प्रचण्डलाई कठिन बन्दै चितवन ३

प्रचण्डलाई कठिन बन्दै चितवन ३


चितवनको क्षेत्र नं ३ मा लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरूले निर्वाचन प्रचार अभियान तीव्र पारेपछि यस क्षेत्रबाट प्रतिनिधिसभाको सदस्यमा उम्मेदवारी दिएका बाम गठबन्धनका उम्मेदरवार एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई निर्वाचन जित्न सकस पर्ने देखिएको छ ।

चितवन क्षेत्र न ३ बाट प्रतिनिधि सभामा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बनेका राप्रपाका महामन्त्री विक्रम पाण्डे र नेपाली कांग्रेसका युवा नेता एवम् लोकतान्त्रिक गठबन्धनका चितवन क्षेत्र न ३ (क) का प्रदेश सभा सदस्यका साझा उम्मेदवार दिनेश कोइरालाले संयुक्त रूपमा भरतपुर महानगरपालिकाबाट प्रचार अभियान बढाएका छन् भने प्रदेशसभा (ख)का साजन महतोले माडीक्षेत्रबाट प्रचार अभियान अघि बढाएका छन् ।

भरतपुर महानगरको स्थानीय निर्वाचनमा प्रचण्डकी छोरी रेणुलाई नगरप्रमुख पदमा विजयी बनाउन गरिएका गैरलोकतान्त्रिक व्यवहारबाट महानगरका बासिन्दाहरु आजित छन् भने जनयुद्धकालमा बाँदरमुढेमा भएको निहत्था र निमुखा यात्रुसवार बसमा बम प्रहार गरी गरिएको नरसंहारको घाउ माडीवासीले अझै विर्सेका छैनन् । यसैले चितवन क्षेत्र नं ३ को निर्वाचन चितवनका मतदाताको विवेकको परीक्षाको रुपमा लिइएको छ ।

स्थानीय तह निर्वाचनमा छोरीलाई मेयर बनाउनेवित्तिकै त्यसको गुन विर्सेर एकीकृत कम्युनिष्ट पार्टीको निर्माण गरी त्यसका माध्यमबाट कम्युनिष्ट शासन सञ्चालन गर्ने सपना देखेका प्रचण्डलाई पराजयको स्वाद चखाउन स्थानीय तहको निर्वाचनमा जित्ने टिकट प्रचण्डको छोरीको लागि त्याग गरेका कांग्रेसका युवा नेता दिनेश कोइराला र राप्रपाका महामन्त्री तथा वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डे पनि कस्सिएका छन् । उनीहरूले हिजो सोमबार भरतपुर महानगर ८ गौरिगंजमा घरदैलो एवम् चुनावी कार्यक्रम सम्पन्न गरेका छन् ।

घरदैलोमा युवा र पाका दुवै उमेर समूहका मतदाताहरुको उल्लेख्य सहभागिता रहेको थियो । उम्मेदवार घर–घरमा पुग्दा घरमा पुष्पगुच्छासहित स्वागत गरिएको थियो ।

प्रचण्डलाई माडीमा चुनौती
नेपाली कांग्रेसका युवा नेता तथा प्रदेशसभा सदस्यमा चितवन क्षेत्र नं. ३ (ख)का उम्मेदवार साजनकुमार महतोको अगुवाईमा सोमबार माडीमा घरदैलोसहितको चुनावी सम्पन्न भएको छ । माडी नगरपालिकाको सिधुवा, बघौडा, इनार बरुवा, बसन्तपुरलगायतको स्थानमा भएको घरदैलोमा सयौंको सहभागिता रहेको थियो ।

माडीमै रहेका वामगठबन्धनका चितवन क्षेत्र नं. ३ का उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चुनौती दिँदै लोकतान्त्रिक गठबन्धनका सयौँ कार्यकर्ताको सहभागिता रहेको थियो । घरदैलोको क्रममा उम्मेदवार महतोलाई स्थानीयवासीले भव्य स्वागत गर्दै जितको शुभकामना दिएका थिए ।