घरमै पहाड र तराई जोड्ने ‘सम्धी’ उम्मेदवार

घरमै पहाड र तराई जोड्ने ‘सम्धी’ उम्मेदवार


विजय गच्छेदार नेतृत्वको लोकतान्त्रिक फोरम काङ्ग्रेसमा विलय भएपछि उक्त पार्टीका नेता देवी चौधरी पनि निःशर्त रुपमा कांग्रेस प्रवेश गरेका छन् । पार्टी एकीकरण हुनुपूर्वको सहमतिमा गच्छादारको कोटाबाट उनले रुपन्देही क्षेत्र नं ३ को प्रदेश सभा ‘क’को टिकट पाएका छन् ।

आदीवासी जनजाति चौधरी परिवारमा जिल्लाको साविक खैरीयामा २०१२ सालमा जन्मिएका देवी तराईका आदीवासी मात्र नभई पहाडसँग पनि उनको पारिवारिक सम्बन्ध जोडिएको छ ।

उनले भतिजी विनीता चौधरीको विवाह रसुवाको घले परिवारसँग गरिदिएका छन् भने भान्जा सुदीप चौधरीले बिष्णु थापासँग वैवाहिक सम्बन्ध गाँसेका छन् । दाजुसँगै संयुक्त परिवारमा बस्दै आएका जगदम्वा चौधरीको विवाह टिकुलीगडकी उषादेवी मगरसँग भएको छ । चुनावी प्रचारमा निस्कनुभन्दा पहिला विहान देवीलाई तिनै भाइ–बुहारीले चिया नास्ता तयार पार्छिन् । जगदम्वा दाइ देवीसँगै चुनाव प्रचारमा निस्किन्छिन् ।

बुहारी उषाले घरमा र प्रचार कार्यालयमा भेटघाट गर्न आउने कार्यकर्ताहरूसँग सम्वाद गर्ने र प्रचारप्रसारको प्रभावकारिताको लागि योजना बनाउँछिन् ।

उनका छोरा विनयको ससुराली कुटुम्व पनि गोर्खाली नै हो । उनको विवाह मंगलापुरकी आरती थापासँग भएको छ । यि सबैको मागी विवाह भएको हो । सामुहिक परिवारका अग्रज समेत रहेका देवी भन्छन्– बुहारीको माइत, छोरीको घर म र मेरो घरमा बेला–बेलामा पारिवारिक जमगट भइरहन्छ ।

दुवैतर्फको परिवार अहिले चुनावी अभीयानमा छन् । पहाडी सामुदायसँग विहेवारी गरेर परिवारलाई मिश्रित बनाएका चौधरी गोर्खालीका सम्धी हुन् । ‘म गोर्खालीको सम्धी हुँ, तर मेरो पारिवारिक पृष्ठभूमि र मेरो सघर्षपुर्ण इतिहासलाई नजरअन्दाज गर्दै गलत अफवाह फैलाइरहेका छन्’, उनी गुनासो गर्छन् ।

चौधरी २०३८ सालदेखि राजनीतिमा आएका हुन् । २०३६ साल निर्दल र बहुदलको जनमत संग्रह थियो, त्यसबेला बहुदलको पक्षमा सक्रिय चौधरी बहुदल विजयी भएपछि राजनीतिमा सक्रिय भए । उनि साविक हाटीबनगाई गाविसको चार कार्यकाल अध्यक्ष भए । जुनबेला उनले गाउँमा सडक, बिजुली, खानेपानी र सिचाइँको लागि थुप्रै काम गरे । उनी खाद्य संस्थानको बोर्ड अफ डाइरेक्टर भएपछि मात्र खाद्य संस्थालले नेपालभित्रै दाल, चामल खरिद गर्न सुरु गरेको थियो । उनि लुम्बिनी वकास कोषको सदस्य तथा लुम्बिनी पर्यटन प्रबद्र्धन विकास समितिको समेत अध्यक्ष भएका थिए । कोषको सदस्यसचिव हुँदा खासै भूमिका नभए पनि पर्यटन प्रवद्र्धनमा रहँदा भने उनले रुपन्देही, नवलपरासीमा आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धनकालागि उलेख्य काम गरेका छन् ।

‘सीमित साधन स्रोतका बावजुद त्यो बेला आएको बजेटको सही सदुपयोग गरेँ’, उनले भने– ‘लामो समय पदीय जिम्मेवारीमा रहँदा समेत म कहिले आर्थिक विवादमा आइनँ ।’ गाउँ र जिल्ला स्तरमा सफलता हात पारेका चौधरीलाई ससंदमा पुग्ने अवसर भने मिलेको छैन । उनि यसअघि भएका संविधानसभा निर्वाचनमा झिनो मत अन्तरले पराजित हँुदै आएका छन् ।

‘जित अलग कुरा हो तर विश्वास गुमाएको छैन,’ उनले भने । यो पटक भने लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार रहेका चौधरीलाई हार्छु कि भन्ने कत्ती पनि चिन्ता छैन । ‘अहिलेसम्मका उपलब्धिको रक्षा गर्दै मुलुकमा शान्ति, प्रजातन्त्रको संस्थागत गर्ने कि फेरि छत्तिस सालतिर जाने भन्ने यो चुनाव एक हिसाबले जनमत जस्तै हो । चौधरीले भने–त्यसलै यो पटक जनताले लोकतन्त्र पक्षधरलाई रोज्नेछन् ।

– चन्द्रकान्त खनाल