गत १० गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका प्रतिनिधिले मतदाताको इच्छाविपरित जबर्जस्ती आफ्नो पक्षमा मत हालेको दाबी गर्दै नेपाली कांग्रेसले पुनः मतदानको व्यवस्था गर्न माग गरेको छ । सन्दर्भ डोल्पाको हो । नेपाली कांग्रेस डोल्पा जिल्ला कार्यसमितिले माथिल्लो डोल्पाका चार स्थानीय तहका मतदान केन्द्रमा धाँधली भएको भन्दै पुनः निर्वाचन गराउन माग गरेको हो ।
सदरमुकाम दुनैमा हिजो बुधबार आयोजित पत्रकार सम्मलेनमा कांग्रेसले माथिल्लो डोल्पामा पर्ने छार्काताङ्सोङ, डोल्पो बुद्ध, शे–फोक्सुन्डो गाउँपालिका र तल्लो डोल्पाको काइके गाँउपालिका तथा त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गत प्रकाश निमावी मतदान केन्द्र रङ्ग, सोही नगरपालिकाकै मुकुटेश्वर मतदान केन्द्र फुल्चिङ र ठूलीभेरी नगरपालिकाको तिप्ला मतदान केन्द्रमा निश्वक्ष रुपमा मतदान नभएको भन्दै पुनः निर्वाचन गराउन माग गरेको छ।
पत्रकार सम्मेलनमा गठबन्धनका कार्यकर्ताले बुथ कब्जा गरेको, विपक्षी पार्टीका कार्यकर्तालाई डर, धाक धम्की देखाउँदै आफ्नो पक्षमा मत नखसाए गाउँ निकाला गर्छु भन्ने धम्की दिएर जबर्जस्ती गठबन्धनको पक्षमा मत हाल्न लगाएको दाबी गरियो ।
उल्लिखित मतदान केन्द्रमा पुनःमतदानको माग राखी मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोधार्थसहित मुद्दा दर्ता गरिएको कांग्रेस जिल्ला पार्टी सभापति अंगतकुमार बुढाले बतााए । मतदाताको वारिसको नाममा सयौँ मत एकै व्यक्तिले खसाल्दा पनि कर्मचारी, सुरक्षा निकाय, प्रशासन, निर्वाचन कार्यालय मौन रहेकामा उनीहरुको पनि पूर्णरुपमा मिलेमतो रहेको आरोप समेत लगाइएको छ ।
निर्वाचनको दुई दिन अगाडि ‘एजेन्ट’ पत्र दिएर उपल्लो डोल्पा पुगेका कांग्रेसका कार्यकर्तालाई वाम गठबन्धनका कार्यकर्ताले कुटपिट गरी रातभरी रुखमा बाँधेर लखेटेको सभापति बुढाले जानकारी दिए । त्रिपुरा सुन्दरी नगरपालिकाअन्तर्गत मुकुटेश्वर मावि फुल्चिङ मतदान केन्द्रमा कांग्रेसका प्रतिनिधि अमृत सार्कीलाई निर्वाचनको दिनभर थुनछेक गरेर एकलौटी रुपमा मत खसालेको स्थानीय कांग्रेस नेता मोतीप्रसाद उपाध्यायलाई उद्धृत गर्दै जनाइएको छ ।
प्रतिक्रिया