प्रचण्डले माडीलाई ‘मणि’ बनाइदिने ओलीको दाबी

प्रचण्डले माडीलाई ‘मणि’ बनाइदिने ओलीको दाबी


एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टहरू झगडा गर्न मात्रै नभई मिलेर देश बनाउन पनि सक्छन् भन्ने प्रमाणित गर्न वाम गठबन्धन गरिएको तर्क गरेका छन् । चितवनको माडीमा आइतबार संयुक्त वाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले प्रचण्ड र आफू मिलेर देश बनाउने संकल्प गरेको बताए ।

दुई पार्टी मिल्दा दुईचार हजारले होइन भारी मतले बाम गठबन्धनका उम्मेदवार जित्ने उनको दाबी थियो । उनले भने, ‘आज माडी जागेको छ, चितवन जागेको छ र देश नै जागेको छ ।’ माओवादी अध्यक्ष दाहालले माडीलाई मणि बनाउने उद्घोष गरेको भन्दै उनले यसमा आफ्नो साथ रहने वाचा गरे ।

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बाँदरमुढे घटना द्वन्द्वकालको सबैभन्दा ठूलो गल्ती भएको स्वीकार गर्दै बाँदरमुढे घटनाका पीडित परिवारसँग आजै सम्झौता गरेको जानकारी दिए । के सम्झौता गरेको भन्ने स्पष्ट नपारेपनि उनले सम्झौता पालनामा आफू प्रतिबद्ध रहेको बताए । सभा हुनुअघि नै माओवादी केन्द्रका अध्यक्ष दाहाल र बाँदरमुढे घटनाका केही पीडितबीच तीनबुँदे सम्झौता भएको बताइन्छ । घटनापछि गठित बाँदरमुढे पीडित संघर्ष समितिका व्यक्तिहरु भने सम्झौतामा हस्ताक्षर हुँदा उपस्थित नभएको बुझिएको छ ।