कम्युनिष्टले जिते जनता दास बन्ने देउवाको दाबी

कम्युनिष्टले जिते जनता दास बन्ने देउवाको दाबी


प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सप्तरीको कठौनामा २५ शैय्याको अस्पता निर्माण गर्ने बचन दिएका छन् । विहिबार सप्तरीको निर्वाचन क्षेत्र नम्बर ३ स्थित शम्भुनाथ नगरपालिकाको कठौनाबजारमा आयोजित काङ्ग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले यस क्षेत्रका काङ्ग्रेसका प्रतिनिधिसभाका उम्मेदवार दिनेश यादवले स्थानीय जनतासमक्ष गरेका प्रतिबद्धता सबै पूरा गरिने बताए ।

मधेस र मधेसी जनता काङ्ग्रेसकै पक्षमा रहेको दाबी गर्दै देउवाले कांग्रेसको आधार शुरुदेखि नै मधेस र मधेसी जनता रहेको भन्दै मधेसको मन जित्ने प्रयास गरे । दासताबाट मुक्तिका साथै विकास र समृद्धिका लागि नेपाली कांग्रेसको विजय अपरिहार्य रहेको देउवाको भनाई थियो ।

मुलुकलाई कम्युनिष्टमुक्त बनाउने अभियानमा कांग्रेस अघि बढेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले कम्युनिष्ट जितेमा जनताले दास बन्नुपर्ने तर्क गरे ।

कम्युनिष्टले जनताको अधिकार खोस्नका लागि अधिनायकवादी चरित्र प्रदर्शन गरेकोले मतदाताले निकै सचेत भएर मत दिनुपर्ने पनि देउवाको भनाई थियो ।

कांग्रेसले मधेसलाई अधिकार दिन खोज्दा एमाले बाधक भएको आरोप पनि उनले लगाए । यसपटक बाम गठबन्धनको बहुमत आउँछ भनी गरिएको हल्लामा कुनै दम नभएको दाबी गर्दै देउवाले बहुमत त कांग्रेसकै आउने बताए ।

सभामा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरी र प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर ३ का प्रत्यासी दिनेश यादवले पनि सम्बोधन गरेका थिए ।