जनताको खुशी र समृद्धिका लागि वामपन्थीलाई भोट : नेता रावल

जनताको खुशी र समृद्धिका लागि वामपन्थीलाई भोट : नेता रावल


नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले चुनाव जित्नमात्रै नभएर जनतालाई खुशी दिन र देशको आर्थिक समृद्धि गर्न वामपन्थी एक भएर निर्वाचन लडेको बताएका छन् ।

वाम गठबन्धनले बान्नीगढी जयगढ गाउँपालिकाको बरदादेवीमा गरेको चुनावी आमसभामा बोल्दै उनले तीव्र विकास र आर्थिक समृद्धिका लागि वामपन्थी उम्मेदवारलाई जिताउन मतदातालाई आग्रह गरे ।

अछाम क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनका साझा उम्मेदवारसमेत रहेका नेता रावलले वाम एकताले संविधानको पूर्ण कार्यान्वयनसँगै देशलाई स्थायित्व र आर्थिक समृद्धि दिलाएरै छाड्ने दाबी गरे ।

उनले वर्तमान सरकारले निर्वाचन आचारसंहितको ख्याल नगरी आफ्ना कार्यकर्तालाई करोडौँ रकम बाँडेको भन्दै राज्यको ढुकुटी दुरुपयोग गरिएकामा चुनावपछि बन्ने वामपन्थी सरकारले त्यसको छानबिन गर्ने जानकारी दिए ।

चुनावीसभामा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तारामान स्वाँरले देशलाई समृद्धि, विकास र स्थायित्व चाहिएको भन्दै यसका लागि एकजुट भएका वामपन्थी दल र उम्मेदवारलाई मत दिन आग्रह गरे ।

कार्यक्रममा प्रदेशसभा सदस्यका उम्मेदवार माओवादी नेता झपट बोहराले ग्रामीण क्षेत्रका जनतालाई बैंकिङ पहुँचमा पु¥याउन आफू पहल गर्ने प्रतिबद्धता जनाउँदै जयगढ बजारमा विकास बैंक स्थापनाका गरेर सबैलाई वित्तीय पहुँचमा ल्याउन आफ्नो पहलकदमी रहने बताए ।

राससका अनुसार माओवादी केन्द्र बरदादेवीका इञ्चार्ज ज्योति साउदको अध्यक्षतामा भएको चुनावी आमसभामा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा जिल्ला संयोजक झपट साउद, समानुपातिक उम्मेदवार मीना साउद, जंग विक, नेता लोकेन्द्र साउद, मदन भूल, केशर साउद, निर्मला साउदलगायतले धारणा राखेका थिए ।