लोकतान्त्रिक गठबन्धन अन्तर्गत नेपाली कांग्रेससँग चुनावी तालमेल गरेका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले वामपन्थीको लोकतान्त्रिकरण र लोकतन्त्रको प्रगतिशीलकरण अहिलेको आवश्यकता रहेको तर्क गरेका छन् । चितवनमा आज आयोजित ‘आसन्न निर्वाचनमा लोकतन्त्रवादी संस्थाको भूमिका’ विषयक कार्यक्रममा उनले लोकतन्त्रवादी नवउदारवादको सट्टा सामाजिक हितको पक्षबाट लोकतान्त्रिकरण गरेर जानुपर्ने बताए ।
वर्तमान परिवेशमा माक्र्सले परिभाषित गरेको समाजवाद किमार्थ लागू हुन नसक्ने उल्लेख गर्दै माओवादीका पूर्वनेता भट्टराईले समाजवादी प्रजातन्त्र अहिलेको आवश्यकता रहेको बताए । वाम गठबन्धनले देशको हितमा काम गर्न नसक्ने उनको प्रष्टोक्ति थियो ।
संसारमा नै असफल भएको कम्युनिष्ट धारामा वाम गठबन्धन लागेको आरोप लगाउँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले अब मुलुक नयाँ समाजवादी प्रजातन्त्रमा जानुपर्ने अवस्थामा वामपन्थीहरुले पुरानै बाटोमा हिँडेकोले आफू बाम गठबन्धनबाट अलग हुनुपरेको खुलासा गरे ।
सोही कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री प्राडा शशांक कोइरालाले लोकतन्त्रको रक्षाका लागि लोकतान्त्रिक गठबन्धन बनाउनुपरेको जानकारी दिए । अहिले लोकतन्त्रको पक्षमा जनमत रहेको आफ्नो ठहर सुनाउँदै उनले निर्वाचनमा साम्यवादले जितेमा जनताले बोल्न र लेख्न नपाउने बताए । उनले भने, “वामपन्थीले जितेमा संगठित हुने, लेख्ने, बोल्ने अधिकार गुम्छ, त्यसैले लोकतान्त्रिक गठबन्धनलाई जिताउनुपर्छ ।”
सोही कार्यक्रममा चितवन ३ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका वन तथा भू–संरक्षणमन्त्री विक्रम पाण्डेले लोकतान्त्रिक शक्तिले जनताका पक्षमा काम गर्ने बताउँदै विकास र लोकतन्त्र पर्यावाची शब्द भएको भनाई राखे ।
शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, राजनीतिक विश्लेषक रमेश ढुंगेल, मनमोहन भट्टराईलगायतले आफ्ना धारणा राखेको उक्त कार्यक्रमको आयोजना प्रजातन्त्रवादी प्राध्यापक संघ चितवन, नेपाल शिक्षक संघ चितवन, बिपी चिन्तन प्रतिष्ठान, नेशनल कोअपरेटिभ एलाइन्स, प्रजातान्त्रिक विचार समाज, लोकतान्त्रिक गैरसरकारी संस्थाले संयुक्त रुपमा गरेका थिए ।
प्रतिक्रिया