चुनावपछिका प्रधानमन्त्री ओली कि ठाकुर ?

चुनावपछिका प्रधानमन्त्री ओली कि ठाकुर ?


मङ्सिर २१ मा सम्पन्न हुने निर्वाचनपश्चात् बन्ने सरकारको नेतृत्व कसको होला भन्ने जिज्ञाशा सर्वत्र उत्पन्न भएको छ । वाम गठबन्धनले बहुमत हासिल गरेमा केपी शर्मा ओली प्रधानमन्त्री बन्ने विश्वास धेरैले गरेका छन् । माओवादी र एमालेबीच एकता र सहकार्यको निर्णय हुने क्रममा ओली र प्रचण्डबीच पार्टी एकता भएपछि एकजनाले पार्टी अध्यक्ष र अर्कोले प्रधानमन्त्रीको जिम्मेवारी लिने सहमति भएको छ । पूर्वसहमतिअनुरूप त्यसको कार्यान्वयन भएमा पहिलो अढाई वर्ष केपी ओली र त्यसपछि प्रचण्डले सरकारको नेतृत्व सम्हाल्ने बताइन्छ ।

तर, एमालेमा नेता माधवकुमार नेपाल र वामदेव गौतम पनि प्रधानमन्त्रीका प्रबल दाबेदार हुन् । ओलीसमर्थकहरूले काठमाडौं (क्षेत्र नं. २) बाट माधव नेपाल विजयी बन्ने विश्वास गरेका छैनन् र कदाचित विजयी बने पनि नेपाललाई संसदीय दलमा बहुमत प्राप्त नहुने ठानिएको छ । त्यसैले माधव नेपाललाई व्यवस्थापन गर्नेबारेमा केपी ओली र उनको पक्षले चिन्ता लिएको देखिँदैन । तर, वामदेव गौतमलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय ओलीका निम्ति समस्या बनेको छ । प्रधानमन्त्री बन्न निकै हतारिएका वामदेव गौतम एमालेले सरकारको नेतृत्व गर्नुपर्ने भएमा आफैँले मौका पाउनुपर्ने ठान्छन् । माधव नेपाल र झलनाथ खनाललगायतका नेताहरूको समेत आफैँलाई समर्थन प्राप्त हुने विश्वासमा गौतम छन् । तर, एमाले संसदीय दलको बहुमत ओलीबाहेक अन्य कुनै नेताको पक्षमा जुट्न सम्भव ठानिएको छैन । त्यसैले कम्युनिष्ट नेतृत्वको सरकार गठन हुने स्थिति भएमा केपी ओलीकै नेतृत्वमा सरकार बन्ने सम्भावना प्रबल देखिएको छ ।

कुनै कारणवश कम्युनिष्ट गठबन्धनलाई पूर्ण बहुमत प्राप्त हुन सकेन भने कसको नेतृत्वमा सरकार गठन हुने हो सो यकिन गर्न सकिने अवस्था छैन । लोकतान्त्रिक गठबन्धनभित्र प्रधानमन्त्री पदका दाबेदारहरू अधिक रहेका छन् । नेपाली काङ्ग्रेसका नेताहरू शेरबहादुर देउवा, रामचन्द्र पौडेल, डा. रामशरण महत, डा. शशाङ्क कोइराला, डा. शेखर कोइराला, प्रकाशमान सिंह र विजयकुमार गच्छदारलाई सम्भावित प्रधानमन्त्रीका रूपमा हेरिएको छ । त्यसो त आरजु राणा देउवा र हालै काङ्ग्रेसमा आबद्ध भएका विनोदकुमार चौधरीलाई समेत भावी प्रधानमन्त्रीका रूपमा चर्चा गर्न थालिएको छ । तर, यही निर्वाचनपश्चात् बन्ने सरकारको नेतृत्व भने चौधरी या राणाको हुन सम्भव देखिँदैन ।

काङ्ग्रेसको राजनीति देउवाकै हातमा रहिरह्यो भने मात्र भविष्यमा आरजुलाई मौका मिल्न सक्ने तथा पार्टीमा समय दिने र निरन्तरता कायम रहेको अवस्थामा कुनै समय विनोद चौधरीलाई प्रधानमन्त्री बन्ने अवसर मिल्न सक्ने ठानिएको छ । तत्कालका लागि भने शेरबहादुर देउवा, रामचन्द्र पौडेल र डा. शशाङ्क कोइरालामध्ये एकले सरकारको नेतृत्व लिन सक्ने ठानिन्छ । लोकतान्त्रिक गठबन्धनको सरकार गठन हुने स्थिति आएमा महन्थ ठाकुर र उपेन्द्र यादव पनि प्रधानमन्त्री पदका दाबेदार बन्न सक्छन् । मिलिजुली सरकार गठन गर्नुपर्ने बाध्यात्मक स्थितिमा जो निर्णायक हुन जान्छ उसैलाई सरकारको नेतृत्व सुम्पनुपर्ने हुन सक्छ । तराईकेन्द्रित समूह निर्णायक भएमा महन्थ ठाकुरलाई प्रधानमन्त्री बन्ने अवसर प्राप्त हुन सम्भव छ । तर, अहिलेसम्मको स्थिति हेर्दा लोकतान्त्रिक गठबन्धनलाई सरकार गठनका लागि आवश्यक बहुमत प्राप्त हुने सम्भावना भने देखिएको छैन ।