‘मधेशवाद’ व्यक्तिगत स्वार्थमा प्रयोग हुन थालेपछि…

‘मधेशवाद’ व्यक्तिगत स्वार्थमा प्रयोग हुन थालेपछि…


– हेमशंकर सिंह

राजविराज । सप्तरी क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार जयप्रकाश ठाकुरले मधेश र मधेशीको सम्मान तथा क्षेत्रको विकास आफनो मुख्य लक्ष्य भएको बताएका छन् । छिन्नमस्ता गाउँपालिकाको सखडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै स्वतन्त्र उम्मेदवार ठाकुरले मधेशको आत्मसम्मानको रक्षा र क्षेत्रको आर्थिक सामाजिक सासंकृतिक विकासका लागि आफू प्रयत्नशिल रहँदै आएको र आगामी दिनमा पनि रहिरहने प्रतिबद्धता जनाए ।

‘मधेशी, मधेश र मधेशवादीसित कुनै पनि मुल्यमा कसैसित सम्झौता हुन सक्दैन’, ठाकुरले भने, ‘मधेशवाद मधेशी जनताको प्राण भइसकेको छ, जसलाई रक्षा गर्न म उम्मेदवार भएको छु ।’

ठाकुरले छिन्नमस्ता शक्तिपीठको विकास र पर्यटकीय क्षेत्रको रुपमा विकसित गर्नुपर्ने आबश्यकता औंल्याउँदे शिक्षा, स्वास्थ्य, वेरोजगारी समस्या समाधान, नदी नियन्त्रण लगायतका बिषय आफनो प्रमुख योजना रहेको बताए । गजेन्द्रनारायण सिंह, रामराजाप्रसाद सिंहसहित सयौँ ख्यातिप्राप्त नेताहरूको जन्मथलो रहेको सप्तरी २ नम्बर क्षेत्रको आफनो छुट्टै इतिहास र पहिचान रहेको उल्लेख गर्दै यस क्षेत्रका जनता दुःख–सुखमा सँगै रहने नेताको पक्षमा रहने बताए ।
सप्तरीका जनताले मधेशवादलाई आन्दोलनका माध्यमवाट स्थापीत गर्न सफल भएको बताउदै ठाकुरले अहिले मधेशवादलाई केही नेताको ब्यक्तिगत स्वार्थका लागि प्रयोग गर्न थालिएकाले जनताको भावनाबमोजिम उम्मेदवार भएको प्रष्ट पारे ।

कार्यक्रममा मधेशवादी नेता आरडी आजादले आन्दोलनको बलमा उचाईमा पुगेको मधेशवादलाई केही सीमित नेताहरुले गुलाम बनाउन खोजेको आरोप लगाए । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश मुद्दालाई समाप्त पार्न खोजेको आजादले आरोप लगाए ।

अर्का युवा नेता गुड्डु सिंहले गजेन्द्रनारायण सिंहको पुण्यभुमि रहेको सप्तरीलाई विभाजित गर्न बाहिरिया नेताहरु आयात हुन थालेकाले क्षेत्रवासी सचेत हुनुपर्ने बताए । कार्यक्रममा सुरेन्द्रनारायण मण्डल, उग्रकान्त झा लगायतका वक्ताहरुले मधेश मुद्धालाई विर्सजनको मुखमा लग्नेहरूसित सावधान रहदै स्वतन्त्र उम्मेदवार ठाकुरलाई मतदान गर्न आग्रह गरे ।

राजपाका सहमहासचिव रहेका ठाकुरले सप्तरी २ बाट उपेन्द्र यादव विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका छन् । यसअघि दोस्रो संविधानसभाको निर्वाचनमा सप्तरीको क्षेत्र नं. ३ बाट तमलोपाका उम्मेदवार भएका ठाकुर तेस्रो स्थानमा रहेका थिए । सिरहाको लरकनहा घर भएका ठाकुर करिब दुई दशक बढीदेखि राजविराजस्थित ससुरालीमा बस्दै आएका छन् ।

कुनैबेला जयकृष्ण गोइतसँग मिलेर अहेव पढाउने संस्था संचालन गरेका ठाकुर पछि आफैले प्राविधिक क्याम्पस संचालन गर्दै आएका छन् । राजदेवी टेक्नीकल इन्सीटिच्यूट नामक संस्था खडा गरेका ठाकुरको स्वामित्वमा यतिखेर युनिक एजुकेश्नल एकेडेमी समेत रहेको छ जहाँ स्टाफ नर्स र हेल्थ असिस्टेन्ट सम्मको पढाई संचालनमा रहेको छ । काठमाण्डौंको (ललितपुर) ग्वार्खोस्थित ग्लोबल हस्पिटलका सञ्चालकसमेत रहेका ठाकुरको त्यहाँ इन्जीनियरिङ र एमविविएस कलेजहरुमा पनि लगानी रहेको बताइन्छ ।

ठाकुर उम्मेदवार रहेको क्षेत्रवाट दुई जना यादव समुदायका उम्मेदवार जुधेकाले यादव बाहेकको मत बटुलेर जित्ने दाउमा रहेका ठाकुरलाई राजपाले भने निष्कासित गरिसकेको छ ।