केही ठूला नेतालाई अब संसदमा देख्न नपाइने !

केही ठूला नेतालाई अब संसदमा देख्न नपाइने !


राष्ट्रिय राजनीतिक दलको उच्च जिम्मेवारी लिएका र अन्य विभिन्न कारणले चर्चामा आएका नेताहरूमध्ये कतिले चुनावमा विजय हासिल गर्न सक्लान् र को पराजित होलान् भन्ने आमजिज्ञाशाको विषय बनेको छ । सम्बन्धित निर्वाचन क्षेत्रको सामान्य अवलोकन गरी बुझ्दा केही ठूला नेताहरू रक्षात्मक अवस्थामा देखिएका छन् भने केहीले आफूलाई सुरक्षित गरेको पाइएको छ ।

प्राप्त जानकारीअनुसार नेकपा एमालेका नेता माधवकुमार नेपाल काठमाडौं (क्षेत्र नंं. २) मा रक्षात्मक स्थितिमा हुनुहुन्छ । पहिले काठमाडौंबाट विजयी भएर पनि उक्त क्षेत्र छोडेर रौतहट रोज्नुलाई उक्त क्षेत्रका मतदाताले आफ्नो अपमान ठानेको जानकारी माधव नेपालले चुनाव प्रचारका क्रममा मात्र पाउनुभयो । ०७० मा विजयी भएर पनि काठमाडौं छोड्नुको ‘दण्ड’ यसपटक माधव नेपाललाई मिल्ने सम्भावना देखिएको छ । नेपाली काङ्ग्रेसका नेता दीपक कुइँकेल स्थानीय भएको र उक्त क्षेत्रमा लोकप्रिय पनि भएकोले यो निर्वाचनमा माधव नेपाल पराजित हुनुभयो भने कुनै आश्चर्य हुनेछैन ।

त्यस्तै, नेपाली काङ्ग्रेसका नेता एवम् पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि झापाको तीन नम्बर क्षेत्रमा सुरक्षित देखिनुभएको छैन । राप्रपाको महामन्त्रीसमेत रहनुभएका राजेन्द्र लिङ्देन उक्त क्षेत्रमा लोकप्रिय मानिनुहुन्छ । वामपन्थी गठबन्धनले समेत लिङ्देनलाई समर्थन गरेपछि सिटौला सकसमा पर्नुभएको छ । यद्यपि उहाँले वामपन्थीहरूको ठूलो मत आफूलाई प्राप्त हुने विश्वास भने गर्नुभएको छ । सङ्घीय गणतन्त्रात्मक धर्मनिरपेक्ष मुलुक बनाउने ठोस योगदान पु¥याएको हुनाले वामपन्थीको मत आफूलाई प्राप्त हुने विश्वास सिटौलाले गर्नुभएको बुझिन्छ । तर, यहाँको वस्तुस्थिति सिटौलाले अपेक्षा गरेअनुरूप नभएको देखिन्छ । लिङ्देनले बोक्नुभएको एजेण्डा, अभिव्यक्ति र व्यवहारले उहाँलाई लोकप्रिय बनाएको छ । यस्तै स्थिति कायम रहेमा लिङ्देन राम्रो मतान्तरले विजयी बन्ने र सिटौला पराजित हुने देखिएको छ ।

