पर्साका उम्मेदवार को–कस्ता ?

पर्साका उम्मेदवार को–कस्ता ?


प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा उम्मेदवारहरूले जनताका हक–अधिकार र वर्षौंदेखि नभएको विकासको काम तुरुन्तै गर्ने दाबीसहित मतदातासमक्ष मत मागिरहेका छन् । निर्वाचनमा सबै राजनीतिक दल र तिनका नेता–कार्यकर्ताको मुख्य चुनावी एजेण्डा विकास र जनताको अधिकार भन्ने नै रहेको छ ।

प्रतिनिधि सभाको ३२ र प्रदेश सभाको ६४ सिटका लागि दोस्रो चरणमा हुने प्रदेश नम्बर २ को सहित बारा, पर्साका समेत प्रदेश र प्रतिनिधि सभाका उम्मेदवारहरू पनि यो भन्दा फरक मुद्दामा देखिएका छैनन् । निर्वाचनको मुखमा आएर आमसभा, पार्टी प्रवेश, सम्पर्क कार्यालय स्थापना, घरदैलो लगायतको कार्यक्रममा व्यस्त हुँदै पनि उनीहरूले विकास र जनताको अधिकारका मुद्दा नै केन्द्रमा राखेका छन् । पर्सा क्षेत्र नम्बर १ को वीरगञ्ज महानगरपालिका मात्र नभई जिल्लाको सबैभन्दा टाढा रहेको ठोरी, सुवर्णपुरमा समेत उम्मेदवारहरू वडा कमिटिदेखि गाऊँपालिका सम्पर्क कार्यालय स्थापना गर्दै उक्त मुद्दासहित प्रचारप्रसारमा होमिएका छन् ।

संगाठनिक रुपमा देशभर पार्टी विस्तार गरिसकेका नेपाली कांग्रेस, एमाले र माओवादी (बाम गठबन्धन) लगायत मधेसी हरूले समेत उम्मेदवारी दर्ताको अन्तिम समयमा मात्र उम्मेदवार टुङ्गो लगाएर तामझाममा उत्रिएको स्थानीयले टिप्पणी गरेका छन् । दलहरूले गत निर्वाचनमा पैसावालाको जितदेखि पार्टीमा त्याग र समर्पण गरेकाभन्दा पनि पैसावाला र दबङ्ग खालका उम्मेदवारहरू छनोटमा पारेको आरोप लाग्दै आएको अवस्थामा पर्साका उम्मेदवारचाहिँ कस्ता छन् त भन्ने जिज्ञासा जाग्न सक्छ ।

पर्सा क्षेत्र नं. १ मा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभामा पूर्वसांसद तथा उद्योगी अनिल रुँगटा चुनावी मैदानमा भिड्दै छन् । ०७० सालको निर्वाचनमा समानुपातिकबाट सांसद भएका रुँगटा विशुद्ध व्यापारी रहेको र उनले राजनीतिभन्दा बढी आफ्नो व्यापारमा नै समय खर्चने गरेको आरोप कांग्रेसजनबाटै सुन्न सकिन्थ्यो । पार्टीको बैठक, विभिन्न गतिविधिमा समेत त्यति समय नदिने गरेका रुँगटालाई नै काङ्ग्रेसले छनोट गरेको भनी स्थानीय नेताहरूले आरोप पनि लगाए । जे भए पनि उनी यसपटक प्रत्यक्षबाट लड्दा बढि मेहनत गरिरहेका छन् ।

यस्तै, बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभामा नेकपा एमालेका पूर्वसांसद विचारी यादव पनि यो पटक पर्साका १ नम्बर क्षेत्रबाट नै भिड्दै छन् । पूर्वसांसद यादव ०६४ सालको निर्वाचनमा पराजित भए पनि निकै मेहनतका साथ ०७० सालको निर्वाचनमा पूर्ववत संरचना अनुसार पर्साको २ नम्बर प्रदेशबाट निर्वाचित भएका थिए । संसदीय कोषको रकमबाट आफ्नो क्षेत्रमा गुणस्तरीय काम गर्ने पर्साका १७ सभाषदमध्ये उनी अग्रस्थानमा रहेको पर्साको २ नम्बर क्षेत्रका नागरिकले गर्व साथ भन्ने पनि गरेका थिए । ९ वटा विद्यालय भवन निर्माण र उनले बनाएका बाटोहरूमा अधिकांश ढलान मात्र हुने यादवको सकारात्मक काममा चर्चा छ । यति हुँदा पनि आफ्ना आफन्त र नातेदारलाई उपभोक्ता समतिमा राखेर काम गराएको आरोप उनीमाथि पनि छ । तथापि, जिल्ला विकास समितिले उपलब्ध गराएको पूर्वसांसदहरूको कामको फेहरिस्तमा यादव सबैभन्दा अगाडी रहेको भेटिन्छ । उनले जिल्लाकै सांसदहरू मध्ये सबैभन्दा बढी जिल्लामा आएको रकम सदुपयोग गरी रकम फ्रिज हुनबाट जोगाएको पनि चर्चा सकारात्मक नै छ ।

त्यसैगरी फोरम नेपाल र राजपा गठबन्धनको तर्फबाट प्रतिनिधि सभामा संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष समेत रहेका प्रदिप यादव पनि जोडतोडका साथ चुनावमा भिड्दै छन् । जिल्ला अध्यक्ष यादव ०६३ सालको मधेश आन्दोलनपछि फोरममा प्रवेश गरी राजनीतिक गतिविधि गर्दै आएका छन् । ०७० सालको निर्वाचनमा विचारी यादवसँग नै पराजित यादव ०७२ सालको मधेश आन्दोलनमा जिल्लामा आन्दोलनको अगुवाई गर्ने नेताका रूपमा पनि रहेका थिए । तर सोही आन्दोलनकै क्रममा नाकाबन्दी गराएर ड्राईपोर्टबाट आफ्नै ट्रकमार्फत लाखौँ रुपैयाँ कमाएको आरोप पनि उनलाई लागेको थियो । योसँगै स्थानीय तहको निर्वाचनमा समेत पार्टीमा सक्रिय नभएकी आफ्नी श्रीमतीलाई चुनावमा लडाएको आरोप पनि उनकै पार्टीका नेता–कार्यकर्ताहरूले लगाएका थिए । तथापि, उनी विगतमा मधेस आन्दोलनका लागि महत्वपूर्ण भूमिका रहेको भनी जित्नका लागि जोडतोडका साथ लागिरहेका छन् ।

– प्रणय साह