जिल्लाबाट बाहिरिए उम्मेदवार : गठबन्धन जिताउन चुनावी सभामा सहभागी

जिल्लाबाट बाहिरिए उम्मेदवार : गठबन्धन जिताउन चुनावी सभामा सहभागी


सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ का लोकतान्त्रिक गठबन्धनका उम्मेदवार पशुपति शमसेर राणा शनिबार ललितपुरमा आयोजित चुनावीमा सम्बोधन गरे । चुनाव सकिएलगत्तै जिल्ला छाडेका उनी दोस्रो चरणको निर्वाचनमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई सघाउन देश दौडाहामा निक्लेका हुन् ।

राप्रपा (प्रजातान्त्रिक)का अध्यक्षसमेत रहेका पशुपति शमशेर ललितपुरका उम्मेदवार उदय शमसेर राणालाई जिताउन चुनावी सभामा पुगेको उनको सचिवालयले जनाएको छ । ‘जिल्लामा चुनाव सकिएसँगै उहाँ दोस्रो चरणमा निर्वाचन हुने विभिन्न जिल्लामा पुग्नुभएको छ,’ नीजि सचिव केशव कटुवालले भने, ‘काठमाण्डौंको नागार्जुज सभालाई सम्बोधन गरेपछि उहाँ ललितपुर पुग्नु भएको हो ।’ उनकाअनुसार राजधानी बाहिरको चुनावी सभा र घर दैलोमा पशुपतिशमसेर पुग्नेछन् ।

पशुपति शमसेर मात्रै हैन । जिल्लामा निर्वाचन सकिएसँगै उम्मेदवार र जिल्लाका शीर्ष नेताहरु दोस्रो चरणमा चुनाव हुने जिल्लाका चुनावी सभा र घर दैलोमा व्यस्त छन् । राणाकै प्रतिष्पर्धी एमालेका शेरबहादुर तामाङ पनि अहिले चुनाव केन्द्रीत काठमाण्डौमा छन् । उनी पूर्व प्रधानमन्त्री तथा काठमाण्डौं–२ का उम्मेदवार माधवकुमार नेपाल जिताऔं अभियानमा सक्रिय छन् । ‘हामीले चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न गरेका छौं, अब यता सहयोग गर्न आएका हौं,’ उनले भने ।

आफ्नो जिल्लामा निर्वाचन सकेका सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले पनि शनिबार दाङको चुनावी सभालाई सम्बोधन गरे । अन्य जिल्लामा सभा गरेर दाङ पुगेका उनी लोकतान्त्रिक गठबन्धनलाई जिताउने अभियान अन्तर्गत आइतबार कैलालीको धनगढी पुग्ने कार्यक्रम रहेको उनको बस्नेतको सचिवालयले जनाएको छ ।

सिन्धुपाल्चोकका बाम गठबन्धनका प्रतिनिधि सभा १ का उम्मेद्वार अग्नि प्रसाद सापकोटा पार्टी अध्यक्षको पक्षमा माहौल बनोउन चितवन पुगेका छन् । चितवन प्रतिनिधि सभा ३ का उम्मेद्वार पुष्पकमल दाहालको पक्षमा मत माग्न सापकोटा चितवन पुगेका हुन् । सापकोटासँगै सिन्धुपाल्चोक प्रतिनिधि सभा २ प्रदेश सभा १ का उम्मेदवार युवराज दुलाल पनि चितवन पुगेका छन् । दुलाल सशस्त्र द्वन्द्वमा प्रचण्डका अंगरक्षक थिए ।

प्रतिनिधिसभा २ अन्तर्गत प्रदेश सभा २ का बाम गठबन्धनका दावा लामा भने आफ्नै श्रीमती कुमारी मोक्तानको पक्षमा माहौल बनाउन मकवानपुर पुगेका छन् । त्यस्तै जिल्लाका उम्मेदवारहरु निमा लामा, विष्णुबहादुर खत्री, राजेन्द्र कुमार श्रेष्ठ, सरेश नेपाल, विकास तामाङ मात्रै नभई जिल्लाका शीर्ष नेताहरु पनि दोस्रो चरणमा हुने निर्वाचनमा आफ्नो गठबन्धनलाई सघाउन विभिन्न जिल्ला पुगेका छन् ।

– किशोर बुढाथोकी