त्यसैगरी माओवादी अध्यक्ष प्रचण्डको स्थिति पनि दुर्बल देखिएको छ । नेपाली काङ्ग्रेसको बलियो प्रभाव रहेको चितवन क्षेत्र नम्बर तीनमा राप्रपाका नेता विक्रम पाण्डे विशेष लोकप्रिय मानिनुहुन्छ । उक्त क्षेत्रमा काङ्ग्रेसका कुनै व्यक्ति उम्मेदवार बनेका भए बरु अन्तर्घातको सम्भावना हुन सक्थ्यो, पाण्डेलाई काङ्ग्रेस समर्थकहरूको सम्पूर्ण मत प्राप्त हुने देखिएको छ । स्थानीय निर्वाचनमा काङ्ग्रेसको मत लिएर छोरी (रेणु) लाई भरतपुर महानगर प्रमुख बनाएपछि अहिले प्रचण्डले काङ्ग्रेसलाई अपमान गर्दै धोखा दिएको स्थानीय मतदाताहरूले ठानेका छन् । त्यसैले काङ्ग्रेसको मत विभाजन हुन सक्ने सम्भावना देखिएको छैन । काङ्ग्रेसमा अभूतपूर्व एकता र उत्साह पैदा भएको, प्रचण्डले दिएको धोकाको बदला लिने मानसिकता बनेको, बाँदरमुढे घटनाको घाउ ‘ताजा’ भएर जनसमक्ष आएको, विक्रम पाण्डे आफैँ पनि उक्त क्षेत्रमा लोकप्रिय रहेको र केही वामपन्थी मतसमेत प्रचण्डलाई नजाने स्थिति रहेकोले उहाँ रक्षात्मक बन्न पुग्नुभएको छ । सर्सर्ती हेर्दा निकै कडा प्रतिस्पर्धाको स्थिति देखिए पनि प्रचण्डभन्दा पाण्डे झण्डै तीन हजार मतले अगाडि रहेको स्थानीय विश्लेषकहरूको अनुमान छ । सो क्षेत्रमा स्वच्छ र धाँधलीरहित वातावरणमा निर्वाचन सम्पन्न भयो भने प्रचण्ड पराजित हुने विश्वास गरिएको छ ।

सिन्धुपाल्चोकमा लोकतान्त्रिक गठबन्धनको उम्मेदवार बनेका राप्रपा (प्रजातान्त्रिक) का नेता पशुपतिशमशेर राणा वामपन्थी उम्मेदवारको तुलनामा कमजोर देखिनुभएको छ । गोरखाको दुई नम्बर क्षेत्रमा भिडेका दुई उच्च नेताहरूमध्ये एउटाले पराजय भोग्ने निश्चित छ । नयाँ शक्तिका प्रमुख नेता डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीचको प्रतिस्पर्धाको बाह्य स्थिति अवलोकन गर्दा को विजयी बन्लान् भनी अनुमान गर्न नसकिने स्थिति भए पनि सूक्ष्म अध्ययन गर्नेहरूले बाबुरामभन्दा नारायणकाजी अगाडि रहेको निष्कर्ष निकालेका छन् ।

धनुषाको क्षेत्र नं. ३ मा काङ्ग्रेस नेता विमलेन्द्र निधि र राजपा नेता राजेन्द्र महतोबीचको प्रतिस्पर्धामा निधि केही पछाडि परेको अवस्था छ । विमलेन्द्र निधि अल्पसङ्ख्यक (कायस्थ) समुदायबाट हुनु, उहाँले काङ्ग्रेस समर्थकहरू सबैलाई समेटेर अघि बढ्ने क्षमता देखाउन नसक्नु, गृहमन्त्री रहँदा मधेसमा भएको आन्दोलनमा दमन गरी आन्दोलनकारीको हत्या हुनु, तर नैतिकताको आधारमा राजीनामा नदिनु, गृहमन्त्री भएको मौका पारेर आफ्ना पारिवारिक सदस्य तथा नातेदारहरू (६ जना) लाई राष्ट्रपतिबाट तक्मा र पदक उपलब्ध गराउनुजस्ता कारणहरूले निधिलाई रक्षात्मक अवस्थामा पु¥याएको बुझिन्छ । प्रतिद्वन्द्वी राजेन्द्र महतोको जातीय समुदाय उक्त क्षेत्रमा बलियो भएकोले पनि निधिको पक्षमा वातावरण बन्न नसकेको बताइन्छ ।

उल्लिखितबाहेक प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, अग्नि सापकोटा, कमल थापा, सुरेन्द्र कार्की, डा. प्रकाशशरण महत, प्रदीप ज्ञवाली र आरजु राणा देउवालगायतका नेताहरू पनि विजयी बन्नका लागि अलिक बढी नै मिहिनेत गर्नुपर्ने अवस्थामा रहेको बुझिन्छ । तीव्र प्रतिस्पर्धाका बाबजुद नेताहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, डा. रामशरण महत, जनार्दन शर्मा, पूर्णबहादुर खड्का, विष्णु पौडेल, झलनाथ खनाल, सुवास नेम्वाङ, विश्वप्रकाश शर्मा, गगन थापा, महन्थ ठाकुर र उपेन्द्र यादवलगायतको स्थान भने सुरक्षित रहेको विश्वास गरिएको छ ।