– श्रीविक्रम भण्डारी
काठमाडौं क्षेत्र नम्बर ८ का प्रतिनिधिसभाका उम्मेदवार जीवनराम श्रेष्ठले ओलम्पिक खेलाडीको दुरुपयोग गरेका छन् । श्रेष्ठले आफ्नो चुनाव प्रचारप्रसार गर्ने क्रममा ओलम्पिक खेलाडीहरुको पोस्टर बनाएर यस्तो दुरुपयोग गरेका हुन् । उनले पोस्टरमा आठजना ओलम्पिक खेलाडीको तस्बिर राखेर भोट मागेका छन् । उक्त पोस्टरमा सूर्य चिन्ह र श्रेष्ठको फोटो राखिएको छ ।
जीवनराम श्रेष्ठले सामाजिक संजालमा राखेको उक्त पोस्टरमा ‘स्वस्थ जीवन र राष्ट्रिय गौरवका लागि खेलकुद मेरो प्राथमिकता’ भन्ने शीर्षक राख्दै आउँदो मंसिर २१ गते हुने दोश्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफु र एमाले पार्टीको लागि खेलाडीहरूको तस्बिरको दुरुपयोग गर्दै भोट मागेका छन् । जुन अहिले खेलकुदमा चर्चाको विषय बनेको छ ।
श्रेष्ठले पोस्टरमा प्रयोग गरेका आठ जना ओलम्पिक खेलाडीहरूमा संगीना बैद्य (तेक्वान्दो), निशा रावल (तेक्वान्दो), फुपुलामु शेर्पा (जुडो), शिरिस गुरुङ (पौडी), गौरीका सिंह (पौडी), वैकुण्ठ मानन्धर एथलेटिक्स), दीपक विष्ट (तेक्वान्दा), जितबहादुर मोक्तान (आर्चरी) र चन्द्रकला थापा (एथलेटिक्स) रहेका छन् ।
खेलाडी राष्ट्रका हुन्, कुनै व्यक्ति विशेषका होइनन् । त्यसैले खेलाडीलाई राष्ट्रको गहना भनेर सम्बोधन गरिँदै आएको छ । तर जीवनराम श्रेष्ठले ओलम्पियन खेलाडीलाई व्यक्ति विशेष अर्थात आफ्नो पेवाको रुपमा राजनीतिमा प्रयोग गरेर खेलाडीको समेत मानमर्दन गर्दै खेलकुदको धज्जी समेत उडाएका छन् । आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न श्रेष्ठले जसरी खेलाडीको दुरुपयोग गरे त्यो मुलुक कानुन र खेलकुदको विधानविपरीत छ । मुलुकको कानुन र खेलकुदको विधानमा कुुनै पनि खेलाडीलाई राजनितिमा लाग्न, लगाउन र प्रयोग गर्न वन्चित गरिएको छ । यदि गरेको भेटिएमा कारवाहिको भागिदार बन्ने उल्लेखित गरिएको छ ।

श्रेष्ठले स्वविवेक प्रयोग गरि ओलम्पियन खेलाडीको पोस्टर बनाएर भोट मागेपछि उनको सर्वत्र आलोचना भएको छ । यसै सन्दर्भमा चर्चित कीर्तिमानीधारी तेक्वान्दो खेलाडी दीपक विष्टसँग सम्पर्क गर्दा उनले यसको बारेमा आफुलाई कुनै जानकारी नभएका बताएका छन् । विष्टले हामी विशुद्ध खेलाडी हौँ, कुनै पार्टीको झण्डा बोकेर हिँडेका छैनौँ । हामी हाम्रो भन्दा पनि राम्रो मान्छे जित्नु पर्छ भन्ने मान्यता राख्छौँ । त्यसैले कुनै पनि खेलाडीलाई प्रत्यक्ष वा अपत्यक्षरुपमा राजनीतिमा होमेर कसैले पनि फाइदा लिनु हुँदैन, त्यो दुरुपयोग हो ।
त्यस्तै अर्का चर्चित कीर्तिमानीधारी म्याराथन धावक वैकुण्ठ मानन्धरले म कुनै पनि राजनीतिक दललाई विश्वास गर्दिनँ, किन पोस्टरमा मेरो फोटो राख्यो मलाई थाहा छैन । म सबैको हित चाहने मान्छे, बुझेर सोधेर राखेको भए राम्रो हुन्थ्यो भनेका छन् ।
यस्तै, नेपाल पौडी संघका महासचिव जगतमान श्रेष्ठले आफुले पनि दुईजना पौडी खेलाडी शिरिस गुरुङ र गौरीका सिंहको तस्बिर उक्त पोस्टरमा देखेको बताउँदै कसलाई सोधेर राखिएको हो आफुलाई थाहा नभएको जानकारी गराएका छन् । श्रेष्ठले यो गलत कार्य हो भन्दै खेलाडीलाई व्यक्तिगत स्वार्थका लागि राजनीतिमा होम्नु हुँदैन भने । अनुमति लिएर गरेको भए राम्रो हुने थियो त्यसो किन गरिएन त्यो आफ्नो जानकारीमा नभएको प्रस्ट पारे ।
यसै सन्दर्भमा चर्चित खेलाडी संगीना वैद्यसंग सम्पर्क गर्दा उनको तपाईंको कुरा केहि सुनिएन भनेर फोन राखेकी थिइन् । पछि उनीँंग सम्पर्क हुन सकेन । संगीनासंग कुरा गर्दा उनले आफु नुवाकोटमा भएको जानकारी गराएकि थिइन् । यी खेलाडी र पदाधिकारीले आफुलाई कुनै कुराको जानकारी नभएको बताएपछि अन्य खेलाडीलाई नसोधि श्रेष्ठले पोस्टरमा उनीहरुको तस्वीर राखेको सोझै अनुमान लगाउन सकिन्छ ।
त्यस्तै, राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटीका अध्यक्ष रुक्मशम्सेर राणाले ओलम्पिक कमिटीको पदाधिकारीले प्रत्यक्ष राजनीति गर्न नपाउने वताएका छन । उनले उक्त कुरा अन्तराष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)को चार्टरमा स्पष्टरुपमा लेखिएको पनि प्रस्ट पारेका छन । श्रेष्ठ अन्तराष्ट्रिय मान्यता प्राप्त एनओसीको अध्यक्ष भएकोले उनले त राजनीतिक पार्टीको झण्डा बोकेर कुनै कार्य गर्न पाउँदैनन् । तर दुर्भाग्य उनी प्रत्यक्ष निर्वाचनमा होमिदा समेत आइओसीले कुनै कदम उठाएको छैन । श्रेष्ठको कदमले आईओसीको चार्टरलाई समेत चुनौंति दिएको छ, खिल्ली उडाएको छ ।
प्रतिक्रिया