कविता-तिम्रो आगमन

कविता-तिम्रो आगमन


-चन्द्र गुरुङ, हृदयको सिउँदोभरि
फैलिएको छ उमङ्ग सिँदुरी खुशीको ।
फेरि नाच्न थालेका छन्
सुनसान नाडीहरूमा खनखनाउँदो रौनक ।
मधुर गीत गुञ्जयमान छ मुटुमा
छ धडकन बढेको छातीभित्र ।
एक साँझ-
अलिकति थकान
अलिकति मरण
र अलिकति प्राण बोकेर
तिमी आइपुगेका छौ (उनको) आँगालोमा
जसरी आइपुग्छ “रणमा मारियो रे !” भनिएको सिपाही ।

ती (नानीहरूका) ससाना आँखाहरूमा
सजिएका छन् ठूल्ठूला सपनाहरू ।
भरिएको छ
उनको दिल-दिमागमा मायालाग्दो चञ्चलता ।
खुशीका फूल फुलेका छन् चारैतिर
छ आकाश उघ्रेको रहरको ।
एक साँझ-
अलिकति त्योहार
अलिकति उपहार
र अलिकति हतार बोकेर
तिमी आइपुगेको छौ उनको माझमा
जसरी माघीमा आइपुग्छन्
पञ्जाब-हरियाणातिर उखु काट्न गएका बुवाहरू ।
जसरी ल्होक्षारमा आइपुग्छन्
सिमला-कश्मीरतिर स्याउ टिप्न गएका दाजुभाइहरू ।
जसरी दशैँतिहारमा आइपुग्छन्
दार्जीलिङ्ग-सिलोङ्गतिर भारी खेप्न गएका आफन्तहरू ।

थुप्रै मुटुहरू दुखेका छन्
घटेको छ लेक-बेंसीमा रमाइलो ।
थुप्रै मनहरू फाटेका छन्
चोरिएको छ फूलबाट रंगीन महक ।
खोला किनारतिर गायब छ संगीत
छैन मेलापातमा उहिल्यैको जस्तो हर्षोल्लास ।
एक साँझ-
अलिकति त्रास
अलिकति सास
र अलिकति आस बोकेर
तिमी आइपुगेको छौ उनको हूलमा
जसरी आइपुग्छ
मुम्बइया-कोठीबाट फुत्केकी एउटी चेली
“थर्ड-क्लास” ट्रेन चढेर भारतीय सिमाना गोरखपुर ।

आमाको पहाडी ओंठमा
फुलेको छ खुशी गुराँस बनेर रातो ।
बुवाको शुष्क आँखाहरूमा
सपनाहरू घाम बनेर टल्केका छन् सुनौलो ।
आफन्तको मनमुटुमा
मगमगाएका छन् खुशीका असङ्ख्य सयपत्रीहरू ।
एक साँझ-
अलिकति रोग
अलिकति भोक
र अलिकति शोक बोकेर
तिमी आइपुगेको छौ (आफ्नो) घरको संघारमा
जसरी आइपुग्छन् थुप्रै वर्षहरूपछि
कोहिमाको कोयलाखानीतिर गएका बेपत्ता छोराहरू ।

साँच्चै, तिमी यसरी आइपुगेको छौ ।
-गोरखा, हाल बहराइन्