राजविराजमा बाम गठबन्धनको शक्ति प्रदर्शन

राजविराजमा बाम गठबन्धनको शक्ति प्रदर्शन


– हेमशंकर सिंह

राजविराज । निर्वाचनको मिति नजिकिँदै गर्दा राजविराजमा चुनावी माहोल तात्न थालेको छ । क्षेत्र नं। ३ मा पर्ने राजविराज नगरपालीकामा दिनहुँ मधेश गठबन्धन र वाम गठबन्धनको घरदैलो र सडक प्रदर्शनले तीव्रता पाउन थालेको छ ।

विगत दुई–तीन दिनदेखि न्यून उपस्थितिका बीच फोरम राजपा गठबन्धनले राजविराजमा गर्दै आएको सडक प्रदर्शनलाई निस्तेज पार्न विहिबार यहाँ बाम गठबन्धनले मोटरसाइकल ऱ्याली र रोड शो सम्पन्न गरेको छ । राज रंगशालाबाट करिब ५ सयको संख्यामा निस्केको मोटरसाइकल ऱ्यालीले नगरका विभिन्न क्षेत्रको परिक्रमा गर्दै वाम गठबन्धनको पक्षमा मतदान गर्न नाराबाजी गरेको थियो । यसैगरी राजरंगशालावाटै हजारौंको संख्यामा महिला कार्यकर्ताको अगुवाइमा निस्केको जुलुस नगरका विभिन्न भागको परिक्रमा गर्दै गजेन्द्र चोमा पुगेर चुनावी सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रको तर्फबाट क्षेत्र नं। ३ मा प्रतिनिधि सभाको प्रत्यासी रहेका पूर्वमन्त्री उमेश यादवले बाहिरबाट आयातित भएर यस क्षेत्रमा चुनाव लड्न आएकालाई जिताए सधैंभरका लागि फोरम राजपा गठबन्धनकै स्थानीय नेतृत्व विस्थापित हुने बताए ।

आयातित उम्मेदवारको पक्षमा गठबन्धनकै नेता कार्यकर्ताबीच असन्तुष्टि रहेकाले उक्त गठबन्धनमै रहेर भीष्मपितामह बन्नु परे पनि जितको आर्शिवाद हामीलाई दिनु, उहाँले भन्नुभयो । जनतालाई भेंडाबाख्रा ठान्ने र पैसाको खोलो बगाएर चुनाव जित्छु भन्नेहरु पैसा बाँड्न आए तिनीहरुलाई बाँधेर पैसासहित प्रहरीको जिम्मा लगाउन समेत उहाँले आग्रह गर्नुभयो ।

जिल्लाको सबै जातजातिलाई जोडेर समृद्ध सप्तरी बनाउने अभियानमा वाम गठबन्धन लागेको दाबी गर्दै यादवले बाम गठबन्धनलाई हेप्नेहरुलाई जिल्लालाई लाल किल्ला र मधेशलाई लाल मधेश बनाएर जवाफ दिन समेत उहाँले आग्रह गर्नुभयो । जय मधेश जमिन्दारहरुको मधेश हो, शोषित उपेक्षित गरिबहरुको मधेश लाल मधेश हो, उहाँले भन्नुभयो ।

बाम गठबन्धनको सरकार गठन भएपछि गजेन्द्रनारायण सिंह अञ्चल अस्पताललाई शिक्षण अस्पतालमा परिणत गर्नुको साथै यहाँका क्याम्पसहरुलाई कृषि र प्राविधिक विश्व विद्यालयको रुपमा परिणत गर्ने आश्वासन समेत उहाँले दिनुभयो । रुपनी गाइघाट सडक निर्माण गर्नुका साथै भारत विहारको डगमारा सम्म रेल्वे हेड ल्याउन पहल गरिने उहाँको कथन थियो । उहाँले भननुभयो– समिावर्ती क्षेत्रसम्म रेल नआएसम्म र भन्सारको स्तररोन्नति नभएसम्म जिल्लामा उद्योगधन्दा विकसित हुन सक्दैन । वाम गठबन्धनको सरकार निर्माण भएको ३ महिनाभित्र सप्तरीमा राजस्व कार्यालय स्थापना हुने दाबी समेत उहाँले गर्नुभयो ।

धार्मिक पर्यटनलाई उद्योगको रुपमा विकसित गर्नुका साथै कृषिको औद्योगिकीकरण गर्न ठोस कार्ययोजनासहित अघि बढने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । वामको सरकार गठन भएपछि जिल्लामा अव्यवहारी र अप्राकृतिक रुपमा मिसाइएका गाउँहरुको समेत समायोजन हुने जानकारी समेत उहाँले दिनुभयो । उक्त सभालाई क्षेत्र नं। २ को २ वाट प्रदेश सभाका प्रत्यासी रहेका महेश यादव, नेकपा एमालेका पूर्व जिल्ला सचिव दिवाकर देवकोटा सहित गठबन्धनका नेताहरुले सम्बोधन गरेका थिए ।