मतपेटिका राखिएको भवनको एउटै ढोकामा चारवटा ताला

मतपेटिका राखिएको भवनको एउटै ढोकामा चारवटा ताला


– किशोर बुढाथोकी (सिन्धुपाल्चोक)

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतपेटिका राखिएको भवनमा लगाएको तालामाथि आंशका गर्दै दलहरुले आ–आफ्ना ताला लगाएका छन् । कार्यालयले मात्रै लगाएको तालामात्रै ढोकामा रहेपछि ‘जे पनि हुन सक्ने’ भन्दै दलहरुले थप तीन वटा ताला ढोकामा लगाएर साँचो आफैले राखेका हुन् । यो सँगै एकै ढोकामा चार वटा ताला झुण्डिएको हो ।

भवनको ढोकामा बाम र लोकतान्त्रिक गठबन्धनका साथै नेकपा मालेले थप ताला लगाएका हुन् । दलले ल्याएको तालालाई प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, प्रहरी प्रमुख एसपी मोहन पोखरेल, मुख्य निर्वाचन अधिकृतका कार्यालयका सहायक अधिकृत, सञ्चारकर्मी र मतपेटिका कुर्न बसेका एजेण्टको रोहवरमा नागरिक समाजका तर्फबाट नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको उपाध्यक्ष ज्ञानेन्द्र तिमिल्सिनाले ताला लगाएका थिए । मतपेटिका राखिएको जिल्ला कृषि विकास कार्यालयको नवनिर्मित भवनको मुख्य ढोकामा थप ताला लगाएसँगै अन्य सुरक्षा व्यवस्थासमेत थपिएको प्रमुख जिल्ला अधिकारी तामाङको भनाई छ ।

‘जिल्लाको २ सय २८ मतदान केन्द्रका मतपेटिका राखिएको स्थानमा थप सुरक्षा व्यवस्था समेत गरिएको छ,’ तामाङले भने, ‘मतपेटिका सुरक्षाका लागि थप तीन वटा सिसिटिभी जडानका साथै भवनको झ्यालमा बाहिरबाट प्लाई बोर्डसमेत राखिएको हो ।’ उनकाअनुसार नयाँ राखिएको क्यामेराले भवनको बाहिरी क्षेत्रलाई निगरानी गर्नेछ । मतपेटिका राखिएको भवनमा रहेका सबै १४ वटै झ्यालमा बाहिरबाट प्लाई बोर्ड राखिएको उनले जानकारी दिए । यसअघि मतपेटिका राखिएको कोठाको ढोकामा लगाइएको सिल देखिने गरि तीन वटा क्यामेरा राखिएको थियो ।

मतपेटिका राखिएको स्थललाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले तीन घेरा बाट सुरक्षा दिइरहेको छ । कार्यालयकाअनुसार पहिलोमा नेपाल प्रहरी र म्यादी, दोस्रोमा सशस्त्र र बाहिरीमा नेपाली सेना खटाएको छ ।