस्नेत, एमालेका नेता कलिम मियाँलगायतले मन्तव्य राखे ।

– हेमशंकर सिंह