नेपाल जुडो संघले अस्ट्रियाकी जुडो खेलाडी सब्रिना फिल्जमोसरलाई सम्मान गरेको छ । जुडो संघले सब्रिनालाई माउन्ट अमाडब्लम सफलतापूर्वक आरोहण गरेकोमा सम्मान गरेको हो । सब्रिनाले गत शुक्रबार ६ हजार ८ सय १२ मिटर उचाईंको अमडब्लम ६ दिन लगाएर आरोहण गरेको संघले जानकारी गराएको छ ।
‘जुडो फर पिस’ परियोजनाअन्तर्गत नेपाललाई पनि सहयोग गर्दै आएकी ३७ वर्षीया सब्रिनाले सन् २००५ र २०१० को विश्व जुडो च्याम्पियनसिपमा कांस्य जितेकी थिइन् । ५७ केजीमुनि प्रतिस्पर्धा गर्ने सब्रिना २००८ र २०११ की युरोपियन च्याम्पियन पनि हुन् । सब्रिनाले २०१२ को लन्डन ओलम्पिकमा सातौं स्थान हासिल गरेकी थिइन् ।
सब्रिनालाई जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य, उपाध्यक्ष खड्गबहादुर दाहाल, महासचिव धर्मकुमार श्रेष्ठ र पदाधिकारी, जुडो प्रमुख प्रशिक्षक दलबहादुर गुरुङ, प्रशिक्षक, खेलाडीलगायतले त्रिपुरेश्वरस्थित केन्द्रीय जुडो प्रशिक्षण केन्द्रमा खादा र माला लगाइ सम्मान गरेका थिए ।
यसैबीच एक छुट्टै कार्यक्रममा जुडो संघका अध्यक्ष बज्राचार्य र महेन्द्र भृकुटि माविका प्रिन्सिपल लोकबहादुर खड्काले ललिपतुरको एकान्तकुनामा खोलिएको महेन्द्र भृकुटि जुडो स्कुलको संयुक्त उद्घाटन गरेका थिए ।
प्रतिक्रिया