– चन्द्रकान्त खनाल
सबै वर्ग र समुदायको अस्तित्व लोकतन्त्रमा मात्रै कायम रहने भएकाले अबको निर्वाचनमा नेपाली काङ्ग्रेसलाई जिताउन एक भएर लाग्ने धारणा भुपु सैनिकहरूले सार्वजनिक गरेका छन् ।
नेपाल भूतपूर्व सैनिक संघ रुपन्देहीले बुटवलमा आयोजना गरेको भेलाका वक्ताहरूले लोकतन्त्रको रक्षा गर्दै विकास र समृद्धिलाइ नेपाली काङ्ग्रेसले मुल मुद्धा बनाएकाले आसन्न निर्वाचनमा भूपु सैनिकहरूले काङ्ग्रेसका उम्मेदवारहरूलाई मत दिने बताएका हुन् । भूपूका माग र समस्यालाई नेपाली काङ्ग्रेसले सुरुदेखि नै सम्बोधन गर्दै आएकाले यसपालि पनि काङ्ग्रेसकै उम्मेदवारलाई मत दिएर जिताउन भूपू सैनिकका अगुवाहरूले आह्वान गरे ।
संघका अध्यक्ष खगेश्वर पुनले रुपन्देहीमा भएको अस्थाई भारतीय भूपू सैनिक पेन्सन क्याम्पलाई स्थायी बनाउनका लागि नेपाली काङ्ग्रेसले नेतृत्व गरेकाले जिल्लाका भूपूहरूले नेपाली काग्रेसलाई मतदान गर्ने निर्णय गरेको बताए ।
भारतीय सेनामा काम गरेर अवकास लिएका यस क्षेत्रका भूपूहरुलाई सुविधा दिने काममा नेपाली काङ्ग्रेसका नेता स्वर्गीय सूर्यप्रसाद प्रधानको नेतृत्वमा ०४६ सालमा बुटवल फूलबारीमा अस्थायी पेन्सन क्याम्प स्थापना गरिएको थियो ।
नेपाली काङ्ग्रेसका स्थानीय तथा केन्द्रीय नेताहरूले नेतृत्व गरेर उक्त अस्थायी पेन्सन क्याम्पलाई स्थायी बनाउका लागि आवश्यक नीतिगत कुरामा पहल गरि जग्गा समेत प्राप्त भएको संघका महासचिव कुलबहादुर केसी बताउँछन् । उक्त जग्गामा स्थायी पेन्सन क्याम्प निर्माणका लागि गत जेठमा नेपालका लागि भारतीय राजदुत मञ्जिव सिंह पुरीले शिलान्यास गरेका छन् । यसका लागि भारत सरकारले १२८ करोड भारु विनियोजन गरिसकेको बताइन्छ ।
पेन्सन क्याम्प स्थापनामा कम्युनिष्ट नेताहरुले सुरुदेखि नै विरोध गरेको र यसलाई रोक्न चलखेल हुनसक्ने आशंका व्यक्त गर्दै यसको पुर्णताका लागि काङ्ग्रेसका उम्मेदवारलाई जिताउनुपर्नेमा केसीले जोड दिए । सोही कार्यक्रमलाई सम्बोधन गर्दै काङ्ग्रेसबाट रुपन्देही क्षेत्र नं. २ का प्रतिनीधि सभा सदस्य उम्मेदवार युवराज गिरीले नेपाली नागरिकलाई सुविधासम्पन्न गराउने काममा नेपाली काङ्ग्रेस प्रतिबद्ध रहेको दाबी गरे ।
प्रतिक्रिया