साकिरा समाजसेवामा

साकिरा समाजसेवामा


विभिन्न पेयपदार्थ उत्पादन गर्ने एक स्पेनी कम्पनीका लागि मोडलिङ गरेबापत आफूलाई प्राप्त भएको ६ लाख ६० हजार डलर विश्वप्रसिद्ध गायिका तथा मोडल सकिराले समाजसेवामा लगाउने निर्णय गरेकी छिन् । उक्त कम्पनीले कोलम्बिया र हैटीमा शिक्षाको ज्योति फैलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको संस्था पियस डेसकार्लोसलाई लाखौँ डलरको अनुदान सहयोग उपलब्ध गराएको थियो भने त्यही रकम संस्थाले सकिरालाई प्रदान गरी शिक्षासम्बन्धी विज्ञापनमा मोडलिङ गराउने निर्णय गरेको थियो । यसरी प्राप्त हुने रकम व्यक्तिगत प्रयोजनमा खर्च नगरी सकिराले गरिब बालबालिकाको शिक्षाका निम्ति उपलब्ध गराउने फैसला गरेर सकिराले ठूलो उदारता तथा आफूभित्रको मानवीय संवेदनालाई उजागर गरेकी छिन् । मनोरञ्जन क्षेत्रमा आबद्ध रहे पनि सामाजिक कार्यमा सरिक हुन निकै रुचाउने सकिराले शिक्षा बालबालिकाको जन्मसिद्ध अधिकार भएको र राम्रो शिक्षाले बालबालिकाको सपना पूरा गर्न सघाउने अभिव्यक्ति दिने क्रममा आफ्नो बाल्यकालको सम्झना गर्दै भनिन्, ‘म पनि बालककालमा निकै दुःख पाएकी व्यक्ति हुँ, बाल्यकालमा भोग्नुपर्ने अभावले दिने चुनौती कस्तो हुन्छ भन्ने मैले बुझेकी छु ।’ शिक्षा नै मार्गदर्शनको सही बाटो भएकोले हरेक मुलुकमा शिक्षाको ज्योति बाल्न आफूले सक्दो सहयोग गर्ने पनि सकिराले बताएकी छिन् ।

मिर्गौलाका रोगीलाई खुसीको खबर
वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूको एक समूहले कृत्रिम किड्नीको आविष्कार गर्नुका साथै त्यसलाई प्रत्यारोपण गर्न सकिने दाबी गरेका छन् । क्यालिफोरि्नया विश्वविद्यालयका अनुसन्धानकर्ता तथा वैज्ञानिकहरूले कफी-कप आकारको कृत्रिम किड्नी बनाएर चिकित्साशास्त्रको क्षेत्रमा नौलो आयाम थपिदिएका छन् । उक्त कृत्रिम किड्नीले रगत सफा गर्नुको साथै मानव-किड्नीको कोसिका उपयोग गरेर रक्तचाप पनि नियन्त्रण गर्न सक्ने वैज्ञानिकहरूको दाबी छ । शरीरभित्र भिटामिन डीको निर्माणसमेत गर्न सक्ने यस किड्नीको प्रयोग सुरुमा जनावरमा गरिएको थियो । यसरी जनावरमा गरिएको परीक्षण सफल भएपछि अनुसन्धानकर्ताहरूले यसलाई अब मानिसको शरीरमा प्रत्यारोपण गरिने बताएका हुन् । मिर्गौला रोगमा लामो समयसम्म डाइलोसिस गर्नुपर्ने र यसले शरीरलाई कमजोर पार्ने भएकोले मिर्गौलारोगीका लागि कृत्रिम किड्नीको आविष्कार अत्यन्त खुसीको खबर भएको सम्बन्धित वैज्ञानिकहरूले बताएका छन् । कृत्रिम किड्नीले रगत मात्र सफा गर्ने नभई डाइलोसिसभन्दा पनि राम्रो काम गर्ने उनीहरूको दाबी छ ।

मोबाइल प्रयोग गर्ने आमा होसियार
तपाईं गर्भवती महिला हुनुहुन्छ भने ध्यान दिनुहोस् तपाईं मोबाइल फोनको प्रयोग कत्तिको गर्नुहुन्छ – यदि मोबाइलसँग अति नै प्रेम छ भने त्यो तपाईंको गर्भमा रहेको शिशुका लागि अत्यन्त हानिकारक हुन सक्छ । गर्भावस्थाको बेलामा लगातार मोबाइल फोन प्रयोग गर्दा बच्चाको स्वभावमा नकारात्मक प्रभाव पर्ने शोधकर्ताले पत्ता लगाएका छन् । २९ हजार युवामा गरिएको प्ररीक्षणपश्चात् शोधकर्ताहरूले यो कुरा सार्वजनिक गरेका हुन् । गर्भावस्थामा आमाले मोबाइल फोनको प्रयोग गर्दा उनको बच्चा खराब स्वभावको हुने क्यालिफोरि्नया विश्वविद्यालयका शोधकर्ताको दाबी छ । शोधकर्ताहरूले सात वर्षको उमेरमा मोबाइल प्रयोग गर्ने बच्चाको स्वभाव झनै खराब या खतरायुक्त हुने बताएका छन् । कम मोबाइल प्रयोग गर्ने आमाभन्दा ५० प्रतिशत बढी खतरा बढी प्रयोग गर्ने आमाको बच्चामा हुने अनुसन्धानले देखाएको छ ।

टीभीप्रतिको लगाव हृदयरोगलाई निम्तो
आज मानिसको दैनिकीमा टेलिभिजन एक अभिन्न अङ्गका रूपमा गाँसिएर रहेको छ । बच्चादेखि युवा र वृद्धसम्मलाई टेलिभिजनले बाँधेको पाइन्छ । कतिपय व्यक्ति त यतिसम्म टीभीएडिक्ट बनेका हुन्छन् कि एकछिन मात्र पनि टेलिभिजनबाट अलग बस्नु तिनका लागि कष्टसाध्य हुन पुग्छ । मानिसको जीवनमा यसरी पकड जमाएको टीभी मानवस्वास्थ्यका लागिचाहिँ कति खतरायुक्त छ त – यसप्रति भने हामीले त्यत्ति ख्याल नगरेका हुन सक्छौँ ।
दिनहुँ टीभी हर्ेनाले हृदयरोगको सम्भावना सात प्रतिशतसम्म बढ्न सक्ने हालैको एक अनुसन्धानले पुष्टि गरेको छ । दिनहँु चार घन्टा टीभी हर्ेनाले जोखिम २८ प्रतिशतसम्म बढ्ने अनुसन्धानकर्ताहरूको दाबी छ । यसका लागि एक दशकसम्म १३ हजार एक सय ९७ स्वस्थ पुरुष र महिलाको अध्ययन गरिएको थियो, जसमध्य तीन सय ७३ जनाको मृत्यु हृदयरोगबाट भएको थियो । अनुसन्धानकर्ताहरूले मृत्युको प्रत्यक्ष सम्बन्ध टीभी हेर्नुसँग नै रहेको पत्ता लगाएका थिए, जसले बढी समय टीभी हेरेको थियो उसमा हृदयसम्बन्धी रोग बढी देखिएको थियो । टीभी हेर्ने समय चार घन्टाबाट कम मात्र गर्नसक्दा यसबाट बच्न सकिने अनुसन्धानकर्ताहरूको तर्क छ । उनीहरू भन्छन्, ‘लामो समयसम्म टीभी हेर्नुको अर्थ हो शरीरलाई शिथिल पार्नु, यो स्वास्थ्यका लागि ठीक होइन ।