बामपन्थीले मुलुकलाई विभाजनतिर लगेको देउवाको आरोप

बामपन्थीले मुलुकलाई विभाजनतिर लगेको देउवाको आरोप


– रेजिना गौतम

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवाले एकदलीय कम्युनिष्ट अधिनायकवाद मुलुकका लागि स्वीकार्य नहुने बताएका छन् । झापाको गौरादहमा आज कांग्रेस क्षेत्रीय समितिले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले नेकपा एमाले र माओवादी केन्द्रले सत्ता स्वार्थका लागि बाम गठबन्धन गरेर मुलुकलाई विभाजनतर्फ उन्मुख गराएकाले त्यसलाई नेपाली जनताले स्वीकार गर्न नसक्ने दाबी गरे । लोकतन्त्र र संविधान समाप्त पार्ने उद्देश्यले बाम गठबन्धन भएको दावी देउवाको भनाई थियो ।

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मूलतः एकदलीय कम्युनिष्ट वा लोकतन्त्रवादी दुईमध्ये एकलाई रोज्ने अवसर भएको तर्क गररे । प्रधानमन्त्री समेत रहेका देउवाले लोकतन्त्र विना मुलकले समृद्धि नपाउने भएकाले जनताले लोकतन्त्रका पक्षधरलाई जिताउनेमा जोड दिए ।

चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बाम गठबन्धनलाई अनिष्टको संज्ञा दिंदै त्यसको औचित्य नभएको टिप्पणी गरे । बामगठबन्धनप्रति कडा रुपमा प्रस्तुत भएका नेता पौडेलले नेपाली जनतालाई झुक्याएर साम्यवादको सपना नदेख्न गठबन्धनलाई चेतावनी दिए ।

स्थानीय गौरादह बजारमा आयोजित चुनावी सभामा कांग्रेस केन्द्रीय सदस्य भिष्मराज आङदेम्बे, कांग्रेसबाट झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. खगेन्द्रपाण्डव अधिकारी, प्रदेश सभाका उम्मेदवारद्वय अनिलकृष्ण प्रसाई, राजनकुमार ढुंगाना, गौरादह नगरपालिकाका प्रमुख रोहित शाहलगायतले लोकतन्त्र र मुलुकको समृद्धि अभियानका लागि कांग्रेसलाई विजयी गराउन आग्रह गरे ।

सभामा कांग्रेस निर्वाचन परिचालन समितिका केन्द्रीय सदस्य पदम पौडेल, कांग्रेस गौरादह नगर सभापति यादवराज सेढाई, महासमिति सदस्य फूलवती राजवंशी, शुरेस सुब्बा, क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी,राप्रपाका केन्द्रीय सदस्य दीलीप राई, भद्रपुर नगरपालिकाका पूर्व प्रमुख भारतेन्द्र मल्लिकलगायतले स्थानीय क्षेत्रको विकास र मुलुकको समृद्धिका लागि कांग्रेसलाई जिताउन अनुरोध गरेका थिए ।

त्यस अवसरमा नगरप्रमुख शाहले गौरादहको पर्यटकीय स्थलका रुपमा परिचित माछापोखरीको विकासको निम्ती नेपाल सरकारबाट सहयोगका लागि प्रधान मन्त्री देउवालाई ज्ञापन पत्र प्रस्तुत गर्नुभएको थियो । त्यस्तै, भुटानी शरणार्थीका अग्रज डा. भम्पा राईसहितको एक प्रतिनिधीमण्डलले भुटानी शरणार्थीको स्वदेश फिर्तीमा सहयोग पु¥याईदिन मागसहितको ज्ञापन पत्र प्रधानमन्त्री देउवालाई हस्तान्तरण गरेको थियो ।

यसैक्रममा, झापाको कमल गाउँपालिकामा रहेको रंगशालाको नामाकरण आदिवासी जनजाती रंगशाला नै हुने कांग्रेस नेताहरुले दाबी गरेका छन् । झापाको गौरादहमा सोमवार आयोजित चुनावी सभाका वक्ताहरुले रंगशाला निर्माणको क्रममा आदिवासी जनजातीहरुको चिहान उखेलेको ठाउँ भएकोले आदिवासी जनजातीहरुको पहिचान दिनको लागि पनि रंगशालाको नाउँ आदिवासी जनजाती रंगशालानै हुने कांग्रेस सभापती तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बताए ।

कांग्रेस नेपालमा रहेका सबै जातजातीहरुको पहिचानको सम्मान गर्ने पार्टि भएकोले रंगशालाको नाउँ आदिवासी जनजाती नै रहने उनले जानकारी दिए । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि आदिवासीहरुको चिहान उखेलीएको ठाउँको नाउँ आदिवासी रंगशाला नै हुने तर्क गरे ।

तत्कालीन तोपगाछी गाविसका अध्यक्ष पदम पौडेलले एमालेका वर्तमान अध्यक्ष केपी ओलीले मदन भण्डारीलाई विवादमा पार्नको लागि रंगशालामा उनको नाउँ जोडेको आरोप लगाए भने झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा उम्मेदवार खगेन्द्र पाण्डव अधिकारी, प्रदेसशभाका उम्मेदवारहरू राजन ढुंगाना र अनिल कृष्ण प्रसाईंले आफुहरुले निर्वाचन जितेपछि आदिवासी जनजाती रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउने प्रतिवद्धता व्यक्त गरे ।