‘कम्युनिष्ट एकताले काँग्रेसलाई पनि फाइदा’

‘कम्युनिष्ट एकताले काँग्रेसलाई पनि फाइदा’


नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट एकताले नेपाली काँग्रेसलाई पनि फाइदा पुगेको बताएका छन् ।

भरतपुर महानगरपालिका–९ धारेचोकमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले आफूलाई फाइदा हुँदाहुँदै पनि धन्यवाद दिनाको साटो काँग्रेसले जनतामा भ्रम फैलाएको आरोप लगाए ।

अध्यक्ष दाहालले काँग्रेसबाट फुटेर गएका मधेश केन्द्रित दलहरु फेरि काँग्रेसमा आएका छन् भन्दै कम्युनिष्ट शासनको बारेमा गलत सन्देश नफैलाउन काँग्रेससँग आग्रह गरे । ‘कम्युनिष्टहरु देशको समृद्धि र विकासको पक्षमा रहेकाले तपाईहरु पनि मिल्नुहोस् भनेकै हो, महन्थ ठाकुर, राजेन्द्र महतो र राजपासँग पनि मिल्नुस्’, उनले भने, ‘जे जे नाम भए पनि सबै पार्टी काँग्रेस नै हुन् ।’

अध्यक्ष दाहालले प्रजातान्त्रिक आन्दोलनको लामो इतिहास बोकेको काँग्रेसले प्रतिगमन र राजतन्त्रको वकालत गर्ने राप्रपालाई समर्थन गर्नु दुःखद् भएको जिकिर गरे । नेपाली कम्युनिष्टको सपना शान्ति र समृद्धि भएको बताउँदै उनले यसैका लागि वाम एकता आवश्यक भएको स्पष्ट गरे । राससका अनुसार चितवन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार दाहालले राष्ट्रको आवश्यकतानुसार बृहत्तर हितका निम्ति वामशक्ति अघि बढ्ने उनको भनाइ थियो ।