कराते संघको विकृति रोक्ने जिम्मेवारी प्रसाईंको काँधमा

कराते संघको विकृति रोक्ने जिम्मेवारी प्रसाईंको काँधमा


नेपाल कराते महासंघसंग आबद्ध कराते संघहरू यतिबेला विवादमा तानिएका छन् । जापान लगाायत विदेशी मुलुकमा गैरकराते खेलाडी लगेर लाखौं रुपैयाँ कुम्ल्याउँदै मेनपावरको धन्दा सञ्चालन गरेपछि ती संघहरू विवादमा तानिएका हुन् ।

प्राप्त जानकारीका अनुसार विश्वभरि दिनको दुई–तीन वटा करातेका अन्तर्राष्ट्रिय प्रतियोगिता हुन्छन् । ती प्रतियोगितामा महिनाको एक–दुईपटक नेपाली खेलाडीले पनि सहभागिता जनाउँदै आएका छन् । तर ती प्रतियोगितामा वास्तविक खेलाडी भन्दा गैरकराते खेलाडीको सहभागिताले गर्दा अहिले कराते खेलाडी र संघको साख पनि दाउमा लागेको नेपाल कराते महासंघका वरिष्ठ प्रशिक्षक शोभितराज प्रसाईले प्रेश विज्ञप्ती मार्फत जानकारी गराए ।

हालै राष्ट्रिय खेलकुद परिषदका सदस्य फत्तबहादुर गुरुङले १० लाख रुपैयाँ लिएर गैरकराते खेलाडीलाई जापान पठाएको स्वीकार गरेको अवस्थामा करातेमा मेनपावरको धन्दा मौलाएको प्रशिक्षक प्रसाईले बताएका छन् । यस्तो गैरजिम्मेवारी र विवादास्पक कार्य खुद महासंघ संघ आवद्ध सितोरिया कराते, सोतोकान कराते, बादोरियो कराते र गोजुरियो कराते पदाधिकारीले गरिरहेको खुलासा समेत प्रसाईले गरेका छन् ।

त्यस्तै हालै जापानमा सम्पन्न अन्तर्राष्ट्रिय करातेमा पनि गैरकराते खेलाडीले प्रतिस्पर्धा गरेको उक्त प्रतिस्पर्धामा ती खेलाडीले गरेको प्रदर्शनबाट पनि उनी खेलाडी हुन् कि गैरखेलाडी सोझै अनुमान लगाउन सकिने प्रशिक्षक प्रसाइले बताए । यस्ता हर्कतले अन्तर्राष्ट्रिय स्तरमा कराँतेको स्वाभिमानमा आँच पुगेको समेत उनको ठम्याई छ । त्यस्तै जापानमा हालै सम्पन्न प्रतियोगितामा प्रतिस्पर्धा गर्ने ती गैरखेलाडी स्वदेश फर्किए नर्फिएको कुनै जानकारी प्राप्त नभएको प्रंसाईंको दाबी थियो ।

नेपालको चर्चित खेल करातेमा यस्तो विकृति–विसंगति भित्रिएपछि त्यसमा अंकुश लगाउन राष्ट्रिय खेलकुद परिषदले प्रशिक्षक प्रसाईलाई जिम्मेवारी दिएको छ । यो भन्दाअघि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन जाँदा सम्बन्धित संघ र महासंघको स्वीकृति, निर्णय माइन्युट र सोझै व्यक्तिको नाममा निमन्त्रणा मगाएर गैर खेलाडीहरूलाई विदेश पठाएर लाखौं रकम असुल गर्दै आएकोमा अब उप्रान्त यस्तो गैरकानुनी कार्य पूर्ण रूपमा रोकिने प्रसाईले बताए ।

अब अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनका लागि खेलाडीको स्तरको पहिचान गरिने छ । त्यसको लागि राष्ट्रियस्तरको कराते खेलाडी हुनुपर्ने र त्यसको सिफारिस प्रमुख प्रशिक्षकले गर्नु पर्नेछ । अन्यथा कुनै पनि संघले अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाडीहरूलाई सहभागिता पाउने छैन । त्यसको ध्यानकर्षण गर्नको लागि आफुले राखेपलाई पत्राचार गरेको प्रसाईले बताएका छन् । यसका राखेपले आफुलाई सहयोग गर्ने प्रतिवद्धता जाहेर गरिसकेको पनि प्रसाईले दाबी गरेका थिए ।

यदि करातेमा मौलाउँदै गएको यो मेनपावारको धन्दामाथि अंकुश लगाउन राखेपले सहयोग गरेन भने राखेपविरुद्ध पनि प्रतिवादमा उत्रिने जानकारी गराएका छन् । यसको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र खेलाडी तथा प्रशिक्षक संघसँग सहकार्य गरेर अगाडि बढ्ने प्रसाईले जानकारी गराएका थिए ।

– श्रीविक्रम भण्डारी