निराश हुँदै पारस चढे हेलिकोप्टर

निराश हुँदै पारस चढे हेलिकोप्टर


हत्या गरेको अभियोग प्रमाणित भई अदालतद्वारा पक्राउ आदेश जारी भएका एक माओवादी सभासद्लाई पक्राउ गर्न नसके पनि सरकारले हवाई फायर गरेको आरोपमा पूर्वयुवराज पारसलाई नियन्त्रणमा लिई बयान लिने ‘साहसिक’ कार्य गरेको छ । यसअघि प्रचण्ड थैव, रामहरि श्रेष्ठ र छवि कार्कीलगायतका व्यक्तिहरूको हत्यारालाई कारवाही गर्न नसक्ने सरकारले पूर्वयुवराजमाथि कारवाहीको प्रक्रिया जसरी अगाडि बढाएको छ, त्यसले सम्पूर्ण देशवासीहरूलाई चकित तुल्याएकोछ । शक्तिहीन भइसकेका पूर्वयुवराजलाई पोखरास्थित फूलबारी होटलमा बसिरहेको अवस्थामा प्रहरी नियन्त्रणमा लिई मंगलबार अपराह्न हेलिकोप्टरबाट चितवन पुर्‍याइएको छ । गृह मन्त्रालयबाट पूर्वयुवराजलाई नियन्त्रणमा लिई आवश्यक कारबाही अघि बढाउन निरर््र्देशन भएपछि मंगलबार जिल्ला प्रहरी कार्यालयका प्रमुख पुष्कर कार्कीको नेतृत्वमा एक टोली पारस बस्नुभएको फूलबारी होटलमा पुगेको थियो । तर, उहाँले आफ्नो वकिल उपस्थित भएपछि मात्र बयान दिने अडान लिएर बस्नुभएका कारण प्रहरीले त्यहाँ बयान लिन सकेन । लामो प्रतीक्षापछि अपराह्न हेलिकोप्टरमार्फत पूर्वयुवराजलाई प्रहरीले चितवन पुर्‍याएको थियो । उहाँलाई लिएर प्रहरीको अञ्चल प्रमुख केशव अधिकारी हेलिकोप्टरमा चितवनसम्म जानुभएको थियो । चितवन प्रस्थान हुनुअघि पूर्वयुवराजका समर्थकहरू फूलबारी होटल परिसरमा जम्मा भएका थिए । उनीहरूले प्रदर्शनको तयारी गरेपछि प्रहरीले लाठीचार्ज गरी भीडलाई तितरबितर गरेको थियो । पारसको गिरफ्तारीलाई लिएर चितवन र पोखरामा विरोध प्रदर्शनसमेत भएको बुझिएको छ । पूर्वयुवराज बस्नुभएको होटल फूलबारीमा प्रहरी प्रवेश गरेपछि उहाँ केही निरास र दुःखी बन्नुभएको थियो । एसपी पुष्कर कार्कीले आफूहरू माथिको आदेशबमोजिम नियन्त्रणमा लिन आएको बताउनुभएपछि पारसले आफूबाट कुनै गल्ती नभएको बताउँदै बयान दिन र चितवन जान अस्वीकार गर्नुभएको थियो । लामो समयसम्म एसपी पुष्कर र परास शाह बाहिर ननिस्कनुभएपछि प्रहरीको अञ्चल प्रमुख केशव अधिकारी होटलमा प्रवेश गर्नुभएको थियो । अधिकारीले आफू गिरफ्तार गर्न आएको बताउनुहुँदा पारसले चितवन जान अस्वीकार गर्नुभएको थियो । घरी कोठामा ओहोरदोहोर गर्ने र पटकपटक बाथरुम जाने गर्नुभएका पूर्वयुवराजलाई अधिकारीले कुनै पनि हालतमा चितवन जानैपर्ने बताउनुभएपछि उहाँले आफू गाडीमा जान नसक्ने स्थितिमा रहेको जानकारी गराउनुभएको थियो । त्यसपछि होटलमा फिस्टेल एयरको हेलिकोप्टर अवतरण गराइयो । हेलिकोप्टर पुगेपछि पनि उहाँले प्रमुख जिल्ला अधिकारी र प्रहरी होटलमै आएर बयान लिइदिन आग्रह गर्नुभएको थियो । तर, एसएसपी अधिकारीले ढिला भएमा हेलिकोप्टर उड्न नसक्ने र आफूले राति गाडीमै भए पनि चितवन पुर्‍याउनैपर्ने जानकारी गराउनुभएपछि चार घन्टापश्चात् पूर्वयुवराज बडो गह्रौं मनले हेलिकोप्टर पार्किङ गरिएको ठाउँतर्फ जान तयार हुनुभएको थियो । पूर्वयुवराजमाथि उपप्रधामन्त्री सुजाता कोइरालाका ज्वाइँ रुवेल चौधरी -बंगलादेशी नागरिक) माथि गोली प्रहार गर्न खोजेको आरोप लागेको छ । उपप्रधानमन्त्री सुजाता कोइरालाका ज्वाइँ चौधरीमाथि भएको घटनालाई लिएर नेपाली काङ्गे्रसका सभापति सुशील कोइरालाले पूर्वयुवराज पारसमाथि कारबाही गर्न सरकारसँग माग गर्नुभएको थियो । कोइरालाको जोडदार माग भएपछि पहिले आवश्यक छानबिन गरेर मात्र कारबाही प्रक्रिया अघि बढाउने पक्षमा रहेको सरकार मंगलबार अचानक तातेको र छानबिनको रिपोर्ट नआउँदै प्रहरी नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाउने निष्कर्षमा पुगेको थियो ।
मंगलबार साँझ पूर्वयुवराजलाई चितवनस्थित प्रहरी तालिम केन्द्रमा राखिएको छ । उहाँको बयान बुधबार -आज) सुरु हुने बताइएको छ । उहाँको बयान वकिलको सहयोगमा हुने पनि बुझिएको छ ।
पारसलाई प्रहरीले नियन्त्रणमा लिएपछि मुलुकमा ठूलो कम्पन पैदा भएको छ । पूर्वराजपरिवारका समर्थकहरूले यस घटनालाई सरकारको पूर्वाग्रहपूर्ण कार्य भएको ठानेका छन् । उनीहरूले दिनप्रतिदिन ‘लोकप्रिय’ हुँदै गएको पूर्वराजपरिवारको साख गिराउन षड्यन्त्र रचिएको आरोप पनि लगाएका छन् । सरकारले भने देशमा कानुनी राजको आभास दिलाउन पारसलाई प्रहरी नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाइएको दाबी गरेको छ । सरकारको कदमलाई जनस्तरले बडो अभिरुचिपूर्वक हेरेको छ । जसरी पारसमाथि सरकार जाइलाग्यो त्यसैगरी हिंसात्मक गतिविधिमा संलग्न अन्यलाई पनि कारवाहीको दायरामा ल्याउन सरकारले कति साहश गर्न सक्छ जनताको चासोको विषय बनेको छ ।