छिमेकी भारतलाई प्रमुख दुश्मन ठान्ने माओवादी प्रवृत्ति ढोंग कि वास्तविकता ?

छिमेकी भारतलाई प्रमुख दुश्मन ठान्ने माओवादी प्रवृत्ति ढोंग कि वास्तविकता ?


ध सिर्जन अधिकारी
माओवादीले १५ वर्षअघि जब जनयुद्ध घोषणा गरेर जङ्गल छिरेको थियो, त्यतिबेला प्रस्तुत गरेको घोषणा गरेको आन्दोलनका बुँदाहरूमा धेरैजसो भारतविरुद्ध नै केन्द्रित गरेको थियो । तर, उसको जनयुद्ध नै एकप्रकारले भारतमै रहेर सम्पन्न भयो । माओवादी सरकारमा पुग्ला भन्ने कसैले सायदै अनुमान गरेका थिए, तर छिमेकी भारतलगायत अन्तर्राष्ट्रिय समुदायहरूले स्वीकार गरिदिएकैले त्यो अकल्पनीय कुरा पनि सम्भव भयो । अर्को शब्दमा भन्नुपर्दा भारतले माअेवादीलाई अभयदान नै दिएको हो भन्छु म त । सत्तामा हुँदा माओवादीले आफ्ना पुराना एजेण्डा वा कार्यक्रमतिर फर्केर हेर्ने जरुरत पनि ठानेन र उसलाई फुर्सद पनि भएन । आज अनेक कोसिस गरेर पनि माओवादी सत्ताबाहिर परेको छ । यसरी सडकमा पर्नुको मूल कारण उसले भारतलाई नै ठानेको छ । भारतको कारण सरकारमा जान नपाएको बुझाइले गर्दा माओवादीले उसप्रति खनिएर बोझ हल्का गर्न खोजेको रूपमा उसको भारतविरोधी क्रियाकलापलाई मैले लिने गरेको छु । यथार्थमा ऊ भारतको विरुद्धमा मनैदेखि उत्रिएको पनि होइन र माओवादीले जतिसुकै प्रयत्न गरे पनि भारतको रौं पनि हल्लिन सक्दैन । तर्सथ, छिमेकी भारतलाई दुश्मनका रूपमा माओवादीले चित्रण गर्नु निर्रथक छ भन्न सकिन्छ ।

ध अनुपा शेरचन
भारतलाई दुश्मनका रूपमा बुझ्ने या बुझाउन चाहने माओवादी नेतृत्वले यस नीतिबाट कति लाभ हासिल गर्ला, त्यो अहिले नै म केही भन्न सक्दिनँ । तर, उसको यस नीतिका कारण नेपाल र नेपाली जनताले चाहिँ भलीभाँती दुःख पाउने भए, सास्ती व्यहोर्ने भए । किनकि, भारत नेपालभन्दा कता हो कता विशाल छ, धनी छ र साधन-स्रोतले सम्पन्न छ । विश्वमञ्चमा उसको उपस्थिति अर्थपूर्ण छ र आफूलाई शक्तिशाली राष्ट्रका रूपमा अघिबढाउने अभियानमा उसले निकै हदसम्म सफलता पनि पाइरहेको छ । विश्वमञ्चमा उसको उपस्थिति दर्बिलो बनिसकेको छ । यस्तो छिमेकीसँग सिँगौरी खेल्दा आफ्नै सिङ फुस्किनुभन्दा अरू केही उपलब्धि हुन सक्दैन । उल्टै ऊ रिसायो भने हामीले नाकाबन्दी र यस्तै अनेक समस्या व्यहोर्नुपर्ने अवस्था निम्तिने निश्चित छ । मेरो विचारमा भारतसँग जोरी खोजेर होइन मित्रवत् सम्बन्ध बढाएर नै नेपालले आफ्नो हित गर्न सक्छ । यर्सथमा माओवादीले छिमेकी भारतलाई दुश्मनका रूपमा चित्रण गर्नु सोह्रैआना अनुचित छ ।

ध लालकृष्ण शाह
माओवादीले भारतलाई दुश्मनका रूपमा हेरेको विषय मेरा लागि कुनै अनौठो छैन । दुश्मन पनि भन्ने सहारा पनि उसैको लिइरहने माओवादी-प्रवृत्ति मात्रै अनौठो हो । आफ्नो विचार या सिद्धान्तका लागि भन्दा पनि माओवादी पार्टी यतिबेला सत्ताका लागि तड्पिएको हामी देखिरहेका छौँ । सत्तामा चढाउन कुनै पनि प्रकारको भारतीय भूमिका यदि सहायक बन्ने अवस्था पैदा हुन्छ भने तत्काल माओवादी नेतृत्वले भारतको गुणगान गाउन हिच्किचाउने छैन भन्नेमा म विश्वस्त छु । केही समययताका माओवादी व्यवहारले यही दर्शाइरहेछ । यसकारण माओवादीले भारतको विरोध गरेको विषयलाई खास महत्त्व दिइरहनुपर्छ जस्तो नै लाग्दैन मलाई त ।

