चुनावले आफूलाई दुई तिहाई स्थान दिलाउने दाबी वाम गठबन्धनले गरिरहेको छ भने नेपाली काङ्ग्रेसले उक्त दाबीलाई फजुल भन्दै इन्कार गरेको छ । बहुमत आफ्नै आउने काङ्ग्रेसको दाबी छ । चुनावअघि मतदातालाई प्रभावित पार्न यस्ता दाबीहरू गरिनु हाम्रो परिवेशमा नौलो या अनौठो होइन ।
तर, निर्वाचनपश्चात् नेपाली काङ्ग्रेसको आकार जत्रो भए पनि संसदीय दलको नेताका निम्तिचाहिँ ठूलै लडाइँ हुन सक्ने सङ्केतहरू देखिएका छन् । पार्टीको सभापति र पटक–पटक प्रधानमन्त्री बनेका हुँदा संसदीय दलको नेतामा पहिलो दाबी शेरबहादुर देउवाको रहने निश्चित छ । तर, काङ्ग्रेसले साठीभन्दा कम स्थानमा विजयी हासिल गरेमा त्यसका निम्ति देउवालाई मुख्य जिम्मेवार ठानिने र उनलाई काङ्ग्रेसले संसदीय दलको नेता अस्वीकार गर्ने सम्भावना प्रबल छ ।
दलको नेता आफू बन्न नपाउने या नसक्ने स्थितिमा देउवाले आफ्नी पत्नी आरजुलाई (विजयी बनेमा) अघि सार्न सक्ने सङ्केतहरू पनि देखिएका छन् । काङ्ग्रेस पराजयको निम्ति देउवालाई विशेष जिम्मेवार ठहर गरेको अवस्थामा उनलाई संसदीय दलको नेता स्वीकार गर्न सम्भव देखिँदैन । विजयी बनेर आएको अवस्थामा रामचन्द्र पौडेल, डा. शशाङ्क कोइराला, डा. रामशरण महत, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र देउवापत्नी आरजु राणासम्मले दलको नेता पदमा दाबी गर्ने निश्चित छ ।
शेरबहादुर देउवाले आफू नबन्ने स्थितिमा मात्र आरजुलाई अघि सार्ने सम्भावना रहेको छ । विजयी सांसदमध्ये बहुसङ्ख्यक देउवाका अन्धसमर्थक परेको स्थितिमा देउवा नै दलको नेता बन्ने निश्चित भएजस्तै सामान्य अवस्थामा उनी अस्वीकृत हुने पनि निश्चित छ । देउवा अस्वीकृत भएको अवस्थामा रामचन्द्र पौडेल, डा. शशाङ्क कोइराला, डा. रामशरण महत र प्रकाशमान सिंहमध्ये एकले दलको नेता बन्न पाउने सम्भावना छ । देउवालाई पार्टी सभापति र दलको नेतामध्ये एउटा मात्र जिम्मेवारी दिइनुपर्छ भन्नेमा पार्टीका अधिकांश नेताहरू भएकोले चुनावपछि अरू जोसुकै व्यक्ति दलको नेता भए पनि देउवा अस्वीकृत हुने विश्वास गरिएको छ ।
प्रतिक्रिया