रौतहट जिल्लाको गरुडा नगरपालिका वार्ड–५ महमदपुरमा विहीबार राति मधेशी गठबन्धन कार्यकर्ता र प्रहरीबीच झडप हुँदा डेढ दर्जन घाइते भएका छन् । राजप–फोरम गठबन्धनका कार्यकर्ताहरू एक ठाउँमा भेला भएर मधेश आन्दोलन नरसंहारको घटनाको भिडियो प्रदर्शन गरिरहेको सूचना प्राप्त भएपछि त्यसलाई बन्द गराउन गएका प्रहरीले भिडियो बन्द गर्नु पर्यो भने पनि मधेशी गठबन्धनका कार्यकर्ताहरुले बन्द नगर्ने अडान लिएपछि दोहरो झडप भएको थियो ।
सामाजिक सदभाव बिगार्ने उद्देश्यले प्रोजेक्टर चलिरहेकोमा बन्द गर्न आग्रह गर्दा मधेशी दलका कार्यकर्ताले सुरक्षाकर्मीमाथि ढुङ्गा प्रहार गर्न लाग्दा झडप भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक गोविन्द थापाले बताए । झडपमा परी नेपाल प्रहरी र सशस्त्र प्रहरीका १४ जना जवान घाइते भएको उनको भनाई छ ।
स्थानीय वेदानन्द यादवले कोणसभा गर्नका लागि मधेशी दलका कार्यकर्ताहरू एक ठाउँमा भेला भएको र भिडियो चलाउनका लागि सामान राखेको बखतमा प्रहरी एक्कासी आएर हस्तक्षेप गरी लाठी प्रहार गर्न लाग्दा झडपमा परिणत भएको आरोप लगाएका छन् । यादवका अनुसार प्रहरीले बल प्रयोग गर्दा विवाद उतपन्न भएपछि झड़पमा परिणत भएको थियो । झडपमा मधेशी गठबन्धनका विनोद राय यादव, प्रमोद दास तत्मा, लक्ष्मी साह कलवार, सुखल राय यादव घाइते भएका छन् ।
प्रतिक्रिया