ध जीवन पाण्डे
यसपटकको आफ्नो विस्तारित बैठकमा मात्र माओवादीले भारतप्रति आक्रोश प्रकट गरेको नभई राष्ट्रिय स्वाधीनताको नारा माओवादीले उराल्दै आएको छ । विस्तारित बैठकका क्रममा त्यो आक्रोश अझ मुखरित भएको मात्र हो । भारत या भारतीय भूमिकालाई हेर्ने सवालमा माओवादीभित्रै पनि फरक-फरक दृष्टि रहेको आभास हुन्छ । भारतप्रति नरम-भाव राख्ने र अत्यन्तै गरम-भाव राख्ने गरी दुई अलग कित्ता त्यहाँ विकसित हुँदै गएकोले सोबारे बहस सतहमा आएको हो जस्तो लाग्छ । छिमेकी भनेको अनिवार्य खराबी हो भन्ने विश्वव्यापी मान्यता छ । यस मान्यताका आधारमा भन्नुपर्दा असल-खराब पक्षको सही विश्लेषणका आधारमा छिमेकी देश भारतप्रति ठोस धारणा बनाइनुपर्छ । सम्भवतः माओवादी यही गर्न चाहिरहेको छ । तर, उसको यस प्रक्रियामा कतै पक्कै त्रुटि छ, त्यसैले माओवादी स्वस्थ आलोचकका रूपमा नभई पूर्वाग्रही प्रकृतिको भारतविरोधीका रूपमा प्रकट भइरहेको छ ।

ध श्रीमाया विके
तीनतिरबाट भारतभूमिले घेरिएको नेपालका सर्वाधिक निकटका दुई छिमेकी छन् । यी दुवै छिमेकी नेपालका निम्ति उत्तिकै महत्त्वपूर्ण छन् । भौगोलिक सुगमताका कारण भारत नेपालको अत्यन्त नजिक र महत्त्वको देश प्रतीत हुन्छ, भौगोलिक विकटताले गर्दा अर्को निकट छिमेकी चीन अलिक टाढाको जस्तो महसुस हुन्छ । तर, भूगोलले जेसुकै महसुस गराएको भए पनि चीनको उपेक्षा गर्न मिल्दैन र सकिँदैन पनि । छिमेकी भएकैले हामीबाट पनि कतिपय अपेक्षा चीनले राखेको हुनसक्छ र उसका अपेक्षाहरू अर्को छिमेकी भारतसँग बाझिन सक्छ । यहीँबाट दुई छिमेकीबीच तानातानी चल्न पुग्छ र हामीले विचार पुर्‍याएर कदम चाल्नुपर्ने अवस्था पनि यहीँबाट निम्तन्छ । यस्तोमा सही कूटनीतिक व्यवहारको जरुरत पर्छ । तर, छिमेकी देशहरूसँगको सम्बन्धका सवालमा हाम्रा कुनै पनि राजनीतिक दलहरूले परिपक्व व्यवहार दर्शाउन सकेका छैनन् । माओवादी पनि यही रोगबाट ग्रस्त छ । भारतलाई पाखा लगाउने उसको सोच नादान बालकले बाबुआमालाई देखाएको घर्ुर्कीजस्तै हो भन्नुपर्ने अवस्था छ ।

ध शरदराज फुयाँल
नेपालप्रति छिमेकी भारतले देखाउने गरेको कतिपय व्यवहार सकारात्मक नभएकाले माओवादीले उसलाई दुश्मनका रूपमा चित्रित गर्दा सही ठान्ने ठूलो पङ्क्ति मुलुकभित्र निर्माण भइसकेको छ भन्ने मेरो ठम्याइ छ । यही भारतविरोधी पङ्क्तिको ठोस समर्थन हासिल गर्न माओवादीले बेलाबेलामा छिमेकी भारतका विषयमा बहस छेडिदिन्छ । यतिबेला भारतलाई प्रमुख दुश्मनकै रूपमा चित्रण गरेर प्रचारित गर्न खोज्नुमा उसको यही मानसिकताले काम गरेको छ । साधारण मुद्दालाई पनि आफ्नो आवश्यकताअनुसार ठूलो बनाएर पेस गर्न खप्पीस माओवादीले भारतका विषयमा गरेको निर्णय या अपनाउने गरेको रवैया गम्भीर मुद्दाजस्तो लागे पनि मुलुकको समग्र राजनीतिमा यसले फेरबदल पार्छ भन्नेमा म विश्वस्त छैन ।