नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश विकासका लागि बाम गठबन्धनले बहुमत ल्याउनुपर्ने बताएका छन् । झापाको बिर्तामोडमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले यसअघि २०४८ सालमा कांग्रेसले बहुमत ल्याए पनि केही हुन नसकेको आरोप लगाउँदै बाम गठबन्धनको सरकार आए मात्र मुलुकमा स्थायित्व र समृद्धि सम्भव हुने बताए ।
एमाले अध्यक्ष ओलीले मंसीर २१ पछि मुलुक बाम गठबन्धन नेतृत्वमा देश अगाडी बढ्ने र त्यसको नेतृत्व एमालेले गर्न दाबी पनि गरे ।
ठट्यौली पारामा कांग्रेसलाई बाख्राको हलको संज्ञा दिंदै ओलीले भने– ‘बाख्राको हलले खेत जोल्दैन, खेत जोत्नका लागि गोरु–राँगा नै चाहिन्छ ।’
झापा क्षेत्र नं ३ मा राप्रपासागको बाम गठबन्धनले गरेको तालमेलको प्रसङ्गमा ओलीले क्षेत्र नम्बर–३ मा म्याच फिक्सिङ कपोकल्पित भएको बताउँदै एमालेबाट धोका कहिले कसैलाई नहुने जिकिर गरे । लिङदेनलाई कांग्रेसले धोका दिएपछि एमालेले साथ दिएको ओलीको प्रष्टोक्ति थियो ।
जिल्ला समन्वय समिति झापाका संयोजक सोमनाथ पोर्तेलको सञ्चालनमा सम्पन्न चुनावी सभामा एमालेका सचिब योगेश भट्टराई, झापा क्षेत्र नं. २ बाट बाम गठबन्धनका प्रतिनिधि सभा सदस्य उम्मेद्वार पवित्रा निरौला खरेल मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा एमाले हास्य कलाकार राजा राजेन्द्रले प्रस्तुती समेत राखेका थिए ।
– रेजिना गौतम
प्रतिक्रिया